PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

क्यासिनोकै लागि नेपाल आउने अहमदको होटेल ग्रान्ड भिल्लामा हत्या, सँगै आएका साथी फरार



सविन ढकाल

क्यासिनोकै लागि नेपाल आउने अहमदको होटेल ग्रान्ड भिल्लामा हत्या, सँगै आएका साथी फरार

काठमाडौं : माघ ६ गते, मोहद्धिन अहमद हिमालयन एयरलाइन्सको विमानमार्फत बंगलादेशबाट काठमाडौं आए। ४५ वर्षीय अहमदको लागि काठमाडौंका गल्ली अपरिचित भने थिएनन्। किनकि उनी पटकपटक काठमाडौं आएका छन्। त्यसैले त्रिभुवन विमानस्थलबाट सिधैं सोझिए सोल्टिमोडतर्फ।

सोल्टीमोडमा रहेको होटेल ग्रान्ड भिल्लामा पुगे उनी। त्यहाँ पुग्दा रातको ९ बजेर ५० मिनेट गइसकेको थियो। उनीसँगै थिए अर्का एकजना व्यक्ति पनि। उनी थिए दुला मियाँ। दुवैजनाका लागि एउटै कोठा बुक गरे। कोठा नम्बर ११४, एक रातको पन्ध्र सय रुपैयाँमा।

त्यही कोठामा उनीहरुले दुई रात बिताइ सकेका थिए।

माघ ८ गते भने, दिउँसो करिव चार बजेसम्म कोठामा बसेका दुवै गेस्टको चहलपहल देखिएन। होटलका कर्मचारी खबर बुझ्न सोही कोठामा पुगे। त्यहाँ एक मृत शरीर देखेपछि झसङ्ग हुँदै प्रहरीलाई खबर गरे। शव थियो, अहमदको।

अहमदसँगै आएका अर्का व्यक्ति भने कोठामा थिएनन्।

सँगै आएका दुईमध्य एक मृत भेटिए र अर्का व्यक्ति फरार।

महानगरीय प्रहरी वृत कालिमाटीको टोली होटलमा पुगेपछि घटनाको रहस्य खुल्यो- अहमदको हत्या भएको थियो।

‘बोतलले हानेर हत्या गरेको देखिएको छ। सायद दुईजना बीच झगडा भएको हुन सक्छ। अन्य कारण खुलिसकेको छैन', वृतका प्रमुख डिएसपी रुगुम कुँवरले भने,’घटना जानकारीमा आएभन्दा एक दिन अघि नै भएको हो।‘

अर्थात् उनी माघ ७ गते नै मारिए।

घटना भएपछि प्रहरीले अहमद बारे थप अनुसन्धान गर्‍यो।

उनी यसरी नै सातपटक काठमाडौं आएको खुलेको छ। काठमाडौं आएपछि विभिन्न क्यासिनोमा गएर जुवा खेलेको पनि देखिएको छ। तर, यो पटक भने अहमदले क्यासिनो धाउन पाएनन्। न त अर्को पटक फेरि काठमाडौं आउने गरी आफ्नो देश फर्किने भए।

अहमदसँगै आएका साथी भने विरगंज नाका हुँदै भारत छिरेको अनुसन्धानमा खुलेको छ। डिएसपी कुँवरका अनुसार घटना बारे जानकारी पाएको केही घण्टा अघि नै उनी भारत छिरिसकेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहमद प्राय राती काठमाडौं ओर्लने, रातभर क्यासिनो खेल्ने र दिउँसो केही समय आराम गरेर बंगलादेश फर्कने गरेको खुलेको छ।

मोहमदले माघ ९ गते बंगलादेश फर्किने टिकट समेत बुक गरिसकेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell