
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतमा मंगललवार टिपरको ठक्करबाट मृत्यु भएका कालिकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन्।
भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई मंगलवार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिबिना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए।
मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूर्ति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने अडान लिएका छन्। बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत पीडितका परिवारले दिएका छन्। यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीवारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ।