PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’



राधेश्याम पटेल

उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’

वीरगंज : उद्योग विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोरी हुने गरेको उद्योगी व्यवसायीहरुले आरोप लगाएका छन्। उद्योग विभाग र प्रदेश २ को उद्योग मन्त्रालयको संयुक्त आयोजनामा आज वीरगंजमा आयोजित औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा वीरगंजका उद्योगी मुरली जालानले उद्योग विभागकै कर्मचारीहरुको मिलेमतोमा पहिलेदेखि दर्ता रहेको ट्रेडमार्क अरु व्यवसायीको नाममा दर्ता गराई पहिलेको लगानीकर्तालाई दुःख दिने गरेको आरोप लगाए। सरकारको अव्यवहारिक नीतिका कारण पहिलेदेखि आधिकारिक विक्रेताको स्वीकृति लिएर व्यवसाय गरिरहेको अवस्थामा ट्रेडमार्क नक्कल गरी चीनबाट सस्तो दाममा मगाइने नक्कली समानले ओरिजिनल समानको व्यवसायमा असर पार्ने भएकोले त्यस्ता समानको पैठारीमा पनि विभिन्न भन्सार नाकामा कडाई गर्न पनि आगह गरे।

वीरगंज कलेजका प्रबन्ध निर्देशक तथा अर्थविद् डा दिपेन्द्रकुमार चौधरीले विभागकै लापार्बाही र कर्मचारीको बदमाशीले गर्दा नेपाली उद्योगी व्यवासायीले झन्झट बेहोर्नु परेको बताए। यसले व्यवसायीहरुको करोडौं रुपैयाँको लगानी खेर जाने गरेको उनले बताए।

उनले भने, ‘एउटा उद्योग दर्ता गर्न र ट्रेडमार्क दर्ताको लागि उद्योगीले कति समस्या झेल्नु पर्छ त्यो सबैलाई थाहा छ। तर पनि उसको ट्रेडमार्कको प्रतिलिपि अधिकार नेपालमा सुरक्षित छैन। यस्तो अवस्थामा स्वस्थ प्रतिस्पर्धा गर्न गाह्रो छ।’

अन्तरक्रिया कार्यक्रममा कुनै पनि कम्पनी उद्योग तथा उत्पादित सामग्रीको दर्ता कहाँ, कसरी गर्ने तथा उत्पादित सामग्रीको ट्रेडमार्क प्रतिलिपि अधिकार कसरी सुनिश्चित गर्ने सम्बन्धमा उद्योगी व्यवसायीलाई विशेष रुपमा जानकारी गराइएको थियो।

विगत केहि समय यता वीरगंज, बारा, पर्सामा ट्रेडमार्ग चोरीको समस्या बढ्दै गएपछि उद्योग विभागले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विभागकी निर्देशक बिन्दा आचार्यले बताइन्। अन्तरक्रिया कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, वीरगंज भन्सार, वाणिज्य कार्यालय, वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरकारी कार्यालयका प्रतिनिधि तथा वीरगंजका उद्योगी, व्यवसायीहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell