PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पहिलो जिल्ला सभा नै नगरी वीरगंजमा एकै पटक शुरु भयो दोस्रो जिल्ला सभा



राधेश्याम पटेल

पहिलो जिल्ला सभा नै नगरी वीरगंजमा एकै पटक शुरु भयो दोस्रो जिल्ला सभा

वीरगंज : स्थानीय तहको चुनाव सकिएको अढाई वर्षपछि पर्साका १४ वटा स्थानीय तहका प्रमुख/उप्रमुखलगायतको जिल्ला सभा बुधवारदेखि वीरगंजमा शुरु भएको छ। डेढ वर्षमा हुनु पर्ने पहिलो जिल्ला सभा नै नगरी एकै पटक दोस्रो जिल्ला सभा शुरु भएको हो।

जिल्ला समन्वय समिति पर्साको उदासिनताका कारण जिल्ला सभा हुन नसक्दा चौतर्फी अन्यौलता छाएको थियो। जिल्ला सभा नहुँदा जिल्ला समन्वय समिति मातहत रहेको बजेट पनि विनियोजन हुन सकिरहेको थिएन। चालु आर्थिक वर्षको जिल्ला सभा हुन नसक्दा करिब १५ करोड मौज्दात रहेको रकम खर्च गर्न अन्यौलता छाएको अवस्थामा आज एकाएक जिल्ला सभा शुरु भएको हो।

समन्वय समितिको निर्वाचन भएदेखि पर्सामा ६ जना समन्वय अधिकारीको सरुवाले गर्दा पनि जिल्ला सभा हुन नसकेको बताइन्छ। पर्सामा रहेका स्थानीय तहका प्रमुखहरुको अटेरीपनाले गर्दा जिल्ला सभा हुन नसकेको जिल्ला समन्वय समितिको कार्यालय पर्साले जनाएको छ।

सांसद प्रदिप यादवले सरकारले स्थानीय तह संचालन तथा व्यवस्थापनको अधिकार जिल्ला समन्वय समितिलाई नदिँदा स्थानीय तहको व्यवस्थापनमा समस्या भएको  बताए। जिल्ला समन्वय समिति पर्साको दोस्रो जिल्ला सभाको आज उद्घाटन गर्दै सांसद यादवले विकास निर्माणका योजना पारदर्शी रुपमा सम्पन्न भए नभएको अनुगमन तथा स्थानीय तहमा हुने विवादलाई निराकरण गर्ने जिम्मा समन्वय समितिले पाएको बताए।

जिल्ला समन्वय समिति पर्साका सभपाति नेक महम्मदको अध्यक्षतामा भएको दोस्रो जिल्ला सभामा प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रहलाद गिरी, राजेश्वर साह तेली, शंकर चौधरी, सिंहासन कलवार, करिमा बेगम, रमेश यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए। जिल्ला सभामा विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell