सांस्कृतिक र प्राकृति सम्पदाहरुलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण वर्षको मुडमा छ देश। २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य। अनि जताततै अभावग्रस्त भौतिक पूर्वाधार। तयारीमा कमी उत्तिकै। यद्यपि, आफ्नो पहिचान विश्वमाझ स्थापित गर्न प्रयत्नशील छ, नेपाल।
यसपटक विश्वभर नेपाललाई चिनाउने जिम्मा दिइएको छ यतीलाई। यती अर्थात् काल्पनिक हिममानव। हालसम्म यतीको अस्तित्वबारे कसैले पुष्टि गर्न सकेको छैन। यतीका पाइला भेटिएका कथनहरु सुनिए पनि। हिउँमा यतिका पाइला भन्दै तस्विरहरु सार्वजनिक भए पनि। तर, विज्ञानले त्यसलाई प्रमाणित गर्न सकेको छैन। सोलुखुम्बुको खुम्जुङ उपत्यकामा रहेको गुम्बामा सिसाको भित्र राखिएको एउटा टाउको छ जसलाई यतीको भनिन्छ तर कसैले त्यसको बैज्ञानिक पुष्टि गरेको छैन।
सन् १९५० को दशकमा नै एड्मन्ड हिलारीले यतीका बारेमा सोधिएको प्रश्नमा भनेका थिए, 'हामीले यतीबारे सोधखोज गरिरहनु पर्दैन। हामीले उच्च हिमाली भेगमा रहेका मानिसहरुले कसरी जिविकोपार्जन गरिरहेका छन् भन्नेबारेमा सोच्नुपर्छ।'
आफ्नै पहिचानको खोजीमा रहेको यतीलाई नेपालको प्रचारप्रसारमा लगाउनु कति जायज छ? भ्रमण वर्षको तयारी हुँदा यस्ता प्रश्नहरु नउठेका होइनन्। भम्रण वर्षको प्रचारप्रसारका लागि मस्कट बनाउन धेरै विकल्प थिए। तर, हिमालको देश भनेर चिनिने हुँदा हिमालमा पाइने भनिएको काल्पनिक जीव यतीलाई नै मस्कट बनाउने निर्णय भयो। तर, यती मस्कटका कारण भ्रमण वर्षको शुरुवाती महिनामा नै विवाद उत्पन्न भएको छ। त्यसमाथि सरकारमाथि यती होल्डिङ्सलाई नेपाल ट्रस्टको जमीन कौडीको दाममा भाडामा दिएको आरोप लागिरहेकै छ। आरोप लाग्नु र भ्रमण वर्षको मस्कट यती हुनु संयोगमात्र पनि हुनसक्छ।
+++
यतीको मस्कट बनाउने काम भ्रमण वर्ष शुरु हुनुभन्दा धेरै अघि नै भएको हो। आङछिरिङ शेर्पाको डिजाइनमा बनेको यतीमा मूर्तिकार विजय महर्जनले डमी तयार पारेका थिए। उक्त डमीमा एक सयभन्दा धेरै कलाकारहरुले कुची र रङमार्फत् आकृति भरेका थिए।
जनवरी १ मा दशरथ रंगशालामा बढेमान यतीका मस्कटहरु उभ्याइए। पोस्ट मोर्डन बन्दै गएको चित्रकला क्षेत्रबाट प्रभावित कलाकारहरुको समूहले यतीलाई सांस्कृतिक र धार्मिक टच दिए। यतीमा नेपालमा रहेका धार्मिक र प्राकृतिस्थलका स्वरुप पोतियो। मूर्त र अमूर्त सम्पदाको समिश्रणले यतीलाई काठमाडौंका गल्लीगल्लीमा नयाँ अवतारमा देखाइयो।
भ्रमण वर्ष शुरु भएको एक महिना भयो। बाह्य पर्यटक काल्पनिक यतीमाथि बनाइएको चित्रकलाप्रति मोहित हुँदै तस्विर खिचाउन लाम लागेको देखियो।
तर, जब गत हप्ता वसन्तपुर दरबार क्षेत्रमा यती मस्कटले प्रवेश पायो। तब यतीमा कोरियाका आकृतिमाथि प्रश्न उठ्यो।
कुमारी घर नजिकै राखिएको यती मस्कटमा जीवित देवी कुमारीलाई प्रतिबिम्बित गर्ने प्रयास कलाकारहरुले गरेका थिए। तर, स्थानीयलाई त्यो शोभनीय लागेन।
यतीको पिठ्युँमा बनाइएको कुमारीको आकृतिमा स्थानीयहरुले विरोध गरे।
'हेर्दै अशोभनीय लाग्यो। यतीको पछाडि जीवित देवीको आकृति कसरी बनाउनेहरुले यस बारे सोचेनन्,' इन्द्रजात्रा व्यवस्थापना समितिका अध्यक्ष गौतम शाक्यले भने।
तस्विर : गौतम शाक्य
मस्कट बनाउने कलाकार र भ्रमण वर्षप्रति सद्भाव हुँदाहुँदै पनि यतीको पछाडि बनाइएको कुमारीको आकृति अशोभनीय रहेको तर्क उनको थियो। उनलाई साथ दिए त्यहाँका स्थानीयले। सबै मिलेर कुमारी घरमा रहेको यती मस्कटलाई हटाउन दबाब दिए। वसन्तपुर क्षेत्रमा रहेका अन्य मस्कटमा बनाइएका चित्रहरु पनि स्थानीयले विरोध जनाए।
त्यसपछि महानगर प्रहरी र स्थानीय मिलेर यतीका मस्कटमा 'अशोभनीय' देखिएका चित्रहरुमाथि स्प्रे प्रहार गरे। बेलुकीसम्म ती यती मस्कट त्यहाँबाट हटाइयो।
इन्द्रजात्रा व्यवस्थापन समितिले त विज्ञप्ती नै जारी गर्दै सम्पदा स्थलमा पर्यटन प्रवर्द्धन गर्ने नाममा जीवित देवदेवीको आकृतिको चित्र सहितको काल्पनिक यती राख्दा सम्पदास्थलको महत्व घटेको भन्दै आपत्ती नै प्रकट गर्यो।
भ्रमण वर्ष सचिवालयले यस्ता यतीका मस्कट बौद्ध र पाटनका विभिन्न स्थानमा समेत राखेको थियो। वसन्तपुरमा भएको घटना अगाडि नै बौद्धमा राखिएको यतीको मस्कटमा मानिसहरुले ढोग्दै गरेको तस्विर सार्वजनिक भएका थिए। धेरैले भ्रमण वर्षमा रहेका सम्पदालाई छाँयामा पार्दै यतीलाई 'नयाँ देउता' बनाएको तर्क गरे।
विरोधपछि बौद्धबाट पनि सो मस्कट हटाइयो। काठमाडौं महानगरपालिका वडा ६ ले पनि विज्ञप्ति जारी गर्दै यतीको काल्पनिक मस्कट बौद्ध परिसरमा राख्दा मानिसहरुमा भ्रम सिर्जना भएकोले त्यस्तो प्रचारप्रसार शैलीमा आपत्ती जनाएको थियो।
पाटन दरबार क्षेत्रमा रहेका यती मस्कटले त्यहाँको धार्मिक र सांस्कृति महत्वलाई नदेखाएको भन्दै विरोध भएपछि ती मस्कट पनि हटाइयो। यो घटना हुनु अघि नै गायक योगेश्वर अमात्यले पाटन दरबार भित्र यती राखेकोमा प्रश्न उठाएका थिए।
तस्विर : योगेश्वर अमात्य
अमात्यले यती राखिएको स्थान उपयुक्त नभएको भन्दै साथीहरुलाई घुमाउन पाटन ल्याउँदा केही नमिलेको अनुभव गरेको बताएका थिए। यस विषयले त्यसबेला त्यति चर्चा नपाएपनि वसन्तपुरमा कुमारीको आकृतिको विवादसँगै सम्पदा स्थलमा राखिएका धेरैजसो मस्कट भ्रमण सचिवालयले हटाएको छ।
'स्प्रे गर्नु गलत'
भ्रमण वर्षका लागि भने हालसम्म २० भन्दा धेरै मस्कटहरु बनाइएका छन्। करिब १०० मस्कट बनाउने लक्ष्य भ्रमण वर्ष सचिवालयले राखेको छ। एउटा मस्कटमा बनाउन दिनरात कलाकारहरु लागेका छन्। तर केही असन्तुष्टि हुँदैमा आफूले बनाएको चित्रमाथि स्प्रे प्रहार गर्ने कार्यलाई कलाकारहरुले जायज ठानेका छैनन्।
मस्कटमा चित्र भर्ने काममा संलग्न कलाकारहरुले वसन्तपुरमा भएको घटनापछि भेला भएर समीक्षा बैठक गरेका छन्। भ्रमण वर्षको सचिवालयमा समेत उनीहरुले यतीमाथि स्प्रे प्रहार भएको घटनालाई लिएर विरोध जनाए।
यतीमा रङ भर्ने कामको नेतृत्व गरिरहेका मनिषलाल श्रेष्ठ भन्छन्, 'त्यहाँ रहेको हाम्रो कलामाथि भएको प्रहारलाई लिएर सबै कलाकारहरु दुखित छन्। हामी बसेर छलफल गर्न सक्छौं तर यस्तो प्रकारका आक्रमण हुनुहुन्न भन्ने हाम्रो मान्यता हो।'
कलाकारहरु स्थानीयको भावनालाई सम्मान गर्ने पक्षमा छन्। यतीमा रङ भर्ने धेरै कलाकारहरु नेवार समुदायका नै छन्। तर, छलफलको माध्यमबाट हुनसक्ने काममाथि केही व्यक्ति र नगरप्रहरीको सहयोगमा यतीमा नै स्प्रे लगाइनुलाई उनीहरुले आफ्नो कलाको अपमानका रुपमा लिएका छन्।
तस्विर : गौतम शाक्य
चित्रकलाकार देवेन्द्र थुम्केली भ्रमण वर्षको शुरुमा नै यती मस्कट विवादमा तानिनुमा भ्रमण वर्ष सचिवालच जवाफदेही हुनुपर्ने बताउँछन्। भन्छन्, 'भ्रमण वर्ष सचिवालय जिम्मेवार हुनुपर्छ। सम्पदा स्थलमा यस्ता मस्कट राख्ने कि नराख्ने भन्ने बारे उनीहरुले विचार गर्नुपर्थ्यो। सम्पदास्थलमा ती मस्कट राख्दा त्यसले कस्तो सन्देश जान्छ भनेर पनि सोच्नु पर्छ। त्यसको सुरक्षा र त्यसमा बनाइएका चित्रहरुका बारेमा सचिवालय आफै जिम्मेवार हुनुपर्छ।'
थुम्केली कलाकारहरु स्वतन्त्र भएपनि धार्मिक र सांस्कृतिक कुरा आउँदा संवेदनशील हुनुपर्ने बताउँछन्। तर, यसको अर्थ कसैलाई चित्त नबुझ्दैमा कसैको कलामाथि आक्रमण गर्नु नहुने उनको मत छ।
'आर्ट सापेक्ष कुरा हो। हाम्रो समाजको उपज हो। हामीले देखेको भोगेको कुरा नै चित्रमार्फत प्रस्तुत गर्ने हो। मानिसका आआफ्ना दृष्टिकोण र विश्वास आस्था हुन्छन्। कलाको नाममा कसैको विश्वास र आस्थामाथि आघात पुर्याउन हुन्न,’ उनले भने, ‘आर्ट भनेको बिम्ब हो। धर्म संस्कृतिमाथि नै प्रहार गर्ने हेतुले आर्ट प्रस्तुत हुन्छ भने त्यसमाथि नियन्त्रण गर्नुपर्ने पनि हुन्छ। तर कसैलाई हेर्दैमा चित्त नबुझ्दैमा त्यसलाई नोक्सान पर्याउनु पनि गल्ती हो। सल्लाह गरेर त्यहाँबाट हटाएको भए राम्रो हुन्थ्यो।'
यती मस्कटमाथि स्प्रे प्रहार गरिएको तस्विर सार्वजनिक भएपछि कला क्षेत्र नै त्यसको पक्ष र विपक्षमा देखिएको विभाजित भएको छ। धेरैजसो मानिस यतीको पछाडि कुमारीको आकृति बनाउँदा कलाकार सचेत नभएको भन्दै स्प्रे गर्नुलाई ठीक भनिरहेका छन् भने केहीले यसलाई 'फासिस्ट' विचारधाराको संज्ञा दिएका छन्।
फेसबुकमा सिलासा राजभण्डारी लेख्छिन्, 'सम्पदा संरक्षणको नाममा के मानिसहरु फासिस्ट हुँदै गएका छन? हामी यस विषयमा गम्भीर हुनुपर्छ किनभने यो विचारमा देखिएको भिन्नता मात्रै होइन। यो हिंसा नै हो। असहिष्णु हिंसात्मक मानसिकता भएका मानिसहरुको यो हर्कतलाई स्वीकार गर्न सकिँदैन।'
यता, यती मस्कटले धार्मिक आस्थामाथि प्रहार गरिएको भन्नेहरुको पनि कमी छैन।
रोनिका श्रेष्ठ लेख्छिन्, 'कलाभन्दा पहिला हाम्रो संस्कृति आउँछ। यतीको पछाडी भागमा कुमारी देख्दा म आफैँ पनि खुशी हुन्न। कला र संस्कृति धेरै वर्षदेखि सँगसँगै हिँडेको छ। तर, त्यसलाई प्रस्तुत गरिएको स्थानले महत्व राख्छ।'
'पोस्ट मोडर्न' यती
चित्रकलालाई कुनै भाषा चाहिन्न। रङहरुको भाषा युनिभर्सल हुन्छ। यतीलाई धेरैले डरलाग्दो काल्पनिक पात्रका रुपमा लिएका छन्। तर, भ्रमण वर्षमा भने कलाकारहरुले यतीलाई पोस्ट मोर्डन आर्ट शैलीमा शालिन मुद्रामा प्रस्तुत गर्ने प्रयास गरेका थिए।
नेपाल ललितकला प्रज्ञा प्रतिस्थानका कुलपति केके कर्माचार्य यती मस्कट पोस्ट मोर्डनिजमको उपज भएको बताउँछन्। 'भम्रण वर्षका लागि यतीका मस्कट बनाएका छन्। तिनलाई सम्पदास्थलमा समेत राखियो। पछि सर्वसाधरणले ती मस्कटले त्यहाँको सांस्कृतिक भावना प्रकट नगरेको भन्दै विरोध गरेका सुनेको छु,' उनले भने।
कर्माचार्य नेपालमा पनि उत्तर आधुनिक चित्र बनाउने क्रम बढ्दै गएको बताउँछन्। तर चित्र बनाउने नाममा जे पनि बनाउन नहुने उनको तर्क छ।
भने, 'मस्कटमा चित्र बनाउनु कलाकारको क्रिएसन हो। परिकल्पना हो। पोस्ट मोर्डन आर्ट प्रस्तुत गर्दा हामी कलाकारहरु संवदेनशील हुनुपर्छ।कलाकारहरु सांस्कृति, धार्मिक मान्यतालाई प्रतिबिम्बित गरेर बनाएका चित्रमा संवेदनशील हुनुपर्छ। मस्कटमा प्रस्तुत गरिएको चित्र त्यहाँको संस्कृतिसँग त मेल खानै पर्छ। त्यसो नहुँदा संस्कृतिको अपव्याख्या हुन सक्छ।'
यतीको मस्कटमा देखिएको विवाद सतहमा आएसँगै यतीको स्वरुप बारेमा पनि प्रश्न उठेका छन्। यतीको हालसम्म कुनै पनि स्वरुप पुष्टि नहुँदा कलाकारले आफ्नो परिकल्पनामा यतीलाई सुमो खेलाडीको भेष दिएको भन्ने जमात पनि उत्तिकै देखिएको छ। सुमो खेलाडीको तस्विर र यतीको मस्कटको तस्विर राखेर मस्कटले नेपालको प्रतिनिधित्व नगरेको भन्नेहरु पनि कम छैनन्।
थुम्केली यतीको वास्तविक रुप यही नै हो भन्ने आधिकारिक पुष्टि नभएको अवस्थामा कलाकारले आफ्नो परिकल्पना अनुसार यती बनाउन स्वतन्त्र भएको बताउँछन्।
लेखक बसन्त महर्जनले यो विवाद हुनु अघि नै यती मस्कट पर्यटनको प्रत्युत्पादक सोच रहेको बताएका थिए। उनले मस्कटको सहारामा पर्यटन उद्योगको प्रवर्द्धन गर्ने प्रयास गरिए पनि पर्यटन र नेपाली समाजमा पर्ने असरका बारेमा ध्यान नदिइएको उल्लेख गरेका थिए।
उनले सम्पदा स्थलमा यतीका आकृति सान्दर्भिक नभएको समेत उल्लेख गरेका थिए।
सचिवालयको स्पष्टिकरण
भ्रमण वर्ष सचिवालले यस विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ। हाललाई मस्कटका रुपमा यती नै परिवर्तन गर्न सक्ने अवस्था नरहे पनि विवादलाई समाधान गर्न सचिवालय मध्यस्थता गर्ने प्रयास गरिरहेको छ।
सचिवालयमा भ्रमण वर्षको संचार संयोजनको नेतृत्व गर्दै आएका पिताम्बर सिग्देल भन्छन्, 'कलाकारहरुले स्वतन्त्र भएर मस्कटमा चित्र बनाएका हुन्। हामीले त्यसमा केही रोकतोक गरेका थिएनौं। आइतवार वसन्तपुरमा यतीका मस्कटमाथि स्प्रे प्रहार भएको घटनापछि सोमबार कलाकारहरु सचिवालय पुगेका थिए। उनीहरुले त्यहाँ आफूले बनाएको कलाको अपमान भएको भन्दै निराशा व्यक्त गरेका थिए।'
सिग्देल हाल सचिवालयले कलाहरुका साथै स्थानीयहरुसँग पनि छलफल गरिरहेको बताउँछन्। 'हामी वसन्तपुरका साथीहरुसँग पनि सम्पर्कमा छौं। उहाँहरुलाई पनि पहिलाको यती धार्मिकरुपमा संवेदनशील नभएको भन्दै विरोध गरेको तर नयाँ यती ल्याएर विरोध नहुने बताउँदै आएका छन्। दुवै पक्षको भाव राम्रो गर्नु नै हो। हामी मध्यस्तथा गरेर चाँडै विवाद समाधान गर्छौं,' उनले भने।
उनले बाहिर आएको जस्तै यती मस्कटको सबै खर्च सचिवालयले नगरेको दाबी समेत गरे।
भने, 'सबै मस्कट भ्रमण वर्ष सचिवालयले आफ्नो लगानीमा बनाएको भन्ने कुरा गलत हो। मस्कट बनाउन स्पोन्सरहरु छन्। विभिन्न व्यवसायिक कम्पनी र बैंकहरुले भ्रमण वर्षको प्रचार हेतु यती मस्कट आफै स्पोन्सर गरेका हुन। सचिवालयले जम्मा ३-४ वटा मस्कटको मात्रै खर्च बेहोरेको छ। बाँकी सबै प्रयोजकहरुले गरेका हुन्। यस बारे धेरै भ्रम रह्यो।'