
काठमाडौं : प्रहरीले किर्ते चेक बनाएर रकम ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले चेकमा रकम किर्ते गरि पैसा झिकेको अभियोगमा भोजपुर षडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई नियन्त्रणमा लिएको हो। सामुदायिक आवास व्यवस्थापन समाज ताहाचलको कार्यालय सचिव समेत रहेका घिमिरेले ६७ हजार ९ सय १६ रुपैयाँको चेक रकमलाई २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई किर्ते गरेर रकम झिकेका थिए।
उनले ६७ हजारको चेक रकम अगाडी २० लाख थपेर रकम झिकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए।
‘चेकको रकम लेख्ने अगाडी भागमा थप रकम लेखेर पैसा झिकेको देखिन्छ। उनलाई बैंकमा कार्यालयको नाममा कति रकम थियो भन्ने जानकारी भएको देखियो,’ डिएसपी बोगटीले भने।
घिमिरेले कार्यालय प्रयोजनको लागी सिदार्थ बैंक कुलेश्वर शाखावाट माघ ९ गते जारी भएको चेक नम्बर ००२१४२२५५३१८०१ अंक र अक्षर दुवैमा किर्ते गरेका थिए। उनले चेक काट्नु अगाडी नै थप गर्ने भाग समेत छोडेको थिए। बैंकबाट एकै दिन ९ लाख ९९ हजा रुपैयाँ रकम नमिल्ने भएकाले उनले त्यो चेक आफ्नो खातामा डिपोजिट गराएका थिए। त्यसपछि केही दिन लगाएर पटक पटक रकम झिकेका थिए।
प्रहरीले डेरा कोठा खानतलासी गर्दा लुकाई राखेको १८ लाख रुपैयाँ समेत वरामद गरेको छ। बाँकी रकम भने खर्च गरेको घिमिरेले प्रहरीलाई बयान दिएका छन्।