PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कथाले मागेपछि : फालिएका थेसिस यसरी सजाउँदै डम्बर सर, स्मार्ट बन्दै टीयूको मानवशास्त्र विभाग



नेत्र तामाङ

कथाले मागेपछि : फालिएका थेसिस यसरी सजाउँदै डम्बर सर, स्मार्ट बन्दै टीयूको मानवशास्त्र विभाग

अघिल्लो बिहीवार दिउँसोको २ बजे कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयस्थित घडी घरको प्राँगणमा न्यानो घाममा ढाड सेकाउँदै थिए विद्यार्थीहरु।

'विश्वविद्यालय क्याम्पस' लेखिएको बोर्ड भए पनि धेरैले घडी घर भनेरै चिन्ने रहेछन् यो भवनलाई।

ठीक यही भवन अगाडि न्यानो घाम लागेको छ। फाँटमा कोही पढ्दै त कोही गफिँदै। बदाम पानी बेच्ने उनीहरुको सेवामा खटिएका छन्।

त्यही भवनको भित्री भाग भने सुनसान। चिसोले होला, भित्री प्राँगण पनि खाली थियो।

दोस्रो तल्ला उक्लेपछि दाहिने तिर रहेछ कोठा नम्बर २१०।

'सेन्ट्रल डिपार्टमेन्ट अफ एन्थ्रोपोलोजी इन्क्लुसिभ डेमोक्रेसी एन्ड लोकल गभर्नेन्स प्रोजेक्ट' लेखिएको सानो पित्तले बोर्ड टाँसिएको छ।

त्यही नजिकै ढोका। खुला ढोकाबाट भित्र पस्नासाथ देखिए मानवशास्त्र विभागका प्रमुख डा. डम्बरध्वज चेम्जोङ।

'नमस्कार,' हामीले आफ्नो परिचय दियौं।

'तपाईहरु बस्दै गर्नुस् है। म यहाँ विद्यार्थीसँग कुरा गरिरहेको छु। तपाईहरु विद्यार्थी भए भित्रै बोलाउँथे,' प्रमुख चेम्जोङ विद्यार्थीसँग गफिन थाले।

कोठा एउटै। तर, भित्र पार्टेसन। भित्रैपट्टी ढोका छेउमा भित्तामा टाँसिएको छ सानो किचेन। त्यसैको छेउमा अलि फराकिलो ठाउँ।

एक जना युवा एमएको फारम भर्दैछन्। अरु दुई कुर्सी खाली।

त्यही कुर्सीमा हामी बस्यौं। दाहिनेतिरै भाग लगाइएको छ प्रमुख चेम्जोङको कोठा।

भित्र फारम भराउँदै डम्बर सर विद्यार्थीसँग पढाईको महत्व पनि बुझाउँदै छन्।

एकपटक आफ्नी सानी छोरीलाई लिएर आमाचाहि साइकोलोजिस्टकहाँ पुगिछन् - सानी छोरीलाई कुन विषय पढाउँदा ठीक हुने रहेछ भनेर जान्न।

साइकोलोजिस्टले बालिकाको चालढाल हेरे। अनि प्रश्न गर्न थाले।

पहिलो प्रश्न - तिमी केटा कि केटी?

बालिकाको जवाफ - केटा।

उत्तर सुनेर साइकोलोजिस्ट दंग खाए। अजीवको बालिका रहिछिन्।

उनले अर्को प्रश्न गरे : ठुलो भएपछि के बन्ने त?

बालिकाले उत्तर फर्काइन् : केटा मान्छे।

साइकोलोजिस्टले ती बालिका कुन विषय पढ्न रुचाउँछिन् भन्नेमा निर्क्यौल गर्नै सकेनन्। फेरि अर्को पटक काउन्सेलिङमा आउनु भन्दै फर्काए उनीहरुलाई।

बाटोमा आमाछोरीको धक्काधक्की पर्‍यो। आमाले छोरीलाई हप्काइन् पनि। यस्तो उत्तर दिनुको कारण माग गरिन् आमाले।

छोरी पनि के कम।

उत्तर फर्काइहालिन् - तपाईले देख्नुभएन। कस्तो ननसेन्स क्वइसन सोधेको। म केटी हो भन्ने थाहा हुँदाहुँदै तिमी केटा कि केटी रे। उसले नन्सेन्स एन्सर नै खोजिरहेको थियो।

यसैले हामीले के पढ्ने भन्ने कुरा चाहि आफैले पनि ध्यान दिनुपर्छ।

झ्यालबाट बाहिर घाम तापिरहेको विद्यार्थी देखिन्छ। भित्र डम्बर सर विद्यार्थीलाई मानवशास्त्रको महत्वबारेको सम्झाइ बुझाइ पनि सुन्दै छौं।

विद्यार्थी थपिएको थपियै

हामीलाई केही समयका लागि कुराएका डम्बर सर विद्यार्थीको इन्ट्रान्सको फारम पनि आफै बुझ्दै रहेछन्।

दर्ता नम्बर ३१, ३२ गर्दै थिए प्रमुख चेम्जोङ। यसै एक घन्टा सकियो। आफ्नो काम छाडी हामीलाई भेट्न तयार देखिएनन्।

पढाइबारे बुझ्न र इन्ट्रान्स फारम भर्न आउने विद्यार्थी अझै थपिँदै छन्। चार कुर्सी भरिए। कार्यकक्षका तीन कुर्सी पनि भरिएका। केही विद्यार्थी उभिएरै चेम्जोङ सरसँग कुरा गरिरहेका थिए।

'आज बडा लक्षिणको दिन रहेछ,' डम्बर सर उठेर विद्यार्थीलाई बस्न आग्रह गर्दै थिए।

हामी भने बाहिर बरन्डातिर निस्क्यौं।

सानो किचेनमा चिया तयार पार्दै थिइन् त्यहाँकी कर्मचारी। हामीलाई बाहिर नै आइपुग्यो चिया।

फर्म इन्ट्री गरेपछि विद्यार्थीलाई पढाई हुने कक्षा देखाउन पुगे उनी। त्यहाँ खाजा पनि आइपुग्यो।

कर्मचारी र आफूलाई मगाएको म :म : सबैलाई भाग लगाउन लगाए डम्बर सरले। सबैको भागमा दुई दुई पिस पर्‍यो। खाजा खाएको केही समयपछि 'रोल नम्बर ३६' भन्ने सुन्यौ।

त्यसको केहीबेरमै ३७ नम्बर इन्ट्री गरेपछि भने चेम्जोङ हुर्रिँदै आफ्नो कक्षाबाट निस्के।

अनि हामीलाई सोधे - कति पो बज्यो?

झन्डै साढे चार बजिसकेको थियो।

घरभन्दा राम्रो होस् युनिभर्सिटी

हामीलाई डम्बर सरले सीधै लगे मानवशास्त्रको पढाई हुने कक्षामा। देब्रेतिर रहेछ - पहिलो सेमेस्टर पढाई हुने कक्षा।

त्यसपछि दोस्रो सेमेस्टर पढाइ हुने कक्षा।

दोस्रो कक्षा देखाएपछि चेम्जोङले मुसुक्क हाँस्दै सोधे - कतै देख्नुभएको छ यस्तो कक्षा क्याम्पसहरुमा?

'देखेका छौं,' हामीले भन्यौं।

'यही होला हैन?' डम्बर सरले उत्तर फर्काए।

दोस्रो कक्षा चिटिक्क देखिन्थ्यो। नयाँ कुर्सी। नयाँ बेन्च। कोठै उज्यालो।

यही बेला ३७ नम्बरसम्म परेका तीन विद्यार्थीलाई पनि डम्बर सरले कक्षा देखाउँदै भने-  डेस्क रुम राम्रो हुनुपर्‍यो। पढाइ राम्रो हुनुपर्‍यो। मान्छेको मन राम्रो हुनुपर्‍यो।

केही अघिमात्रको अमेरिका भ्रमणले पनि साथ दिएको रहेछ उनलाई यी कोठा तयार गर्न। अझ केही वर्ष अघिदेखिको प्रोजेक्टले कक्षाकोठादेखि अफिस कोठासम्म राम्रो बनाउन साथ दियो।

उनी भन्दै थिए, 'कक्षामा एसी राख्न सके त अझ राम्रो हुने। हेरौं यो पनि पुरा हुन्छ कि।'

हामीले चाँहि शौचालयको कुरा गर्‍यौ। टीयूको यही फ्लोरको दहिनेतिरको शौचालय फोहोरग्रस्त छ। चेम्जोङलाई यही कुरा सुनाएपछि उनी भन्दै थिए : हाम्रो उतातिर छ नि। देब्रेतिर त्यतै जानुपर्छ। राम्रो छ।

विश्वविद्यालय घरभन्दा राम्रो हुनुपर्ने बताउँछन् उनी।

'घरमा भन्दा मिठो कफी पाउने क्यान्टिन बनाउने योजना छ। घरभन्दा राम्रो होस् न,' चेम्जोङ भन्दैछन्।

विश्वले हेर्ने नेपालको एकमात्र विश्वविद्यालयलाई राम्रो बनाउन सबै लाग्नुपर्ने उनको धारणा छ। धारणामात्र हैन, खट्दैछन् आफै पनि।

'नलेज प्रडक्सन सेन्टर हो यो। संसारभरले देख्ने भनेको यही युनिभर्सिटी  हो। देखाउने पनि यही हो। अब यसलाई राम्रो बनाउने हाम्रो जिम्मा हो,' डम्बर सरले भने।

व्यवस्थित लाइब्रेरी बनाउन थेसिसका थाक लगाइँदै

त्यसपछि चेम्जोङ ओर्लिए भूँईतल्लातिर। अघि हामीभित्र पस्ने च्यानल गेट बन्द भइसकेको रहेछ।

अगाडि पट्टीको ढोकाबाट राजनीति शास्त्र विभाग हुँदै हाम्रो अघिअघि लागे उनी। अलिकति माथि उक्लेपछि देखियो सानो टहरा। टहरातिरै डोर्‍याए उनले। त्यहाँ पुग्नसाथ च्यानल ढोका खोले। त्यसपछि खोले ढोका।

'यही हो,' भित्र सरासर पसेर उनले देखाए थेसिसका थाक।

'जसले आँट गर्‍यो। उसले काम गर्‍यो,' उनी भन्दै थिए। एकतिरको भित्ताभरी र्‍याक देखिन्छ। ती र्‍याक लगभग थेसिसका किताबले भरिएका छन्।

झन्डै पाँच हजार शीर्षकका थेसिस रहेको रुम तयार पार्न तीन महिना लागेको रहेछ।

'दराज बनाउन केही समय लाग्यो। थेसिस ल्याएर राख्न हप्तादिन लाग्यो। क्याटलगमा राख्न दुई जना लागे पनि तीन महिना लाग्ला,' डम्बर सर उत्साही देखिए।

यति धेरै थेसिस् मानवशास्त्रकै हुन् त?

हाँस्दै यसरी उत्तर दिए डम्बर सरले - कुरा बुझ्नुहुन्न कि क्या हो? मानवशास्त्र र समाजशास्त्र छुट्टियो। मकैको घोगा भाँचेर फाले झैं थुपारे थेसिस। मानवशास्त्र त निस्केर जानुपर्‍यो। हाम्रो भागमा थेसिस पर्‍यो। कोठा उनीहरुको भागमा। हामीले तानेर ल्यायौं। मानवशास्त्रको त ५०० मात्र होला नि।

यही क्रममा उनले ताने एउटा थेसिस। 'ल कस्तो रहेछ त लक्षण भनेको, मैले जुन समाए नि त्यही चाहि डम्बरध्वज चेम्जोङ भन्ने रहेछ लौन,' आफ्नै थेसिस निस्केकोमा दंग परे उनी।

१९९६ मा धनकुटाको विषयमा गरिएको थेसिस हातमा थियो। केही बेर आफ्नो थेसिसमा घोत्लिएपछि उनले भने, 'त्यही सालबाट हो मैले पढाउन थालेको।'

अमेरिकाको ओपन सोसाइटी फाउन्डेसनबाट लाइब्रेरी सुधार्न प्रोजेक्ट परेको छ। यही सहयोगबाट काम थालेका रहेछन् डम्बर सरले। २ वर्षको यो प्रजेक्टको उद्देश्य हो - लाइब्रेरी राम्रो बनाउनु अनि विद्यार्थीलाई फिल्डमै उतार्नु र व्यवहारिक शिक्षा दिनु।

'टीयू रिसोर्स् फूल छैन। त्यसैले हामीले यो थालेको हो,' सर भन्दै थिए।

थेसिसको थाक रहेको कोठालाई चाँडै नै पुस्तकालय आकारमा ल्याउने उनको सपना छ। यसका लागि विशेषज्ञसँग कुराकानी गर्ने क्रम अघि बढाइसकेका छन्। त्यसो त यसका बिब्लिओग्राफी र टाइटल अनलाइनमा राख्ने मेलोमेसो गर्दै रहेछन् उनी। अब ४-५ महिनामा यो काम पुरा हुनेमा विश्वस्त छन्।

'डकुमेन्टेसन र रिफ्रेन्सका लागि यो आवश्यक छ,' उनले भने,'नेपालमा छापेका विसं २०२५ सालको सानो पर्चा पनि छ कोर्नेल युनिभर्सिटीमा। यसबाट त हामीले सिक्नुपरो नि।'

मनावशास्त्रकै अर्को कक्षाका लागि अंग्रेजी विभागको कोठा पनि लिएर चिटिक्क पारेका छन्। बिहानका लागि यो कक्षा। 'मलाई धेरै विद्यार्थी पढाउँ भन्ने त होइन। हुल देखायो भने मात्र दरबन्दी पाउने नियम छ नि,' डम्बर सरको भनाई।

टीयूको एन्थ्रोपोलोजी डिपार्टमा केही हुँदैछ भन्ने देखियो नि? कसरी सम्भव भयो?

'डम्बर चेम्जोङ भएर नि,' उनले उत्तर फर्काइहाले।

थेसिस कक्षा आफै बन्द गरे उनले। हामी निस्क्यौं। त्यसैको ठीक अघि मानवशास्त्र र समाजशास्त्र विभाग रहेको एउटै भवन।

***

सात वर्षअघि उपप्राध्यापक कक्षामा भेटिएका चेम्जोङका कपाल कालो कालो नै थियो। अहिले आधाआधी सेतो। त्यतिबेला निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यका रुपमा कुराकानीका लागि भेटेको थिएँ। लवाइ पहिलो भेटकोजस्तै। यसपटक थपिएको एउटा गलबन्दीमात्र।

'हो यही भेटेको नि तपाईलाई मैले ७ वर्षअघि,' मैले विभागतिर हेर्दै सम्झना गराए, 'त्यतिबेला तपाई उपप्राध्यपक हुनुहुन्थ्यो कि जस्तो लाग्छ।'

'अहिले पनि म उपप्राध्यपक नै हो नि,' चेम्जोङले विभागतिरै हेर्दै भने।

तर अहिले विभाग प्रमुखको जिम्मेवारीमा।

एक हात ज्याकेट र अर्को हात पाइन्टको खल्तीमा राखेर उभिएका चेम्जोङले विभागको बोर्डतिर हेर्दै भने : युएस आइडी केसले तालाबन्दी गरेपछि पुरानो हेडले छाडे। मेरो भूमिका कथाले माग्यो।

भर्ना खुल्दा पनि तालाबन्दी जारी रहेको सम्झे उनले। आफूले अहिलेजसरी नै बाहिरैबाट विद्यार्थी भर्ना लिएको उनले सुनाए।

भने, 'फेरि एड्मिसन खोल्दा तालाबन्दी थियो। यसरी नै लिएर २६ जना इनरोल गरेँ।'

किन पढ्ने मानवशास्त्र?

'आम मानिस हाम्रो ल्याब्रोटरी हो। नातेदारी, परिवार बुझ्छ। विश्वभर मानिसका आफ्नै प्रचलन छ। यसको विकासक्रम र एप्लाइ बुझ्छ यो नै हो मानवशास्त्र,' डम्बर सर आफ्नो कार्यकक्षमा फारम भर्न आइपुगेका विद्यार्थीलाई भन्दै थिए, 'अमेरिकामा एस्ट्रोनोमर होस् या मेडिकल, एन्थ्रोपोलोजी पढ्नैपर्छ। लयरमा जानुस्। साइन्समा जानुस। अर्किटेक्टमा जानुस्। पढ्नैपर्छ।'

यति सम्झिँदै हामी २१० नम्बरकै कोठामा उक्लियौं।

रुघाले ग्रस्त रहेछन् डम्बर सर। कार्यकक्ष पुग्ने बित्तिकै औषधि लिए।

'समाजको कुरा समाजमै बसेर सिकिने हो नि, किन पढ्नुपर्‍यो त यो विषय, किन प्रमाणपत्र लिनुपर्‍यो?' भर्खरै विद्यार्थीलाई मानवशास्त्रको ए टु जेड महत्व बुझाएका गुरुसँग हामीले सोध्यौं।

'ए हो हई,' यति भनेपछि एकछिन मौन बसे डम्बर गूरु।

अनि निकाले प्रसँग।

आफ्नै पिएचडीका गुरु डेभिड हमवर्कको अनुभव।

एन्थ्रोपोलोजीको पिएचडी गर्न लाङटाङतिर हिँडेछन् डेभिड। तर, कांग्रेस नेता बहादुरसिंह लामाको घरमा बसेर पढेछन्।

कुरा के भएछ भने, बसमा एकजनाले कता जाने भनेर सोधेछन्। उनले रसुवातिर गएर तामाङको बारेमा अध्ययन गर्न भनेछन्। बसका ती मान्छेले नुवाकोटमै बसौँ। हाम्रोतिर बसेर अध्ययन गरौँभन्दै अनुरोध गरेछन्।।जाँदाजाँदै रात पर्‍यो होला। रसुवा हिँडेको गोरालाई त्यतै बसाएछन्।

त्यही बसेर डेभिडले झाँक्री बन्न सिके। तामाङ बोल्न जाने। गाउन जाने। नाच्न जाने। लामाले जस्तो पढ्न सिक्यो। बोम्पोले जस्तो पूज्न पनि जान्यो।

यो हो नि एन्थ्रोपोलोजी भनेको। हामीले भोगेकै कुरा हो। उनले यही विषयमा पिएचडी गरें। तामाङको रेकर्ड उहाँहरुसँगमात्र छ।

मानवशास्त्रको विषयमा डम्बर सरले अझ थपे -

तामाङ गुरुङजस्तो छ त? मगर राईजस्तो छ त।? विवाह एउटै हो। तर सिस्टम फरक फरक हुन्छ। कसरी डाइभर्सिटी भएको छ। सारा समाज एकै किसिमले चल्दैन। एभ्री सोसाइटी इज अन देअर अन वे। आफ्नो सोसाइटी आफ्नै जातले बनाएको हो नि। सामाजिक विविधता र सांस्कृतिक विविधता हुन्छ नि। त्यो पनि आफ्नै तरिकाले बचाइराखेको छ। मनाइराखेको छ।

धर्म पनि फरक।

मानवले मानव हुनुको अर्थ पत्ता लगाउन मानवशास्त्र पढ्नै पर्छ। हरेक विषय पढ्नेले मानवशास्त्र नपढी नबुझी सुखै छैन।

डिपार्टमेन्टमा बोक्सी र भूतको बिगबिगी

पछिल्लोपटक मानवशास्त्र विभाग २०१५ बाट छुट्टियो। समाजशास्त्र विभागबाट। त्यसपछि विद्यार्थी घट्दै गए। आन्दोलन पनि भोग्यो यो विभागले। त्यसपछि फेरि कथाले आफूलाई मागेको डम्बर सुनाउँछन्।

विद्यार्थीले तालाबन्दी गर्दा उनले बाहिरै बसेर भर्ना लिए अघिल्लो वर्ष।

२०१५ देखि अफिस नै छुट्टियो मानवशास्त्र र समाजशास्त्रको। क्लास त पहिलेदेखि नै छुटाइएको थियो।

अफिस छुट्टिएपछि विद्यार्थी घट्दै आयो मानवशास्त्रमा। समाजशास्त्र र मानवशास्त्रमा १०० जना आउँदा १२/१३ जनामात्र मानवशास्त्रमा हुन्थ्यो।

उनी भन्छन्, 'परार ९ जनामात्र आए। अनि बाहिर बसेर थप इनरोल गरेँ।'

समाजशास्त्र र मानवशास्त्र विषयमा कक्षा ११ देखि नै पढाई हुन्थ्यो। छुट्टिएपछि पेलाईमा पर्‍यो मानवशास्त्र विभाग। मानवशास्त्र अहिले न त कक्षा ११ र १२ मा छ न त स्नातकमै। छुट्टिने बित्तिकै मानवशास्त्र काटियो। समाजशास्त्रमात्र लेख्यो।

उनी भन्छन्, 'म त विषयप्रति प्रतिबद्धता भएको मान्छे। पढाई एमएमा छ। एमफिलमा छ। तर अरु तहमा छैन। यी सबै ठाउँमा एप्लाइ गर्छु अब।'

उनी एमएका विद्यार्थीलाई भन्दै थिए- १५ दिन स्थानीय सरकार अध्ययन गर्न गाउँमै बस्नुपर्छ। त्यसपछि ७ दिन लगाएर त्यसको रिपोर्ट बनाउनुपर्छ।

गाउँमै जानुपर्ने भन्दै जिब्रो टोक्दै थिए विद्यार्थी।

उनी भन्दै थिए -  सारो कुरा पढे पो काम पनि राम्रो पाउँछ। मामा छ भन्दै सजिलो विषय खोजेर त भएन नि!

यसरी प्रोजेक्ट आउँदा खुसी हुनुपर्नेमा बोक्सी र भूत देखाएर तर्साउन आउनेपनि देखिएको उनी बताउँछन्।

'आइडिया नभएकाहरुले विरोध गर्छन्। आरिस गर्नेहरु पनि छन्, अर्को मंकी माइन्डेडहरु छन् जसले त्यसै शत्रु उठाइदिन्छन्,' उनले भने।

'टिचिङमात्र भयो भने सोसल साइन्स पढे भो। रिसर्चमा जाँदा किन तालिम दिन्छ भनेर टेन्सन शुरु हुन्छ। आफूले जान्यो भने जसरी पनि बुझाउन सकिन्छ नि,' उनी भन्दै छन्।

लगानी आउँदा टीयूदेखि विद्यार्थीसम्मलाई लाभ मिल्ने उनले बताए। भने - दोष थुपारेर बस्नेहरु आफै दोषी हुन् नि।

तर, वैदेशिक सहयोगलाई राम्रो मान्दैनन् नि?

डम्बर सर केही आक्रोशित देखिए - अरुले पनि वैदेशिक सहयोग लिइरहेका छन् नि। मेट्रोलोजीले क्लाइमेट चेन्जबाट लिइरहेको छ। इन्भरोमेन्टले पनि क्लाइमेन्ट चेन्जको ल्याएको हुन्छ। हाम्रा मान्छेहरु खुसुखुसु एनजिओआइएनजिओमा काम गरिरहेका हुन्छन्। हामीले खुला रुपमा सहयोग लिएको किन देखी सहन्नन्?'

आएको लगानीको ३० प्रतिशत केन्द्रीय विभागमा जाने उनले बताए। 'ओभरहेड हुन्छ नि डिपार्टमेन्टलाई। एक करोडको ३० प्रतिशत सेन्ट्रल डिपार्टमेन्टमा जान्छ नि,' चेम्जोङले भने, 'यसमा युनिभर्सिटीको केही छैन। यही प्रोजेक्टबाट त हो नि यो अफिस चलाएको।'

केही गर्नै नेपालमा बसेको

अमेरिकाको न्युयोर्कस्थित कोर्नेल युनिभर्सिटीबाट विद्यावारिधी गरेका चेम्जोङ नेपाली शिक्षा सुधार्न यतै बसेको बताउँछन्।

'उतै किन बस्नु भएन नि?' फारम भर्ने क्रममा एकजना विद्यार्थीले सोध्न भ्याए।

'एन्थ्रोपोलोजी पढेकोले नि। तपाईजस्तो इकोनोमिक पढेको भए द्रव्यपिशाचमा लागेर उतै बस्थे हुँला,' डम्बर सरले जवाफ फर्काए।

धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक सकाएका उनले १९९६ मा टीयूबाटै मानवशास्त्रमा एमए पुरा गरे। त्यसपछि नर्वेको बर्गेन विश्वविद्यालबाट एमफिल।

'धनकुटाको त्यो गाउँमा पढेको केटोलाई आफ्नो शिक्षालयलाई पनि राम्रो गरोस् भनेर त कोर्नेल युनिभर्सिटीले पनि मलाई स्कलरसिप दिएको होला नि,' डम्बर सर भन्छन्, 'त्यहाँ बसेर ठुलो काम गर भनेर लगेको हैन होला नि।'

मानवशास्त्र विषयलाई मेचीमहाकाली विस्तार गर्ने योजनामा छन् उनी। भन्छन्, 'स्कुल लेभलदेखि कलेजलेभलसम्म लैजानका लागि नै हो म यो विभागमा आएको।'

हरेक मानिसको जीवनमा दु:ख हुने र त्यही दु:ख नै सिभी भएको उनको भनाई थियो।

'हामी दु:ख गरेर नै पढ्न आएको हो। यो नै सिभी हो नि,' डम्बर सर मुस्कुराए।

छट्पटिए झैं घडी हेरे उनले। झन्डै सात बज्न लागेछ।'

'यति धेरै समयको लागि धन्यवाद,' भन्दै हामीले पनि कुराकानीको बिट मार्‍यौं। हात फैलाउँदै उनले भने, 'यति लामो अलमलाउनुहुन्छ भन्ने लागेको थिएन। नत्र २०७७ मा आउनुस् भन्थे।'

***

मानवशास्त्रमा स्नातकोत्तर अध्ययनका लागि शनिवार प्रवेश परीक्षा हुँदैछ। बिहीवारसम्म ४९ जनाले प्रवेश परीक्षाका लागि फारम भरिसकेका छन्। डम्बर सर यसपटक कम्तीमा ५० विद्यार्थीलाई एमका लागि इनरोल गराउन चाहन्थे। शुक्रवारसम्ममा आफ्नो लक्ष्य मिट हुनेमा ढुक्का छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell