
काठमाडौं : विश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पोखरा राइनोजले भित्र्याएको छ। गेललाई नेपाली फ्रेनचाइज लिगमा भित्र्याएसँगै अन्तर्राष्ट्रियस्तरमा नै लिगको चर्चा पनि चुलिएको छ।
इपिएलको ट्वीटरबाट पोखरा राइनोजेले आज गेललाई भित्र्याएको घोषणा गरेसँगै उनले भिडियो सन्देशसमेत पठाएका छन्।
‘हेलो नेपाल। म क्रिस गेल द युनिभर्स बोस। किङ अफ टी२०। म एउटा ठूलो खेल इभन्टका लागि नेपाल आउँदै छु। एभरेस्ट प्रिमियर लिगमा आएर म र मेरो टिम पोखरा राइनोटलाई सपोर्ट गरिदिनुहोला। नेपाल गेलका तयार हुनुहोस।’ त्यसपछि उनी हाँस्दै भन्छन, ‘इट्स गन बि ड्यासिङ।आर्क। सि यू सुन। नेपाल।‘
Nepal, the forecast for March is Stormy! @henrygayle has confirmed to play in the @eplt20official for @pokhararhinos! Are you ready for the Gayle Storm?#galligallimaGayle #GoGayle #GoRhinos #eplt20 pic.twitter.com/FuurBZ50ci
— EPL - Everest Premier League (@eplt20official) January 30, 2020
सन् २००७ देखि २०१० सम्म टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको कप्तानी सम्हालेका गेलले टी २० मा विस्फोटक ब्याट्सम्यानको छाप छोड्न सफल भएका छन्।
तीनै फर्म्याटमा उनका रेकर्ड नै रेकर्ड छ। उनले टेस्ट क्रिकेटमा तेहरो शतक, ओडिआइमा दोहोरो शतक र टी २० मा शतक प्रहार गरिसकेका छन्। गेलले वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट सबै भन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।
आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दा उनले ३० बलमा सेन्चुरी हान्दै सर्वाधिक छिटो शतक बनाएका थिए। उनले टी २० मा २२ शतक बनाएका छन् भने त्यसमध्ये पनि १५ शतक अभिजित रहेको छ। रोयल च्यालेनजर बैंगलोरका लागि ३८ बलमा ७७ रन बनाउँदै उनले करियरमा १० हजार रन बनाएका थिए।
पोखरा राइनोजका टिम ओनर दीपा अग्रवालले क्रिस गेलले आफ्नो टिमबाट खेल्ने पक्का भइसक्दा आफूलाई अझै विश्वास गर्न कठीन भइरहेको प्रतिकृया दिएकी छिन्।
‘यो विश्वास गर्न गाह्रो छ कि टि २० को पर्यायवाची रहेका क्रिस गेल हाम्रो टिमबाट खेल्दैछन्। उनको आगमनले मेरो टिमको मात्र नभएर लिगको अनि देशकै ध्यान खिच्नेछ। विशेषगरी जब हामी भिजिट नेपाली २०२० मनाइरहेका छौं।’ उनले भनेकी छिन्, ‘यो हाम्रा क्रिकेटरहरुलाई लिजेन्ड्री क्रिकेटरसँग सिक्ने राम्रो मौका हो। बाँकीका लागि उनका विरुद्ध खेलेर सिक्ने मौका हो। गेलको तुफानका लागि हामी तयार छौं।’
त्यस्तै इपिएलका डिरेक्टर अमिर अख्तरले पनि क्रिस गेलले नेपाली लिग खेल्नु नेपाली क्रिकेट र भिजिट नेपाल २०२० का लागि राम्रो हुन प्रतिक्रिया दिएका छन्।