PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्टार विदेशी खेलाडी घरेलु क्रिकेट लिगमा, इपिएलमा को कहाँबाट खेल्दै?



मुकुन्द घिमिरे

स्टार विदेशी खेलाडी घरेलु क्रिकेट लिगमा, इपिएलमा को कहाँबाट खेल्दै?

पछिल्लो दशकमा नेपाली क्रिकेटको विकास र क्रेज जुन हिसाबले बढ्यो त्यही हिसाबले पछिल्ला केही वर्षमा फ्रेन्जाइज लिग पनि। अहिले मुख्यगरी एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग छन्। अझ नेपाल प्रिमियर लिगको पनि चर्चा परिचर्चा चलाइरहेको छ  नेपाल क्रिकेट संघ (क्यान) ले।

बाबर हयात, रोहन मुस्तफा जस्ता विदेशी खेलाडीहरु यी तीनै फ्रेन्चाइजमा आउने र चम्किने खेलाडी हुन्। तर, यस पटकको इपिएल अलि फरक छ। चर्चा फरक छ।

आलोचनाबाट सुरु भएको इपिएलको चर्चा यसकारण छ योपटक स्टार विदेशी खेलाडी नेपाली घरेलु लिगमा खेल्दैछन्। आलोचना यस अर्थमा छ कि नेपालमा हुने अरू फ्रेन्चाइज लिगमा खेलेका विदेशी खेलाडीले एभरेस्ट प्रिमियर लिग खेल्न पाउने छैनन्। यस नियमले इपिएललाई केही आलोचित बनाएको थियो।

विश्व क्रिकेटमै चर्चित नामहरू समेत इपिएलका लागि आउने भइसकेका छन्। कति आउने पक्का भइसक्यो त कति आउने चर्चा छ।

को-को भित्रिए?

ड्वाने स्मिथ

३६ वर्षीय स्मिथ यसपटक इपिएलमा भैरहवा ग्लाडियटर्सबाट खेल्दैछन्। वेस्ट इन्डिजका अलराउन्डर उनी ब्याटिङमा राइट हेन्डेड ब्याट्सम्यान र बलिङमा राइट आर्म मिडियम बलर हुन्। सन् २००२ मा वेस्ट इन्डिजको साउथ अफ्रिका भ्रमणका क्रममा डेभ्यू खेलमै शतक बनाएर उनले चर्चा बटुलेका थिए। छोटो फर्म्याटको खेलमा पनि उनले राम्रो प्रदर्शन रहँदै आएको छ।

आइपिएलमा पनि उनले चेन्नाइ सुपर किंग्स, गुजरात लायन्स र मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्।

‘मैले नेपाल र त्यहाँको भौगोलिक सुन्दरताबारे धेरै सुनेको छु। म त्यहाँ आउन निकै आतुर छु।’ उनले भनेका छन्।

ड्वानेको उपस्थितिबारे भैरहवाका कप्तान शरद भेषावकरले युवा खेलाडीका लागि अवसर हुने बताएका छन्। 'यो सबै खेलाडीका लागि उत्साहजनक अवसर हो। विशेष गरी युवा खेलाडीका लागि महान् खेलाडी कसरी खेल्छन् भनेर सिक्ने अवसर हो।'

उपुल थरंगा

थरंगा विकेटकिपर तथा बायाँ हाते ब्याट्सम्यान हुन्। उनी करिअरको सुरुमा श्रीलंकाको यू-१५, यू-१७ र यू-१९ का नियमित सदस्य थिए। उनले २१ पटक श्रीलंकन टिमको एकदिवसीय खेलमा कप्तानी समेत गरिसकेका छन्। त्यस्तै उनले टी २० इन्टरनेसनलमा ६ पटक कप्तानी गरेका छन्।

ललितपुर प्याट्रियट्सका ओनर किशोर महर्जनले थरंगाको उपस्थितिले टिमलाई ब्यालेन्स गर्ने दाबी गरेका छन्।

‘ललितपुरको टिममा एउटा ठूलो उपलब्धि हात परेको छ। थरंगाको उपस्थितिले टिमको ब्यालेन्स हुनेछ। उनीसँगको ड्रेसिङ रुम सेयरिङले पनि हाम्रा युवा खेलाडीले धेरै कुरा सिक्नेमा विश्वस्त छु’, महर्जनले भने, ‘हाम्रा युवा खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाउने छन्।’

थरंगा ओडिआई क्रिकेटमा ७ पटकभन्दा धेरै पटक २०० रनमाथिको साझेदारी गर्ने दोस्रा खेलाडी हुन्। त्यस्तै श्रीलंकाका लागि सनथ जयसूर्यापछि ओडिआइको एउटै खेलमा दोस्रो धेरै रन बनाउने खेलाडी पनि हुन्। थारंगाले १७४ रन बनाएका छन्। थरंगाले आफ्नो इन्टरनेसनल करिअरमा १५ शतक बनाएका छन् भने १२ पटक म्यानअफ द म्याच भएका छन्।

त्यस्तै श्रीलंकाको सबैभन्दा छिटो ओडिआइमा ४ हजार रन बनाउने खेलाडीसमेत हुन्। उनले १ सय १९ पारीमा यो रेकर्ड बनाएका थिए।

‘मलाई इपिएलको २०२० को संस्करणमा सहभागी हुन पाउँदा खुसी लागेको छ। नेपालमा बढ्दो क्रिकेट कल्चरको साक्षी हुन पाउँदा खुसी छु। आउँदा अरू संस्करणमा पनि यसलाई निरन्तरता दिन पाउनेमा खुसी छु’, थरंगाले भने, ‘सबैभन्दा धेरै त नेपालको सुन्दरता हेर्न आतुर छु। म त्यहाँ रहँदा मेरो ज्ञान र अनुभव म त्यहाँका युवाहरूसँग सेयर गर्नेछु।’

मोहम्मद सहजाद

सहजाद अफगानी राइटह्यान्ड ब्याट्सम्यान तथा विकेटकिपर हुन्। अफगानिस्तानलेपहिलो टेस्ट म्याच खेल्दाको समयको उनी टिमको सदस्य थिए।

३३ वर्षीय उनले भारतविरुद्ध ओडिआइमा शतक बनाएर चर्चा बटुलेका थिए। उक्त खेलमा अफगानिस्तान १ सय ३१ रनमा समेटिएको थियो। ब्याट्सम्यानले शतक बनाएर पनि टिम कम स्कोरमा समेटिएको अर्को कीर्तिमान पनि थियो।

सहजादले २ टेस्ट, ८४ वान डे र ६५ टी २० खेलिसकेका छन्। फर्स्टक्लास क्रिकेटमा उनको ब्याटिङ औसत ५० भन्दामाथि रहेको छ। सबै फर्म्याटमा गरी उनले १३ हजारभन्दा बढी रन बनाइसकेका छन्। उनले अबुधावी टी २०, बङ्गलादेश प्रिमियर लिग तथा अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

उनलाई स्वागत गर्दै चितवनले उनको उपस्थितिले चितवनको ब्याटिङमा सकारात्मक प्रभाव पर्ने बताएको छ।

'हाम्रो लामो समयको प्रयास र उनी आफैं पनि इच्छुक भएपछि हामी सहमतिमा पुगेका छौँ। साहजादको आगमनले चितवनको ब्याटिङमा नयाँ आयाम दिन विश्वास लिएका छौँ,' चितवनले जारी गरेको विज्ञप्ति भनिएको छ।

एकपटक विश्वकप क्रिकेट लिग डिभिजन ५ बाट टेस्ट मान्यता पाउन सम्ममा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ।

क्रिस गेल

सन् २००७ देखि २०१० सम्म टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको कप्तानी सम्हालेका गेलले टी २० मा विस्फोटक ब्याट्सम्यानको छाप छोड्न सफल भएका छन्।

तीनै फर्म्याटमा उनका रेकर्ड नै रेकर्ड छ। उनले टेस्ट क्रिकेटमा तेहरो शतक, ओडिआइमा दोहोरो शतक र टी २० मा शतक प्रहार गरिसकेका छन्। गेलले वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट सबै भन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।

आइपिएलमा रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेल्दा उनले ३० बलमा सेन्चुरी हान्दै सर्वाधिक छिटो शतक बनाएका थिए। उनले टी २० मा २२ शतक बनाएका छन् भने त्यसमध्ये पनि १५ शतक नटआउट छन्।

पोखरा राइनोजका टिम मालिक दीपा अग्रवालले क्रिस गेलले आफ्नो टिमबाट खेल्ने पक्का भइसक्दा आफूलाई अझै विश्वास गर्न कठिन भइरहेको प्रतिक्रिया दिएकी छिन्।

‘यो विश्वास गर्न गाह्रो छ कि टी २० को पर्यायवाची रहेका क्रिस गेल हाम्रो टिमबाट खेल्दैछन्। उनको आगमनले मेरो टिमको मात्र नभएर लिगको अनि देशकै ध्यान खिच्नेछ। विशेष गरी जब हामी भिजिट नेपाली २०२० मनाइरहेका छौँ।’ उनले भनेकी छिन्,  ‘यो हाम्रा क्रिकेटरहरूलाई लिजेन्ड्री क्रिकेटरसँग सिक्ने राम्रो मौका हो। बाँकीका लागि उनकाविरुद्ध खेलेर सिक्ने मौका हो। गेलको तुफानका लागि हामी तयार छौँ।’

पोखरा राइनोजेले आज उनलाई भित्र्याएको घोषणा गरेसँगै उने भिडियो सन्देशसमेत पठाएका छन्।

‘हेलो नेपाल। म क्रिस गेल द युनिभर्स बोस। किङ अफ टी २०। म एउटा ठूलो खेल इभेन्टका लागि नेपाल आउँदै छु। एभरेस्ट प्रिमियर लिगमा। आएर म र मेरो टिम पोखरा राइनोजलाई सपोर्ट गरिदिनुहोला।’ त्यसपछि उनी हाँस्दै भन्छन्, ‘इट्स गन बि ड्यासिङ। आर्क। सी यु सुन। नेपाल।‘

अझै चर्चामा स्टार नाम

इपिएलमा खेलाडी भित्र्याउने चर्चा यतिमा मात्र सीमित छैन। यसबाहेक पनि सन् २०२० मा इपिएल खेल्ने खेलाडीको चलिरहेको छ। इपिएलकै आधिकारिक वेबसाइटमा सन् २०२० को इपिएल खेल्ने खेलाडीको सूचीमा इङ्ग्ल्यान्डका लिएम प्लुनकेट, साउथ अफ्रिकाका हसिम अमला, श्रीलंकाका सिक्कुगे प्रसन्नालगायतका खेलाडी रहेका छन्। त्यसबाहेक पनि विश्व क्रिकेटका चर्चित खेलाडीहरु भित्र्याउन प्रयास भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell