PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनमाथि कडाई, युट्युबको कमाइ पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्ने



पहिलोपोस्ट

सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनमाथि कडाई, युट्युबको कमाइ पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्ने

काठमाडौं : फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने भएको छ। इन्टरनेटमार्फत गरिने विज्ञापन वापत् अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले सूचना सार्वजनिक गरेको हो।

बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायीक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत (आफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत) विज्ञापन गर्दै आएका छन्। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिवृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए।

यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन।

तैपनि निरन्तर विज्ञापन भइरहेको थियो। राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो। त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो।

'यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने छ', राष्ट्र बैंकले जारी गरेको सूचनामा लेखिएको छ। 

चालु बर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि केही निर्णय गर्न भने सकेको थिएन। शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारवाही गर्ने निर्णय गरेको हो।

फेसबुक, ट्वीटर, युट्युव, इन्स्टाग्राममार्फत विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अवैधानिक रुपमा बाहिरिने गरेको थियो। यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जानेछ। पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रुपमा गरिने विज्ञापन पनि थियो।

राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आँफै राख्थे। त्यस बराबरको पैसा उनीहरुले नेपाली रुपैयाँमा परिवारलाई भुक्तानी गरिदिन्थे। यसो हुँदा नेपाल आउने विदेशी मुद्रा रोकिन्थ्यो।

'यसबाट गैरकानुनी भुक्तानी रोकिने छ' राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, 'कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्छ।' उनले त्यसरी नल्याएको पाइएमा कारवाही गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell