PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेकपा केन्द्रीय सदस्यहरुको माग, 'व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानले गुट बढायो, बन्द गरौं '



कुञ्जरमणि भट्टराई

नेकपा केन्द्रीय सदस्यहरुको माग, 'व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानले गुट बढायो, बन्द गरौं '

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा व्यक्तिका नाममा खोलिएका प्रतिष्ठान बन्द गर्नुपर्ने माग उठेको छ।

केन्द्रीय सदस्यहरुले यस्ता प्रतिष्ठानहरु गुट बढाउने अखडा बनिरहेको भन्दै प्रतिष्ठान नै बन्द गर्नुपर्ने आवाज उठाएको केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले बताए।

'व्यक्तिका नाममा खुलेका प्रतिष्ठानहरुबाट पार्टीमा गुट बढीरहेको छ। त्यसकारण प्रतिष्ठान बन्द गर्नुपर्छ भन्ने आवाज चर्को रुपमा उठेको छ,' बैठकमा ११ नम्बर टोलीको नेतृत्व गरिरहेका राईले भने।

नेकपामा मदन भण्डारी फाउन्डेसन, पुष्पलाल प्रतिष्ठान, सहाना प्रधान प्रतिष्ठान, तुलसीलाल प्रतिष्ठानलगायतका प्रतिष्ठान सञ्चालित छन्।

अर्का केन्द्रीय सदस्य झपड रावलले पनि यस्ता प्रतिष्ठान खारेज गर्नुपर्ने तर्क गरे। उनले पहिलादेखि नै प्रतिष्ठान खारेज गर्नुपर्ने माग उठाउँदै आएका थिए।  

दिवंगत नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरुलाई नेताहरुले आफू निकटकालाई भर्ती गर्ने केन्द्र बनाएको आरोप लाग्दै आएको छ। त्यसो त नेकपामा गुट उपगुट बढ्दै गएको तथ्यलाई नेतृत्वले नै स्वीकार गर्दै आएको छ।

बुधवारबाट जारी केन्द्रीय कमिटी बैठकमा आज सातै प्रदेशका अध्यक्षले प्रदेशगत रिपोर्ट प्रस्तुत गरेका छन्। त्यस्तै महानगर कमिटी र सम्पर्क कमिटीका अध्यक्षले आफ्नो रिपोर्ट प्रस्तुत गरेका छन्। अध्यक्षहरुले बिहीवार नै रिपोर्ट प्रस्तुत गर्ने कार्यसुची रहे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य लामो भएकाले आज प्रस्तुत गरिएको हो।

त्यस्तै आज समूह २ की टोली नेता कमला रोका, ६ का नेता दिनानाथ शर्मा, ९ की भगवती चौधरी र १३ का टोली नेता लेखनाथ न्यौपानेले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन्।

बिहीवार १५ समुहले राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा छलफल गरेका थिए। ४ टोलीले उक्त छलफलको रिपोर्ट पेस गरेका हुन्।

समूह २ की टोली नेता रोकाले एमसीसीको विषयमा पार्टी एकरुपता भएर ‍जानुपर्ने बताएकी थिइन्। २ नम्बर समुहमा रहेका केन्द्रीय सदस्य केशव नेपालले भने, ' उहाँले एमसीसीको विषयमा पार्टीमा एकरुपता बनाएर जानुपर्छ भन्ने कुरा प्रस्तुत गर्नुभयो। त्यस्तै जनतको अपेक्षा अनुसार काम भएन्, राम्रा कामका स्थापित हुन सकेनन् भन्ने रिपोर्ट दिनुभएको थियो।'

नेकपामा एमसिसीबारे नेताहरु विभक्त भएकाले आयोग गठन गर्न पनि नेताहरुले माग गरेका छन्। यसबारे अध्ययन हुनुपर्ने उनीहरुको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell