
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट दशौं चरणका खेल शुरु हुँदैछन्। लिगमा आज दुई खेल हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रीस्टार क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। १४ अंकसहित पाँचौं स्थानमा रहेको थ्री स्टार क्लब आजको खेलमा जित निकाल्दै एक स्थान सुधार गर्ने लक्ष्यमा रहने छ।
अर्कोतर्फ लगातार ८ वटा खेलमा जितविहीन सरस्वतीले अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबमाथि अप्रत्यासित जित निकालेको थियो। सरस्वतीको दाउ आज पनि जित निकालेर रेलिगेसनको जोनबाट माथि उठ्ने हुनेछ। ९ खेलमा १ जित र १ बराबरी र ७ हार व्यहोरेको सरस्वती ४ अंकसहित अंकतालिकाको पुछारमा छ। आजको खेलमा जित निकालेको खण्डमा सरस्वथी १२ औं स्थानमा उक्लने छ। खेल मध्यान्ह १२ बजे शुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ। अंक तालिकामा १९ अंकका साथ दोस्रो स्थानमा रहेको मछिन्द्रले शीर्षस्थानको त्रिभुवन आर्मी क्लबलाई पछ्याइरहेको छ। आर्मीको २० अंक छ। आजको खेलमा मछिन्द्रले जित निकालेमा उ शीर्ष स्थानमा उक्लने छ। अर्कोतर्फ मछिन्द्रसँग प्रतिस्पर्धामा आउने एपिएफ रेलिगेशन जोनमा रहेको सरस्वतीसँग अंकदुरी बढाउने दाउमा हुने छ। एपिएफको सरस्वतीको भन्दा एक अंक धेरै छ। खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ।