कैलाली : कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान एक बजे मायाराम चौधरी सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
२२ वर्षीय चौधरी चुहामा व्यापार गर्दै आएका थिए। पसलबाट घर फर्कने क्रममा राति गुलरा सडक खण्डमा मृत अवस्थामा भेटिएका हुन्। घटना बारे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको बताएपनि स्थानीयले भने गाडीको ठक्करबाट चौधरीको मृत्यु भएको भन्दै विरोध जनाएका छन्। पीडित परिवार र स्थानीयले सत्य तथ्य अनुसन्धान र दोषीलाई कारवाहीको माग गरेका हुन्।
विरोधका क्रममा आज बिहान राजमार्ग अवरुद्ध भएको थियो। जसका कारण लामो तथा छोटो दूरीका सवारी अलपत्र परेका थिए।
प्रहरीले राजमार्ग अवरुद्ध पार्ने पाँच जनालाई नियन्त्रणमा लिएर बाटो खुलाएको हो। प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार लम्की बहुमुखी क्याम्पसका स्ववीयू सभापति ललित जैशीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा राखिएको छ।