PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कुन्दन समूहलाई फकाउँदै नेविसंघ अध्यक्ष ढुंगाना



पहिलोपोस्ट

कुन्दन समूहलाई फकाउँदै नेविसंघ अध्यक्ष ढुंगाना

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेरहदको माग गर्दै आमरण अनशनमा थिए, केन्द्रीय सदस्य नवराज त्रिपाठी। उनी अनशन बसेको चौथो दिनमै राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन भयो।

तदर्थ समिति गठनमा समेत भागबण्डा गरेको भन्दै कुन्दन काफ्ले समूहले असन्तुष्टि जनाउदै आएको थियो। तर ढुंगाना अध्यक्ष भएकै भोलिपल्ट अर्थात शुक्रवार त्रिपाठीले ५ ‌औं दिनमा स्ववियु निर्वाचनमा असर पर्ने भन्दै अनशन तोडे।

अनशन तोडेकै भोलिपल्ट अर्थात शनिवार त्रिपाठीलाई भेट्न अध्यक्ष ढुंगाना ग्रिन सिटी अस्पताल पुगे। भेटमा सबैलाई मिलाएर जाने प्रतिबद्धता पनि गरे ढुगांनाले। काफ्ले समुहका नेता मनिष सिमखडाले ढुंगानाले इमान्दार भएर स्ववियु निर्वाचनमा लाग्ने प्रतिबद्धता जनाएको बताएका छन्।

‘हिजो निसर्त अनसन तोडेको हो तर आज ढुंगाना आएर भेटनुभो र समयमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले सबैसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ,’ उनले भने।

भेटमा तदर्थ समिति गठन प्रक्रियामा त्रिपाठीले बिमती जनाएका छन्। तर महाधिवेशन र स्ववियु निर्वाचनमा भने त्रिपाठीले आफूहरुको सहयोग रहने बताएको सिमखडाले जानकारी दिए।

भागबण्डा अनुसार अध्यक्ष बनाइएको भन्ने काफ्ले समूहको आरोपलाई भने अध्यक्ष ढुंगानाले अस्वीकार गरेका छन्।

‘पार्टी सभापति भएपछि नजिक त हुनै पर्छ। म अहिले कुनै गुटको अध्यक्ष भएको होइन। समग्र नेविसंघकै अध्यक्ष भएको हो। त्यसैले मेरो ध्यान नेविसंघको १२ ‌औं महाधिवेशन समयमै सम्पन्न गर्नेमा हुन्छ,’ ढुंगानाले भने।

माउ पार्टी नेपाली कांग्रेसले नै नेविसंघको नेतृत्व गर्न ३२ वर्ष मुनिको हुनुपर्ने विधान बनाएको भन्दै कार्यान्वयनको माग राखेर काफ्ले समूहले यसअघि पनि ४१ दिनसम्म रिले अनशन गरेको थियो।

आमरण अनशनमा बसेको काफ्ले समूहले नेपाली कांग्रेसको माघ १३ को केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेपछि काफ्ले र संस्थापन पक्षका विद्यार्थीबीच झडप समेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell