कैलाली : ‘खप्तड गोल्ड कप’को चौथो संस्करण आगामी फागुन ९ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
क्लबका महासचिव प्रकाश शाहीले फागुन ९ गतेदेखि धनगढीमा प्रतियोगिता आयोजना गरिने बताए। यो संस्करणको विजेताले २१ लाख तथा उपविजेताले १० लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए।
क्लबका अध्यक्ष सुरेश हमालले यस पटक प्रतियोगितामा नेपालका ६ वटा ‘ए’ श्रेणीका, ३ वटा मोफसलका, २ विदेशी र १ आयोजक गरी जम्मा १२ टिमको सहभागिता रहने जानकारी दिए। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने छ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य अनिल कुँवरले प्रतियोगितालाई प्रदेश सरकारसँग रातो किताबमै समेट्ने गरी पहल भइरहेको बताए।
उनले सुदूरपश्चिममा खेल क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि पहल भइरहेको समेत जानकारी दिए।