
काठमाडौं : मधेसी समाजमा महिलाको वर्तमान अवस्थाबारे आज राजधानीस्थित नेपाल पर्यटन बोर्डमा विभिन्न वक्ताले आफ्नो धारणा राखे।
बोर्डको सभाहलमा आह्वानले आयोजना गरेको 'मधेसी समाजमा महिला' संवाद कार्यक्रममा वक्ताहरुले मधेसका महिला अझै पछि पारिएको बताएका छन्।
लेखक तुलानारायण शाहले मधेसी समाजमा पनि उच्च जात मिश्र, ब्राह्मण लगायतमा जातीयता र धर्ममा कट्टार भएको हुँदा पितृसत्ता बढी नै हावी भएको बताए।
शाहले भने, ‘त्यही समुदायमा बढी शिक्षित छन् तर दहेज प्रथा पनि त्यहीँ नै बढी छ।’
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले राज्यको अनुदान र अवसरमा समान वितरण नभएको दावी गरिन्। शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा समान वितरण गर्नु राज्यको दायित्व हो तर हुन नसकेको पनि उनले बताइन।
कर्णालीको सौन्दर्यतालई बेचिरहेको तर त्यहाँका जनता लाभान्वित भए नभएकोमा राज्य बेखबर रहेको उदाहरण अन्सारीले पेश गरेकी थिइन्।
राज्यको नजिकमा रहेर आफ्नो दश वर्षे यात्रालाई विश्लेषण गरेको उल्लेख गर्दै उनले भनिन् ‘म मानव अधिकार आयोगमा रहँदा एकै किसिमको बर्गको वर्चस्व बढी देखेकी छु। जहाँ छात्रवृत्तिको मुद्दा लिएर एकै व्यक्तिको पाँच वटा उजुरी सम्म परेको छ। तर मधेसी, दलित, मुस्लिम र पिछडा वर्गका मुद्दा भेटाउन पाउँदिन’।
महिलाको अवस्थामा केही सुधार भएता पनि अन्य समुदायको तुलनामा मधेसी दलित महिला अझै पछाडि नै रहेको वक्ता सन्जु सरबरीयाले बताइन्।
मधेशमा अहिले छोरी बचाउ, छोरी पढाउ, छोरी विमाजस्ता अभियान राज्य तवरबाटै सञ्चालनमा भए पनि पारिवारिक सामुदायिक र राज्यतहमा महिला प्रतिको सोच र संस्कारमा परिवर्तन हुन जरुरी रहेको छलफलको निष्कर्ष रहेको थियो।
चार वर्षअघि स्थापना भएको आह्वानले हरेक महिना विभिन्न विषयमा छलफल चलाउँदै आएको छ। आह्वानमा डा. अर्चना थापा, उमा सुवेदी र कुमारी लामा संलग्न रहेका छन्।