एडिलेजा सोमिडे आफ्नो उमेर २८ वर्षको बताउँछन्। अनि घर चाहिँ नाइजेरिया। जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा एडिलेजाको खातामा तीन गोल छ। आकाशे मार्गको सोझो रेखामात्रै मापन गर्ने हो भने सोमिडेको देश र नेपालबीचको दुरी त्यस्तै ८ हजार १ सय ६ किलोमिटर हो। यति टाढाबाट फरक वातावरणमा फुटबल खेलिरहेका उनको नेपाल आएपछि जीवनयापन नै फरक भएको छ।
मछिन्द्र क्लबका स्ट्राइकर सोमिडे सीतापाइलामा फ्ल्याटमा बस्छन्। बिहान ८ बजे नियमित ट्रेनिङका लागि कीर्तिपुर पुग्छन्। मछिन्द्रमा आबद्ध उनीसँगै अन्य दुई अफ्रिकन र बाँकी नेपाली खेलाडी पनि प्रशिक्षणका लागि यसैगरी धाउने गर्छन्।
'नेपालमा खेल्दा मलाई छुट्टै अनुभव हुन्छ। लिग एकदमै टफ छ। कुन टिम कस्तो छ भनेर भन्न सकिने अवस्था छैन,' एक लाइनमा उनले लिगको समीक्षा सुनाए। उनको बुझाइमा नेपाल र नाइजेरिया धेरै हिसाबले फरक छ। त्यो फरक फुटबलमा पनि झल्किन्छ। 'नेपालमा र मेरो देशमा फुटबलको अवस्था धेरै फरक छ। फिजिकल र टेक्निकल रुपमा फरक छ,' उनले सुनाए।
एडिलेजाको नेपाली लिग अनुभव यसपालामात्र होइन। त्यसैले यस पटक सेट हुन खासै गाह्रो भएन। सुरुमा यहाँ आएर खेल्दा भाषाले मारेको थियो।
अफ्रिकामा हउसा, योरुबा, फुला जस्ता भाषाहरु चल्ने। सरकारी कामकाजको भाषा चाहिँ अंग्रेजी। नेपालीसँग अंग्रेजी चाहिँ साझा भाषा। तर, यहाँ सबैले अंग्रेजी नबुझ्ने। 'फिल्ड' होस् या 'अफ दि फिल्ड' संचारमै समस्या।
'म भन्नु पर्यो भने हामी 'हनी फुजो' भन्छौं। कोअर्डिनेट गर्न गाह्रो। तर, यसपटक चाहिँ पोहोर सँगै खेलेको साथीहरु टिममा भएकाले खासै गाह्रो भएन,' उनले भने।
पोहरको लिगमा उनी मनाङ मर्स्याङ्दीमा थिए। यसपाली मनाङबाट कप्तानसहितको टिम मछिन्द्रमा छिर्यो। त्यसैगरी प्रवेश गर्नेमा नाइजेरियन यी पनि परे।
'लामो समय संगत भइरहेका खेलाडीसँग त खेल पनि मिलिरहेको हुन्छ। तर नयाँ सँग गाह्रो,' उनले भने, 'त्यसमा पनि कतिपय खेलाडी त अंग्रेजी पनि बुझ्दैनन्। उनीहरुसँग दोभाषे खेलाडी बोलाएर कुरा गर्नुपर्ने हुन्छ।'
लामो समयको बसाइका कारण यताको मौसममा पनि भिज्न थालिसके एडिलेजा। नाइजेरियाको तापक्रम लगभग वर्षैभरी एकनास - त्यही २६ देखि २८ डिग्रीका बीच। नेपालको भने महिनैपिच्छे तापक्रममा उतार चढाव। अनि फरक अल्टिच्युड।
तापक्रम र अल्टिच्युडको महत्व कति हुन्छ भन्ने बुझ्न विश्वकप छनोट कपका हुन नसकेको 'राजनीति' केही समयअघिमात्रै हामीले भोगेका हौं।
विश्वकप छनोट अन्तर्गतको खेलमा कुवेत गएर अवे गेम खेलेको नेपालले ७-० ले हार्यो। दशरथ रंगशाला नबनिसकेकाले नेपालसँग मौसम मिल्दोजुल्दै भुटान खेल्दा नेपाल १-० ले मात्र पराजित भयो जवकि नेपालका रोजाइका ४ खेलाडी 'डिस्कोथेक काण्डले' खेलबाट बन्चित थिए।
'मौसम, खानाको हिसाबले पनि उताभन्दा यता धेरै फरक छ। नाइजेरियामा गर्मी छ। तर, अहिले त यस्तै मौसममा खेल्ने बानी परिसक्यो,' उनले भने।
६ महिनाको करारमा मछिन्द्र आएका फुर्तिला सोमिडे जारी लिगमा ६ गोल नै कटाउने लक्ष्यका साथ खेलिरहेका छन्। यस पटकको लिगमा उनले प्रतिद्वन्दीहरु बलिया भएको महसुस गरेका छन्। यसअघि उनले नाइजेरियाकै स्थानीय क्लब बाहेक भारतको गोकुलमबाट समेत खेलेका थिए।
एडिलेजामात्र होइनन्, उनीजस्तै धेरै अफ्रिकन खेलाडी 'ए' डिभिजन खेलिरहेका छन्।
मछिन्द्र क्लबका कप्तान विराज महर्जनसँग एडिलेजा जस्तै अरु अफ्रिकन खेलाडीहरुसँग सहकार्य गरेको लामो अनुभव छ। उनको बुझाइमा पहिलाको तुलनामा औशत खेलाडीमात्र नेपाल आउन थालेका छन्। एडिलेजा पनि त्यस्तै कोटीमा पर्छन्।
'उ मेहेनती छ अनि नेपाली खेलाडीहरुलाई पनि बुझ्छ, यो उसको खासियत हो,' कप्तान महर्जनले एडिलेजाबारे सुनाए। त्यसो त महर्जन उनको प्रदर्शनलाई औशत मान्छन्। क्षमता भए पनि त्यस अनुसार खेलमा उतार्न नसकेको उनको बुझाइ छ।
+++
जारी शहीद स्मारक 'ए' डिभिजनको उपाधि होडमा रहेका त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबले आलोपालो लिग लिड गरिरहेका छन्।
लिगमा विभागीय तीन टिमबाहेक लगभग सबैले विदेशी खेलाडीहरु भित्र्याएका छन्। विदेशी खेलाडीहरुले मैदानमा राम्रै प्रदर्शन गरिरहेका छन्। यद्यपि, बढी गोल गर्ने खेलाडीको सूचीमा भने यसपटक नेपाली खेलाडी नै हावी देखिन्छन्। महर्जनको मूल्याङ्कनमा औशतखाले विदेशी खेलाडी हुनु यसको कारण रहनसक्छ।
सन्तोष साहुखल जारी लिगमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दामाथि छन्। त्यसपछि पाँच र चार गोल गर्नेको सूचीमा पनि नेपालीकै दवदवा छ। त्यसपछिमात्र पालो आउँछ विदेशी खेलाडीहरुको। मछिन्द्रका एडिलेजा सोमिडे, सरस्वतीका कजिम बुसारीसँगै अजय मार्टिन्स, लाल रामर्भाले विशाल राई, अन्जन विष्ट, दर्शन गुरुङ, भरत खवाससँगै ३ गोल गर्नेको सूचीमा आफूलाई पुर्याएका छन्।
+++
शहीद स्मारक ए डिभिजन लिगका निर्देशक सन्जीव मिश्र विदेशी खेलाडीको प्रदर्शनले टिमको जित हारमा ठूलो फरक पार्ने बताउँछन्। खेलमा केही क्लबमा रहेका विदेशी खेलाडीले राम्रो प्रभाव छोडिरहेको उनको बुझाई छ।
‘एक दुईवटा क्लबमा विदेशी खेलाडी राखेर पनि उनीहरुको प्रभाव नदेखिएको होला तर, अधिकांशमा ३ विदेशी खेलाडीले ५ नेपाली खेलाडी बराबरको खेल खेलिरहेका छन्,’ उनले नेपाली खेलाडीसँग तुलना गर्दै भने।
त्यस्तै भनाइ छ विदेशबाट खेलाडी भित्राउने प्रमुख पात्र सुगन तण्डुकारको।
सगुनका अनुसार १/२ जना विदेशी खेलाडीले नै जितमा 'कि रोल' प्ले गरिरहेका छन्। 'नेपाली खेलाडीले राम्रो खेले उनीहरुको पनि राम्रो खेल देखिन्छ र नेपालीको प्रदर्शन फितलो देखिए उनीहरु पनि कमजोर देखिन्छन्,' तण्डुकारले उनीहरुको खेलको समीक्षा गरे, 'फुटबल टिम गेम हो।'
विदेशी खेलाडीको प्रभावबारे मिश्र र तण्डुकारको विश्लेषणसँग मछिन्द्रका कप्तान विराज महर्जन र भर्खरै सागमा स्वर्ण दिलाएका यू २३ टिमका प्रशिक्षक बालगोपाल महर्जनको राय भने विल्कुलै फरक छ।
‘जारी लिगमा विदेशी खेलाडीहरुको प्रदर्शन त्यति बलियो देखिएन। पहिला चाहिँ विदेशी खेलाडीले स्कोर निकाल्ने वा टिममाथि नै हावी हुने देखिन्थ्यो। त्यो अहिले छैन,’ प्रशिक्षक महर्जनको दावी छ।
मछिन्द्रका कप्तान विराजको धारणा पनि उस्तै छ। विराज अझ अफ्रिकन खेलाडीको व्यवहारबाट उति सन्तुष्ट सुनिएनन्। केही विदेशी खेलाडीप्रति उनले गुनासो नै गरे।
'केही विदेशी खेलाडी आफूले मौका पाएनन् भने अलि 'सेल्फिस' देखिन्छन्,' उनले भने, 'भनेको नटेर्ने र घमन्ड गरेर हिँड्ने खालका पनि।'
उनको टिममा रहेका एडिलेजा कस्ता छन् त?
'उ त्यस्तो चाहिँ छैन। सबैसँग मिलेर हाँसेर खेल्छ। गेम बिगार्यो भने चाहिँ अलि रिसाउँछ। अरुको तुलनामा राम्रो छ,' महर्जनले भने।
नेपालमा खेल देखाउन आएकाहरु पैसामुखि र व्यक्तिवादी सोचका हुने बुझाइ छ कतिपय खेल प्रशिक्षक र व्यवस्थापकहरुको।
'सय रुपैयाँका लागि दुईजना अफ्रिकन खेलाडीहरु आफूआफूमै झगडामा उत्रिएको देखेको छु,' विराजले पुरानो अनुभव सुनाए।
+++
लिगमा विदेशी खेलाडी ल्याउने प्रचलन नेपालमा नयाँ होइन। त्यसमा पनि अफ्रिकन खेलाडी ल्याउनेमा थ्री स्टार, मनाङ मर्स्याङदी, एनआरटी, ब्रिगेड ब्वाइज लगायतका क्लबहरु अगाडि छन्।
नेपालमा विदेशी खेलाडी ल्याउन भने बोइज युनियनले शुरु गरेको हो। उक्त क्ल्बले नेपाली फुटबलमा २०३२ सालतिर जर्मन खेलाडी ल्याएर खेलाएका थिए। पूर्व राष्ट्रिय खेलाडीसमेत रहेको फुटबल प्रशिक्षक मिलन हाडा आफूलाई मिति यकिन नभए पनि त्यतिबेल वोइज युनियन, एनआरटी जस्ता क्लबहरुले विदेशी खेलाडी खेलाएको सम्झन्छन्।
'ती खेल्नकै लागि भनेर प्रकृया पुर्याएर नेपाल आएका खेलाडीहरु चाहिँ हुँदैन थिए। कोही नेपाल स्थित राजदूतावासका। कोही नेपाल घुम्न आएका विदेशी हुन्थे,' हाडाले पहिलोपोस्टलाई सुनाए, 'उनीहरुले लिगमा भन्दा पनि अरु नकाउट खेलहरु खेल्थे।'
त्यस्तै, २०६२ सालबाट चाहिँ अफ्रिकी देश लगायतबाट खेलाडीहरु भित्रिने क्रम बढ्यो। त्यसबखत नेपाल आएका विदेशी खेलाडीमध्ये ब्रिगेड ब्वाइज क्लबले भित्र्याएका बिमिरो जुनियरले २७ गोल गर्दै लिगमा तहल्का मच्चाएका थिए।
त्यस यता लिगमा अफ्रिकन खेलाडीहरु भित्र्याउने प्रचलन बढ्यो। अहिलेसम्म आइपुग्दा अफ्रिकाबाट फुटबल खेल्नकै लागि नेपाल आउने खेलाडीहरु विभागीय टिमबाहेक अरुमा छन्। धेरैजसो टिममा विदेशी खेलाडीको प्रभाव प्रस्ट देखिन्छ।
कुनैबेला ब्रिगेड ब्वाइज क्लबबाट खेलेका ओबार्ट जुनियर, थ्री स्टारबाट खेलेका मुम्बारा, भिक्टर लगायतका खेलाडीले नेपालमा राम्रो छाप छाडेका थिए। अघिल्लो वर्ष नेपाल आएका क्यामरुनी टिम डल्फिनले मोफसलका लिग जित्दै राम्रो छाप छाडेको थियो।
कसरी आउँछन् अफ्रिकन खेलाडी नेपाल?
अफ्रिकन खेलाडीहरु व्यक्तिगत सम्पर्कका आधारमा नेपाल आउने गरेको थ्री स्टार क्लबका महासचिव सञ्जिब सिल्पाकार बताउँछन्।
शुरुवाती दिनमा अफ्रिकी टिमले नै नेपाल भिजिट गरेको थियो। अहिले चाहिँ नेपालमा आएर खेलिसकेका खेलाडीहरु नै नेपाली क्लबहरुसँग कुनै न कुनै माध्यमबाट सम्पर्कमा रहने शिल्पाकारले बताए।
मनाङका अध्यक्ष छिम्मी उर्गेन गुरुङका अनुसार कतिपय खेलाडीहरुले आफै सम्पर्क गर्ने र केही नेपालबाट खेलेर फर्किएका खेलाडीको माध्यमबाट सम्पर्कमा आउने गरेका छन्।
'२०६० सालदेखि हामीले विदेशी खेलाडी राख्न थालेको हो। केही खेलाडीहरु आफ्ना अफिक्री साथीको माध्यमबाट हाम्रो सम्पर्कमा आए,' गुरुङले भने, 'केही प्रोफाइल दिएर आफैँ सम्पर्कमा आइपुग्छन्। यस्तै राम्रै टिमबाट खेलिरहेका खेलाडीहरु ब्रेकको समयमा छोटो कन्ट्रयाक्टका लागि आउने पनि हुन्छ।'
पैसाका लागि नेपाल आउने एकथरी खेलाडी हुन्छन् भने अर्काथरी भने करिअर बनाउने हिसाबले भित्रिन्छन्। 'कम उमेर भएका खेलाडी आफ्नो प्रोफाइल राम्रो बनाएर युरोपेली क्लबमा इन्ट्री पाउने उद्देश्यमा हुन्छन्,' तण्डुकारले भने, 'उमेर धेरै भइसकेका खेलाडीहरु आफ्नो देशमा रिटायर भइसकेपछि नेपाल आएर खेल्ने पनि हुन्छन्।'
जावलाखेलबाट १५ नम्बरको जर्सीमा मैदानमा उत्रिने डाडी वाम्बा जुनियर क्यामरुनको यू १८ खेलिसकेको खेलाडी हुन्। त्यस्तै एनआरटीको १८ नम्बरको अनवान्जिनी जुनियर पनि राष्ट्रिय टिमकै यू १८ खेलेर आएको हुन्। 'नेपालको राम्रो मिडिया कभरेजले यिनीहरुलाई फाइदा छ, प्रोफाइल बनाउन,' उनले भने।
यी खेलाडीमध्ये केही आउँदो सिजनमा युरोपेली क्लबमा अनुबन्धन हुने दाउमा छन्। 'सम्भावना बोकेका युवा खेलाडीहरु युरोप साथै भारत र बंगलादेशी लिगमा आबद्ध हुन जाने मौका खोज्छन्,' तण्डुकारले भने, 'उमेर नाघिसकेका केही खेलाडी भने नेपालमा उमेर कम देखाएर लिग खेलिरहेका छन्।'
अफ्रिकी खेलाडीहरु खाली बस्नुभन्दा पनि थोरै मूल्यमै भए पनि काम गर्न रुचाउँछन्। त्यसमा पनि नयाँ ठाउँ घुम्ने रहरले पनि उनीहरुलाई यहाँसम्म खिच्छ।
'त्यहाँ ५० हजार डलर खाने खेलाडी खाली समयमा भने नेपाल जस्तो देशमा आएर ३ हजार डलरमा नै खेल्दिन्छन्। उनीहरु ट्राभल गर्न रुचाउँछन्,' उनले भने, 'खाली बस्नुभन्दा केही कमाइ होस भन्ने सोच्छन्।'
केहीलाई छाडेर जुन लेभलका खेलाडी नेपाल आउँछन् तिनीहरु आफ्नै देशमा 'बी' वा 'सी' डिभिजनमै पर्न संघर्षरत हुन्छन्।
'उनीहरुको टार्गेट चाहीँ भारत लगायतको देशको ठूलो लिग खेल्नु नै हो। तर, सिधै छिर्न सम्भव छैन। अनि विभिन्न च्यानलमार्फत् यहाँ आइरहेको हुन्छन्,' उनले भने, 'थ्री स्टार र मनाङबाट खेलेको डोडोज अहिले भारतीय क्लबबाट खेलिरहेको छ।'
पछिल्लो समय खेलाडी ल्याउन सजिलो छैन। कुनै पनि क्लबले खेलाडीलाई इन्भिटेसन लेटर पठाउनुपर्ने नियम छ। उक्त पत्र क्लबले एन्फालाई र एन्फाबाट खेलकुद परिषद र परिषदले खेलकूद मन्त्रालय पठाउनुपर्ने प्रकृया पूरा गर्नुपर्छ। उनीहरु नेपाल आएपछि श्रम विभागको स्वीकृति प्रकृया अघि बढ्छ।
सागको अस्तव्यस्तताले यही लामो प्रकृया ढिलाइ हुँदा केही टिमले शुरुमै विदेशी खेलाडी उतार्न पाएनन्। ढिलोगरीमात्र विदेशी खेलाडी लिगमा उत्रिए। त्यसैको असर हो राम्रै ठानिएका खेलाडीहरुले औशतमात्र प्रदर्शन गर्न सके।
'शुरुमा फ्रेन्डस् क्लबको खेलहरु मिलिरहेको थिएन। ब्राजिलियन खेलाडीहरु भित्र्याएर पनि जित निकाल्न सकेनन्। तर, पछिल्ला खेलहरुमा उनीहरु सेट हुँदै गएका छन्,' तण्डुकारले तत्काल खेलमा गतिलो प्रदर्शन गर्न नसक्नुको उदाहरण दिए।
यसपाला तण्डुकारकै सम्पर्कबाट १२ जना खेलाडी नेपाली टिममा भित्रिएका छन्। यहाँ गतिलो प्रदर्शन गर्ने खेलाडी र उसका साथीहरुलाई उपलब्ध गराउन तण्डुकारले 'चेन' नै खडा गरेका छन्। अर्को सिजनमा त्यही चेनबाट खेलाडी भित्रने बाटो विस्तार हुन्छ।
विदेशी खेलाडीको व्यवाहार कस्तो? मिल्छ नेपाली खानपान?
नेपाल आएका विदेशी खेलाडीको व्यवस्थापन सजिलो छैन। त्यसमाथि नेपाली खेलाडीले उनीहरुमाथि गर्ने टिप्पणी कडै हुने गर्छ। त्यसैले नेपाली र विदेशी दुवैलाई सन्तुलनमा राखेर खेलमा पर्फेक्सन दिनु कठिन नै हो।
'कोही एकदम राम्रा पनि हुन्छन्। कसैको खराब व्यवाहार पनि हुन्छ। जस्तो पनि फेस गर्नु परेको हुन्छ। नेपाली खेलाडी पनि त सोझा देखि खराब व्यवाहारसम्मका छन् नि,' थ्री स्टारका महासचिव शिल्पाकारले भने।
त्यस्तै अनुभव छ मनाङका अध्यक्ष गुरुङको पनि।
'खानपिनको कुरा गर्दा उनीहरुको मनाङेहरुसँग लगभग मिल्छ। उनीहरुलाई सुजीको ढिडो भए अरु केही चाहिन्न। त्यसले गर्दा खानपिनमा समस्या छैन,' अध्यक्ष गुरुङले भने, 'उनीहरुलाई यहाँको बारे सबै जानकारी पहिल्यै दिनुपर्छ। त्यसपछि समस्या हुँदैन। हामीसँग अहिलेसम्म अनुबन्ध भएका खेलाडीबाट नराम्रो व्यवहार भएको छैन।'
तण्डुकार पनि खानामा अफ्रिकन खेलाडीहरुसँग समस्या नहुने बताउँछन्।
'खानामा उनीहरुसँग खासै समस्या हुँदैन। यिनीहरुले भात पनि खान्छन। मुख्य चाहिँ ढिडो खान्छन्। त्यसैले सजिलो हुन्छ यिनीहरुसँग काम गर्न।'