PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

४६ वर्षीय ढुंगाना नेविसंघ नेतृत्वमा, भन्छन् ‘लोकतान्त्रिक पार्टीमा झडप हुनु ठूलो कुरो होइन’



प्रकाश भण्डारी

४६ वर्षीय ढुंगाना नेविसंघ नेतृत्वमा, भन्छन् ‘लोकतान्त्रिक पार्टीमा झडप हुनु ठूलो कुरो होइन’

काठमाडौं :  नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ ‌औं महाधिवेशन गर्ने म्याण्डेट सहित तदर्थ समिति गठन भएको छ। काँग्रेस सभापति देउवा निकट मानिने राजिव ढुंगानालाई तदर्थ समितिको अध्यक्ष बनाइएको छ। उनको काँधमा असन्तुष्ट पक्षलाईसँगै लिएर समयमा नै महाधिवेशन सम्पन्न गर्ने चुनौती छ। ४६ वर्षीय ढुंगानालाई अध्यक्ष बनाइएपछि उनको उमेरलाई लिएर विवाद नभएको पनि होइन। संगठनमा ३२ वर्षको उमेर हद उल्लंघन भएको आरोप लगाउँदै नेविसंघकै कुन्दन काफ्ले समुह असन्तुष्ट छ।यता, नवराज त्रिपाठीले आमरण अनशन स्थगन पछि नेविसंघको विवाद केहि मथ्थर देखिएको छ। 

आउनै लागेको स्ववियु निर्वाचन र १२ ‌औं महाधिवेशन तयारीमा ढुंगाना कस्ता योजना बनाउँदैछन् त ? यसै विषयमा पहिलोपोष्टले ढुंगानासँग गरेको कुराकानी।

नेविसंघको अध्यक्ष बन्नु भयो, संगठन संचालन गर्ने के  योजना बनाउनु भएको छ ?

नेपाली काँग्रेसले नेविसंघको जिम्मेवारी दिएको छ। मेरो मुख्य काम भनेकै नेविसंघको १२औं महाधिवेशन गर्ने हो। महाधिवेशन सम्पन्न गर्न नै मलाई संगठनमा पठाइएको हो। अब स्ववियु निर्वाचन पनि हुदैछ त्यसमा पनि नेविसंघलाइ कसरी जिताउने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्छ। अर्को मेरो काम भनेको अहिलेको सर्वसत्तावादी सरकारको भण्डाफोर गर्ने हो।

नेविसंघकै कुन्दन काफ्ले समुह असन्तुष्ट छ, कसरी मिलाउनु हुन्छ ?

हामी सबै साथी भाइ हौं। आमरण अनसनपनि तोडिएको छ। उनीहरुले पनि महाधिवेशनलाई सहयोग गर्छु भनेका छन्। अब लोकतान्त्रिक पार्टीमा विचार र समुह फरक फरक हुनु ठुलो कुरो भएन। उनीहरुसँग पनि भेट भइरहेको छ।

संगठनभित्र असन्तुष्ट रहेकाहरु सन्तुष्ट भए त ?

उनीहरुले महाधिवेशन गर्न सहयोग गर्छौ भनेका छन्। स्ववियु निर्वाचन पनि हुदैछ। त्यसलाई पनि मध्यनजर गरेर आमरण अनसन तोडिएको हो। यो सबै विषयलाई ध्यान दिएर अब नेविसंघ एक भएर स्ववियु निर्वाचनमा जाने कुरा भयो।

संगठनमा ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग उठिरहेको छ नि ?

यो माग कार्यान्वयन भइसक्यो। अहिले मलाई महाधिवेशन गर्ने जिम्मेवारी सहित अध्यक्ष बनाइएको हो नी। अबको १२ औं महाधिवेशनमा ३२ वर्ष माथिकालाई उम्मेद्वार नै बन्न दिदैनौं। यो भएपछि नेपाली कांग्रेसले नै बनाएको ३२ वर्षको उमेर हद कार्यान्वयन भइहाल्यो। खासगरी हामी मिलेर जाने नै हो।

तपाईको उमेरलाई लिएर पनि त विवाद छ नि होइन ?

मैले नागरिकता नै सच्याएर ३२ वर्ष भन्दा कमको हो भनेको छैन। म ४६ वर्षको भएँ। उमेरले केही फरक पर्ने होइन। मेरो काम भनेको महाधिवेशन गर्ने हो। पार्टीले एउटा परिपक्व मान्छे चाहिन्छ भनेर नै मलाई छानेको हो। लामो समयसम्म खटेको भएर नै म प्रति विश्वास गरेको हो।

स्ववियु निर्वाचनमा नेविसंघलाइ जिताउने योजना के छ?

निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले सिरियस हुनु पर्‍यो। सबै विद्यार्थी संगठनलाई छलफलमा बोलाएर सहमतिमा निर्वाचन कार्यताललिका ल्याउनु पर्छ भन्ने हाम्रो माग हो।

नेविसंघभित्रको असन्तुष्टी पार्टी कार्यालयमा देखियो। विद्यार्थीहरुबीच मुख्यालयमा नै झडपै भयो। यस्तो अवस्थामा चुनावमा असर पर्दैन ?

लोकतान्त्रिक पार्टीमा यतिको हुनु त्यति ठुलो कुरा भएन। अब हामी सब एक भएका छौं। यो गुट त्यो गुट भन्ने छैन्। समग्रमा नेविसंघलाई जिताउने हो। मेरो सम्पूर्ण ध्यान नै कसरी चुनाव जिताउने भन्ने मै हुनेछ। समग्रमा नेविसंघका साथीहरुको ध्यान निर्वाचन जित्नेमा नै केन्द्रित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell