कैलाली : कैलालीको लम्की क्षेत्र फेरी तनावग्रस्त बनेको छ। गत शुक्रवार राति कैलालीको लम्किचुहा नगरपालिका ६ मा मोटरसाइकल दुर्घटनामा परी लम्कीकै एक युवक मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको भने पनि मृतक युवकका आफन्त र स्थानीयहरूले राजमार्ग अवरुद्ध पारेको र प्रहरीले बल प्रयोग गरी राजमार्ग पुनः सञ्चालन गर्न खोज्दा लम्की तनावग्रस्त बनेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले राजमार्ग खुलाउन पहल थाल्दा प्रहरीमाथि ढुंङ्गामुढा भएको र केही राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको बताए।
ढुंङ्गामुढा प्रहारबाट १० जना प्रहरीलाई सामान्य चोट लागेको उनको भनाई छ। युवकलाई ठक्कर दिएको आशङ्कामा प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ। बल प्रयोग गरेरै भए पनि अहिले राजमार्ग क्षेत्र शान्त पारिएको उनको भनाई छ।