PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पाँच वर्ष अघि इबोला फैलिँदा अफ्रिकाबाट फर्किएकालाई राखिएको थियो टोखामा, चीनबाट फर्कनेलाई चाहिँ कुन ठाउँ?



विधुर ढकाल

पाँच वर्ष अघि इबोला फैलिँदा अफ्रिकाबाट फर्किएकालाई राखिएको थियो टोखामा, चीनबाट फर्कनेलाई चाहिँ कुन ठाउँ?

काठमाडौं : पाँच वर्षअघि पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसले नेपालीलाई पनि प्रभावित पार्‍यो। संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि खटिएका नेपाली सुरक्षाकर्मीहरु नेपाल फिर्ता ल्याइए। २०७१ साल असोज २९ गते र कार्तिक १२ गते नेपाल भित्रिएका शान्ति सेनामा खटिएकाहरुलाई नेपाली सेनाले टोखामा राख्यो - आइसोलेसनमा।

सैनिक प्रहरी गणमा राखिएका उनीहरुलाई २१ दिन निगरानीमा राखिएको थियो - कतै फर्किएका उनीहरुसँग इबोला त नेपाल भित्रिएन? तीन साता लामो आइसोलेसन बसाईपछि सबै सैनिक फर्किए। उनीहरुमा कुनै पनि समस्या देखिएन। सैनिक प्रहरी गण सम्भावित इबोला संक्रमितका लागि एक हिसाबले क्वारेन्टाइन नै बन्यो।

ठीक पाँच वर्षपछि यस्तै अवस्था आइलागेको छ। यतिखेर भने छिमेकी मुलुक चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसले नेपालीहरु पनि प्रभावित भएका छन्। अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या २ सयभन्दा माथि पुगिसकेको छ। मृत्यु हुने अधिकांश हुवेईकै छन्। त्यही प्रान्तमा अहिले १ सय ८८ नेपालीहरु पनि रहेका छन्, जसको चिन्ता उनीहरुको परिवारलाई मात्र होइन, सिंगो मुलुकलाई छ।

हुवेईमा रहेका नेपालीमात्र होइन चीनमा रहेका ८ हजार भन्दा धेरै नेपाली यतिखेर देश फर्किन चाहन्छन्। चीनमा संक्रमितहरुलाई 'आइसोलेसन'मा राखेर उपचार भइरहेको छ। त्यहाँ रहेका अधिकांश नेपाली पढ्नका लागि नै त्यहाँ पुगेका हुन्। उनीहरुलाई विश्वविद्यालयभित्रै रहन निर्देशन दिइएको छ, जोखिमबाट बच्नका लागि। त्यसैले उनीहरु फर्किन चाहेका छन्।

यता नेपाल सरकारले पनि अति प्रभावित हुवेई प्रान्तमा रहेका नेपालीहरुलाई उद्दार गर्ने प्रकृया अगाडि बढाइसकेको छ। त्यहाँ रहेका १ सय ८८ मध्ये १ सय ७७ जनाले हिजोमात्रै नेपाल फर्किनका लागि आवेदन फारम भरेका छन्। उनीहरुलाई ल्याउन सरकारले विमान चार्टर समेत गर्ने तयारी गरेको छ। यस्तो अवस्थामा ल्याइएका उनीहरुलाई कहाँ र कसरी व्यवस्थित गर्ने तयारी छ त?

के नेपाली सेनाले पाँच वर्ष अघि गरेको अभ्यास अहिलेको सन्दर्भमा जोडिएला? नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेलाई हामीले यही सोध्यौं। 'यस विषयमा पटकपटक छलफल भइसकेको छ,' पाण्डेले हामीलाई जवाफ दिए, 'नेपाली सेना अहिलेको यस्तो अवस्थालाई सामान्य बनाउने कार्यमा सक्रिय रहन्छ।'

उनले टोखा व्यारेकमा २१ दिन जसरी आइसोलेसनमा राखेर नेपाल फर्किएकाहरुको निगरानी गरियो, त्यसैगरी चीनबाट फिर्त ल्याइएकाहरुलाई व्यवस्था गर्नेबारे छलफल भइरहेको जानकारी दिए। 'स्वास्थ्य मन्त्रालयको नेतृत्वमा यस विषयमा छलफलहरु भइरहेको छ,' उनले भने, 'आइसोलेसन वार्डको आवश्यकता र त्यसका लागि चाहिने सामग्रीहरु के कस्तो हुने भन्नेबारे पनि कुरा भइरहेको छ।'

सामाजिक सञ्जालहरुमा चीनबाट फर्केका विभिन्न देशका नागरिकलाई विमानस्थलबाट नै औषधी स्प्रे गर्दै आइसोलेसनमा लगिरहेको दृष्य सार्वजनिक भइरहेको छ। पक्कै पनि नेपाल भित्र्याइने क्रममा चीनबाट उद्दार गरी ल्याइएकाहरुलाई त्यसैगरी आइसोलेसनमा राख्ने प्रकृया अपनाइने छ। तर, अहिले सम्म कुन ठाउँमा उनीहरुलाई राखिने भन्ने तय भने भइसकेको छैन। पाण्डेका अनुसार चार/पाँच ठाउँबारे छलफल भएको छ तर किटानसहित कुन ठाउँ भन्ने छनोट भइसकेको छैन।

नेपाली सेनालाई ४० देखि ५० जनालाई राख्ने ठाउँ खोज्न सरकारले निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयको अग्रसरतामा ल्याइएकाहरुलाई सुरक्षित रुपमा राख्नका लागि नेपाली सेना तयार रहेको उनले बताए।

ल्याइने नेपालीहरुलाई राख्न ट्रमा सेन्टरमा वेग्लै वार्डहरु राखिने छलफल पनि भएको छ। चीनबाट नेपाल ल्याइपुर्‍याउँदा संक्रमणको शंका भएकालाई ट्रमा सेन्टरमा छुट्याइएको वार्डमा उपचार गरिने तयारी छ। चीनबाट ल्याउँदा कुनै संक्रमणको संकेत देखिएन भने उनीहरुलाई आइसोलेसनमा राखेर दुई साता निगरानीपछि घर पठाउन सकिन्छ। त्यसैले यतिखेर आइसोलेसनका लागि कुन ठाउँ उपयुक्त हुनसक्छ भन्ने खोजीमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सरोकारवाला सबै निकाय जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell