
सप्तरी : सप्तरीको बोदे बर्साइनमा आज एउटा बोर्डर आउट पोस्ट (बिओपी) थपिएको छ। छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आज सुरक्षा बेसलाई स्तरोन्नति गरी बिओपी स्थापना गरिएको हो। जसमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी रहने छन्।
शान्ति सुरक्षा कायम हुने, सीमाको सुरक्षा थप मजबुत हुने, सीमा अपराध नियन्त्रण हुने र अवैध चोरी निकासी रोकिने विश्वासका साथ बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले बताए।
योसँगै सप्तरी जिल्लामा बिओपीको संख्या सात पुगेको छ। सरकारले देशभर ११४ वटा बिओपी थप गर्ने निर्णय गरेअनुसार सप्तरीमा तीन वटा बिओपी थप्न लागिएको हो। बोदे बर्साइनपछि बेल्ही र जोगिनियामा पनि बिओपी थपिने सशस्त्र प्रहरीले जानकारी दिएको छ।
भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा तीन वटा नयाँ बिओपी थपिए पछि बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ८.६ किलोमिटर रहनेछ। जनशक्ति थप हुँदै गएमा आवश्यकता अनुसार बिओपी थपिँदै जाने अर्यालले बताए।
प्रदेश नम्बर २ को आठवटै जिल्लाको दक्षिणतर्फ भारतसँग जोडिएको सिमाना ४६४ किलोमिटर लम्बाइ रहेको छ। प्रदेश २ को नेपाल भारत बीचको सीमा दूरीमा ५२ वटा बिओपी स्थापना भइसकेको र १७ वटा थप्न लागिएको उनले बताए।
नगर प्रमुख यादवले बिओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुगेमा भन्सार कार्यालय स्थापना गर्न पहल गरिने बताए। उनले वडा नम्बर ९ मा भवन निर्माण भएपछि बिओपी स्थान्तरण भए पनि हाल वडा नम्बर ५ बोदे बर्साइनमा समेत सुरक्षा बेस कायम राख्न आग्रह गरे।
भवन निर्माणका लागि बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीमा उपलब्ध भएको १० कट्ठा जग्गामा भवन निर्माण कार्य भइरहेको छ। बोदे बर्साइन नगरपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण कार्य सम्पन्न नभएकाले हाल सुरक्षा बेस रहेकै वडा नम्बर ५ मा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण विष्णुपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए। उनले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गरिने बताए।