
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहामले सविक विजेता म्यान्चेस्टर सिटीलाई हराएको छ।
टोटेनहामले घरेलु मैदानमा सिटीलाई २-० को गोल अन्तरले हराएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न चुकेको थियो।
खेलको ६० औं मिनेटमा सिटीका डिफेन्डर अलेक्सेन्डर जिन्चेन्को दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित सिटीमाथि टोटेनहामले खेलको ६३ औं मिनेटमा अग्रता बनाएको थियो। स्टेभेन बेर्गुइनले टोटेनहामका लागि अग्रता बनाएका थिए। फेरि ७१ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहामको अग्रता २-० मा पुर्याए। र, सिटीले गोल फर्काउन नसक्दा टोटेनहामले खेल २-० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै टोटेनहाम ३७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। तालिकाको दोस्रो स्थानमा रहेको सिटीको ५१ अंक छ। ऊ शीर्षस्थानको लिभरपुलभन्दा २२ अंकले पछाडि छ।