_केन्द्रीय_कमिटी_दोस्रो_पूर्ण_बैठक_(1)3.jpg)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानीको राष्ट्रिय सभा गृहमा चार दिनसम्म चल्यो। बैठकमा केन्द्रीय सदस्यहरुले सरकारदेखि पार्टी सञ्चालनको समेत आलोचना गरे। आइतवार सकिएको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ।
बैठकको निर्णयमा तत्कालीन माओवादीको सशस्त्र संघर्षलाई जनताबाट सञ्चालित भन्नेदेखि इरान अमेरिकाको युद्धको विषय समेटिएका छन्। कोरोना भाइरसको नियन्त्रण, भारतले जारी गरेको राजनीतिक नक्साको विषय पनि समेटिएको छ।
कार्यालय बनाउन कार्यकर्ताबाट पैसा
बैठकले पार्टी कार्यालय निर्माणका लागि सदस्यबाट एक दिनको आय वा तलब बराबरको रकम उठाउने निर्णय गरेको हो। नेकपाले शुभेच्छुकहरुलाई समेत पैसा दिन आग्रह गरेको छ।
तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्ने पनि निर्णयमा उल्लेख छ।
राष्ट्रिय स्वाधीनता
बैठकले १० वर्षे सशस्त्र आन्दोलनलाई जनताद्वारा सञ्चालित भनेर सम्बोधन गरेको छ। शहीदप्रति श्रद्धाञ्जली उल्लेख गर्दै उनीहरूको बाटो पछ्याउने निर्णय गरेको छ। केन्द्रीय कमिटीले २०७५ फागुनमा मृत्यु भएका रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी तथा २०७६ जेठमा निधन भएका धनिराम पौडेललाई श्रद्धान्जली दिएको छ।
सापकोटालाई बधाई र चुनावको समीक्षा
प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएकोमा अग्नि सापकोटालाई बैठकले बधाई दिएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भएका नेकपाका सबै सदस्य तथा नेकपासँगको सहकार्यमा विजयी राष्ट्रिय जनता पार्टी, नेपालका सदस्यहरूलाई पनि बैठकले बधाई दिएको छ।
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट विजयी हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू एवं स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई पनि बैठकले बधाई दिएको छ।
निर्वाचन परिणामले नेकपालाई राष्ट्रिय राजनीतिको मुख्य, निर्णायक र लोकप्रिय शक्तिका रूपमा रहेको तथ्य पुष्टि गरेको निष्कर्ष पनि बैठकले निकालेको छ।
बैठकले भक्तपुर, धरान, भरतपुर लगायतका स्थानको पराजयलाई अनपेक्षित भनेको छ।
सीमा-नाकामा उच्च सतर्कता
तीव्र गतिमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेको कदमको बैठकले प्रशंसा गरेको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट सुरक्षित गर्न विमानस्थल लगायत सीमा-नाकाहरूमा उच्च सतर्कता अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरू लगायत नेपाली नागरिकलाई आपतकालीन उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।
यस्तै इरान, इराकलगायतमा देखा तनाव रोकिनुपर्ने पार्टीको मान्यता भएको निर्णयमा उल्लेख छ। बैठकले तनाव बढाउने कुनै पनि गतिविधि नगर्न अमेरिका इरान दुबैलाई आग्रह गरेको छ।
युद्ध क्षेत्रमा दश लाखभन्दा बढी नेपालीहरू कार्यरत रहेको र नेपालीहरूको सुरक्षा नेपालको सर्वोपरि चासोका विषय भएको भन्दै बैठकले नेपालीको सुरक्षाका लागि सबै खाले कूटनीतिक पहललाई तीव्र पार्न सरकारको ध्यानाकर्षण गराएको छ।
राजनीतिक नक्सा अमान्य
बैठकले २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सा अमान्य भएको ठहर गरेको छ।
ऐतिहासिक नक्सा, प्रमाण र दस्ताबेजहरूका आधारमा ती भूभाग नेपालको भएको नेकपाको दाबी छ। एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने पनि नेकपाले चेतावनी दिएको छ।
देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदम सही रहेको जोड दिँदै पार्टीले सरकारको समर्थन गर्ने निर्णय गरेको छ।
विभिन्न स्थानमा सिमाना र दशगजा मिचिएको र नेपाली भूभागमा भइरहेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न पनि सरकारलाई बैठकले निर्देशन दिएको छ।
सन्तानलाई शिक्षा
बैठकले सवारी साधनहरूको नियमन र सडक सुरक्षा तथा अनुशासनको कडाइका साथ पालना गर्न/गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाहरूको शिक्षादीक्षा र जीवनयापनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि बैठकले गराएको छ।