
काठमाडौं : आइसिसी वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकी क्रिकेट टिम नेपाल आइपुगेको छ। नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टिम नेपाल आइपुगेको हो।
तयारीका लागि मुम्बईमा रहेको अमेरिकी टिम आइतवार बेलुकी नेपाल एयरलाइन्सबाट काठमाडौं आएको हो। टिमको स्वागतार्थ नेपाल एयरलाइन्सले 'अमेरिकी टिमलाई स्वागत' लेखेको थियो।
नेपाल क्रिकेट एशोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अमेरिकी टिम सोल्टी होटलमा बस्नेछ। मुलपानी मैदानमा अभ्यास खेल खेल्ने छ। ओमनको टिम पनि आजै नेपाल आइपुग्ने चन्दले बताए।
शौरभ नेत्रभाल्करको कप्तानीमा रहेको अमेरिकी टिमले मुम्बईमा तीन अभ्यास खेल खेलेको थियो।
लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपाल बाहेकका अरु देशहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।
अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। ८ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डको ९, नामिबियाको ८, ओमनको ८ र युएईको ७ अंक छ। पपुवा न्यूगिनी अंकविहीन छ।
प्रतियोगितामा ६ खेल हुनेछन्। माघ २२ देखि २९ सम्म हुने सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
अमेरिकी टिम
शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन