PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बिजुलीमा भारतकै भर, यसपटक झनै बढ्यो आयात



अमर बडुवाल

बिजुलीमा भारतकै भर, यसपटक झनै बढ्यो आयात
फाइल फोटो

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भारतबाट ५ अर्ब रूपैयाँको विद्युत आयात भएको छ। विद्युत माग बढेअनुसारको स्वदेशी उत्पादन नथपिँदा भारतसँगको निर्भरता नघटेको हो। 

चालु आर्थिक वर्षको पहिलो ५ महिना (जुलाई- डिसेम्बर २०१९) मा भारतबाट ५ अर्ब ६ करोड ८१ लाख रूपैयाँको विद्युत आयात भएको छ। गत वर्षको सोही अवधिमा भने ४ अर्ब ८३ करोड ५२ लाख रूपैयाँको मात्र विद्युत आयात भएको थियो। जुन गत आर्थिक वर्षको तुलनामा २३ करोड रूपैयाँ बढीको विद्युत आयात भएको हो।

नेपाल विद्युत प्राधिकरणका अनुसार गत आर्थिक वर्षको पहिलो ५ महिनामा ४ अर्ब ८३ करोड रूपैयाँको ५४ करोड ७५ लाख युनिट विद्युत भारतबाट आयात गरिएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब ६ करोड रुपैयाँको ६१ करोड ८१ लाख युनिट विद्युत आयात भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

विगतमा प्रतिवर्ष २०/२० अर्ब रूपैयाँको विद्युत आयात हुने गरेको थियो। चालु आर्थिक वर्षमा पनि विद्युत आयातको ग्राफमा त्यति धेरै फरक नआउने अहिलेको तथ्यांकले देखाउँछ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १९ अर्ब १० करोड ८६ लाख रूपैयाँको दुई अर्ब ४३ करोड ५८ युनिट विद्युत आयात भएको थियो। गत आर्थिक वर्षमा भने २२ अर्ब ७० करोड रूपैयाँको दुई अर्ब ७७ करोड ४९ लाख युनिट विद्युत आयात भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा ३५ करोड युनिट र साढे तीन अर्ब रूपैयाँ बढी भुक्तानी भएको थियो।

विद्युत थपिए पनि आयात घटेन

गत वर्षको तुलनामा यो वर्ष १५० मेगावाट हाराहारी विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिए पनि भारतसँगको परनिर्भरतामा भने कुनै फरक परेको छैन। विद्युत उत्पादन थपिए पनि वर्षायाममा बाढी र पहिरोका कारण सबै आयोजनाले उत्पादन नदिँदा भारतबाट आयात हुने विद्युतको हिस्सा नघटेको प्राधिकरणले जनाएको छ।

अहिले राष्ट्रिय प्रसारण प्रणालीमा करिब साढे ११ सय मेगावाट विद्युत जडित क्षमता छ। गत वर्ष यो समयमा एक हजार मेगावाट हाराहारी मात्रै जलविद्युत उत्पादन क्षमता थियो।

करिब १५० मेगावाट विद्युत थपिएपनि भारतबाट आयात हुने विद्युतको हिस्सा भने वर्षायामकै सिजनमा पनि बढेको छ।

वर्षामा बढी हुने र हिउँदमा नपुग्ने समस्या

चालु आर्थिक वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युतसहित करिब एक हजार मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने पक्का छ।

तर अहिले आउन लागेका जलविद्युत आयोजनामा माथिल्लो तामाकोशी अर्धजलाशययुक्त आयोजना भएपनि अरू सबै नदी प्रवाहमा आधारित जलविद्युत आयोजना रहेकाले हिउँदमा विद्युत आयात पूर्णरूपमा हटाउन नसकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन्।

नेपालसँग जलाशययुक्त आयोजनाको अभाव रहेकाले अझै केही वर्ष हिउँदमा भारतीय विद्युतकै भर पर्नुपर्ने छ। वर्षायाममा भने सबै आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्ने भएकाले विद्युत उत्पादन बढी हुने अवस्था आउनेछ। त्यसका लागि प्राधिकरण अहिले विद्युतीय चुल्होदेखि विद्युतीय गाडीसम्मको प्रवर्द्धनमा लागि रहेको अधिकारी बताउँछन्।

अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकाले नेपालमा वर्षामा बिजुली बढी हुने र हिउँदमा अपुग हुने समस्या अझै केही वर्षसम्म रहिरहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell