PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एक दशकमै इसेवा 'नामै काफी छ' कसरी बन्न सक्यो?



पहिलोपोस्ट

एक दशकमै इसेवा 'नामै काफी छ' कसरी बन्न सक्यो?

काठमाडौं : कलेज सकेपछि विश्वास ढकालले आफ्ना केही सहपाठीलाई साथमा लिएर सन् २००४ मा एफ वान सफ्ट कम्पनीको सुरुवात गरे। कम्पनीले सुरुवाती दिनमा वेबसाइट बनाउने र डोमेन दर्ता गर्ने काम गर्दथ्यो। त्यसका लागि उनलाई डलर चाहिन्थ्यो, जुन रकम उनले विदेशमा भएका आफन्त साथीभाइको पेपाल अकाउण्ट प्रयोग गरेर पूरा गर्थे।

विदेशको अकाउण्ट, नेपालबाट चलाएर डोमेन रजिष्टर गर्न मिल्ने अनलाइन सुविधाले विश्वासलाई पनि लोभ्यायो। उनलाई नेपालमा पनि यस्तै सुविधासहितको नेपाली पेपाल बनाउने 'भूत' चढ्यो। अनि ११ सुरू भयो इसेवाको यात्रा। सन्दर्भ हो ११ वर्ष अघिको।

ठीक त्यतिबेला नेपाल टेलिकम पनि बिस्तारै डिजिटल बन्दै थियो। प्रिपेड मोबाइल सेवाको सुरुवातपछि देशव्यापी बनेको टेलिकमले इन्टरनेट सेवा विस्तारका लागि एडीएसएल सेवा पनि सुरुवात गरेको थियो।

ल्याण्डलाइन, पोस्टपेड मोबाइल र एडीएसएल इन्टरनेट सबैका बिल तिर्न सेवाग्रही टेलिकमको कार्यालयमै पुग्नुपर्थ्यो। त्यहाँ लामो लाइन हुन्थ्यो, घण्टौं समय लाग्थ्यो। काउण्टरमा हुने भिड घटाउन टेलिकमले आफ्नो बिलको भुक्तानी बैंकका काउण्टरबाट समेत लिन थाल्यो।

विश्वासको टिमले यही व्यवस्थाभित्र बिजनेस अपर्चुनिटी देख्यो। उनीहरूले टेलिकमको बिल तिर्ने व्यवस्थालाई अनलाइन गर्न बैंक अफ काठमाण्डूमा प्रस्ताव लिएर गए। बैंक अफ काठमाण्डूबाट अनलाइन बिल भुक्तानी गर्ने र त्यो सेवामा अरू बैंकलाई इन्टिग्रेट गर्ने योजना टीमको थियो।

तर, टेलिकमले अनलाइन भुक्तानी सुविधा त दिने तर एउटै बैंकमा अरूलाई इन्टिग्रेड गर्न नदिने भयो। सबै बैंकले छुट्टाछुट्टै रूपमा काम गर्नुपर्ने भयो।

+++

एफ वान सफ्टमा एकजना एन्जेल इन्भेष्टर थिए, पवनरत्न तुलाधर। उनको बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसँग राम्रो चिनजान थियो। तुलाधर एक दिन विश्वासलाई लिएर बस्नेतकहाँ पुगे।

बस्नेतले 'बुद्ध एयरको टिकट अनलाइन किन्न मिल्ने सिस्टम बनाउन सक्छौ?' भन्दै विश्वासलाई सोधे।

'किन नसक्ने?' विश्वासले जवाफ दिए।

बस्नेतले विश्वासलाई पाँच लाख रूपैयाँको चेक हातमा थमाइदिए।

+++

इसेवाको सिस्टम त तयार भएको थियो, तर त्यसमा पैसा कहाँबाट लैजाने समस्या थियो। सुरूमा अनलाइन कारोबारका लागि बैंक अफ काठमाण्डू (बिओके) उत्साहित थियो। अनलाइन कारोबारको मोड्युल तयार भएपछि त्यसलाई बैंकको आइटी टिमले परीक्षण गरे। तर, 'केही कारण'ले बिओकेले यसमा सहभागी नहुने जनाउ दियो। सन् २००८ देखि बिओकेसँग सुरू भएको छलफल २००९ मा आएर 'ब्रेक' भयो।

बिओके इसेवाको अनलाइन कारोबारबाट ब्याक भएपछि इसेवाको टिम लक्ष्मी बैंक पुग्यो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले टिमलाई सपोर्ट गरे।

लक्ष्मी बैंक सन् २००९ मा इसेवाको सेटलमेन्ट बैंक बन्यो। अब लक्ष्मी बैंकमा खाता हुनेहरूले त्यहाँबाट पैसा इसेवाको खातामा सार्न मिल्ने भयो। जोशीले सँगसँगै इसेवाको टीमलाई ५० लाख रूपैयाँ ऋण दिएर प्रोजेक्ट फाइनान्सिङ पनि गरिदिए।

अनि मोबाइल रिचार्ज

इसेवाको अकाउण्टमा लक्ष्मी बैंक हुँदै पैसा आउने वातावरण बनेपछि टिमले डिल्लीबजार कालिकास्थानमा सानो अफिसमा इसेवाको अनलाइन सेवाको सुरु गर्‍यो। टिमले टेलिकमका रिचार्ज कार्ड किन्ने, त्यसलाई घोटेर एक्सेल सिटमा राखेर इसेवाको सिस्टममा अपलोड गर्ने र कसैले मोबाइल रिचार्ज गर्‍यो भने त्यहाँबाट भुक्तानी हुने व्यवस्था मिलायो।

उनीहरूले बिजुली र खानेपानीको बिल तिर्ने पनि सेवा सुरू गरे। त्यसका लागि अघिल्लो दिन पैसा जम्मा गर्ने अनि भोलिपल्ट बिजुली र खानेपानीको काउण्टरमा लगेर भुक्तानी गर्ने थाले। सँगसँगै उनीहरूले बुद्ध र यती एयरलाइन्सको टिकट पनि काट्न थाले। इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको बिल तिर्न मिल्ने पनि बन्यो। सन् २००९ जनवरी २५ तारिखका दिन र्‍याडिसन होटलमा पत्रकार सम्मेलन गरेर इसेवाको औपचारिक सुरूवातको घोषणा भयो।

जसले इसेवामा कारोबार गरिरहेका थिए, उनीहरु ढुक्कसँग थिए, तर नयाँ ग्राहक भने इसेवामा सोचेजति 'अन बोर्ड' भइरहेका थिएनन्। यही क्रम सन् २००९ देखि २०१२ सम्मका तीन वर्ष चल्यो।

एकपटक डिजिटल वालेटमा सारेको पैसा पुनः बैंकमा नफिर्ने प्रणाली नेपालमा छैन। त्यसैले डिजिटल वालेट सेवा यहाँ बैंकका प्रतिस्पर्धी नभइ सहयोगीको भूमिकामा छन्।

+++

ग्राहक आधार बढाउन क्यासब्याक

त्यसपछि इसेवाले आफ्नो रणनीतिमा परिवर्तन गर्‍यो। उसले इसेवामा ठूलो कारोबार गरिरहेका ग्राहक खोज्यो। ती ग्राहक साइबर सञ्चालक थिए। उनीहरूले आफूकहाँ आएका टेलिकमका ग्राहकका लागि इसेवाबाट रिचार्ज गरिदिन्थे। यसबाट उनीहरुले दुई प्रतिशतको अतिरिक्त क्यास ब्याक पाउँथे।

इसेवाले ती ग्राहकलाई प्रिमियम सेवा दिएर एजेण्ट मोडलमा जाने निर्णय गर्‍यो। एजेण्टको संख्या बढाउन थाल्यो। साइबर व्यापार विस्तारै सुस्ताउँदै जाँदा उनीहरूले इसेवाको प्रयोग बढाउन थाले। त्यससँगै पिसिओ चलाउने र बसको टिकट काट्नेहरू पनि इसेवाको एजेण्ट बन्न थाले।

एजेण्टले इसेवामा आफ्नो व्यापार बढाइरहेका थिए, त्यसको प्रभाव सब्स्क्राइबरमा पनि पर्न थाल्यो। सब्स्क्राइबरले पनि एकातर्फ इसेवालाई विश्वास गर्न थाले भने अर्कोतर्फ अनलाइन वित्तीय कारोबारमा उनीहरूलाई कन्फिडेन्स पनि आउन थाल्यो।

सन् २०१२ मा इसेवाको सेटलमेन्ट बैंक पनि फेरियो। लक्ष्मी बैंकको ठाउँमा नबिल बैंक सेटलमेन्ट बैंक बन्यो भने इसेवामा पैसा लोड गर्न र झिक्न मिल्नेगरी अरू बैंक पनि जोडिँदै गए। यसले कारोबारको भोल्युम पनि बढ्न थाल्यो। रिचार्ज कार्ड घोटेर एक्सेल सिटमा अपलोड गर्नुपर्ने नेपाल टेलिकमले पनि पिन नम्बर नहाली मोबाइलमा ब्यालेन्स थप्न मिल्ने इ-टपअप ल्यायो।

इ-टपअपमा हुने खर्च घटाउन पाएपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक रिचार्जमा बोनस दिन थाल्यो। सँगसँगै निजी क्षेत्रको अर्को मोबाइल सेवा प्रदायक एनसेल पनि एग्रेसिभ रूपमा बजारमा आयो। यसै समयमा डिटिएच सेवाप्रदायक डिसहोमले पनि सेवा विस्तार गर्दै थियो।

विस्तारै इसेवाबाट बिजुली र खानेपानीको बिल भुक्तानी, मोबाइल, इन्टरनेट र डिसहोम लगायतका सेवाको टपअप, बस र प्लेनको टिकट, स्कुल कलेजका फि, क्रेडिट कार्ड र इएमआईको भुक्तानी, इन्स्योरेन्सको प्रिमियम र फिल्मका टिकट पनि काटिन थाले।

स्मार्टफोनसँगै सबैको हातमा

सन् २०१२ पछिका तीन वर्ष कम्पनीको वृद्धि अति उत्साहित रह्यो। कारण बजार जुन चिजका लागि तयार थियो, एफवान सफ्टले प्रविधि पनि त्यसैअनुसार बनाउँदै जान थाल्यो।

'सन् २००९ मा फोनबाट इसेवा चलाउँदा एसएमएस सिन्ट्याक्सबाट सञ्चालन हुन्थ्यो, यसमा इसेवा अपरेट गर्न अलि कठिन पनि थियो,' एफवान सफ्टका सिइओ सुवास शर्माले भने।

तर, जब स्मार्ट फोन व्यापक हुन थाल्यो, त्यसलाई एफवान सफ्टले भरपूर प्रयोग गर्‍यो। सन् २०१४ मा गाउँगाउँसम्म स्मार्टफोन पुगेको थियो तर इन्टरनेट पुगेको थिएन।

'हामीले इसेवा स्मार्ट फोनबाट अपरेट हुने तर त्यसको कमान्ड एसएमएसबाट जाने बनायौं, त्यो हाम्रा लागि लिप-फरवार्डको काम थियो,' उनले भने।

तर, त्यही बेला आएका इसेवाका केही प्रतिस्पर्धी कम्पनी भने अहिले बजारबाट करिब करिब हराएका छन्। कारण उनीहरू बाहिरको प्रोडक्टलाई ल्याउँथे, जुन प्रोडक्ट नेपालीका लागि फिजिवल हुँदैन्थ्यो। तर, इसेवामा भने नेपालको मार्केट जेका लागि तयार हुन्थ्यो, टोली त्यही आवश्यकता पूरा गर्नेगरी प्राविधि तयार गर्दथ्यो।

'हाम्रो सफलताको एउटा कारण यो पनि हो,' इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने।

त्यसैको परिणाम इसेवा पनि इन्टरनेट, एसएमएस हुँदै मोबाइल एप्ससम्म पुग्यो।

प्रडक्टबाट सब्सिडरी कम्पनी

सुरुमा इसेवालाई सफ्टवेयर कम्पनी एफ वान सफ्टको एउटा प्रोडक्टका रूपमा विकसित गरिएको थियो। कम्पनीले अन्तर बैंक कारोबार बढाउँदै लगेपछि त्यसलाई एफ वान सफ्टको प्रोडक्टबाट सब्सिडरी कम्पनीमा रूपान्तरण गरियो र सन् २०१२ मा कम्पनीको नयाँ नाम बन्यो 'फोन पे प्रालि,' अनि इसेवा त्यसको प्रोडक्ट।

सन् २०१५ मा नेपाल राष्ट्र बैंकले अनलाइन वित्तीय कारोबारलाई नियमन गर्न थाल्यो। राष्ट्र बैंकले अनलाइन कारोबारलाई पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) र पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) मा विभाजन गर्‍यो। इसेवाले पनि आफ्नो कारोबारलाई त्यसैअनुसार छुट्यायो।

वालेट बेस्ड सेवा सञ्चालन गर्नका लागि कम्पनीले पेमेन्ट सर्भिस प्रोभाइडरका रूपमा आफूलाई इसेवा फोन पे प्रालिमा रूपान्तरण गर्‍यो। अनि राष्ट्र बैंकबाट पीएसपी सेवाको लाइसेन्स पनि लियो। पीएसओ अन्तर्गत हुने अन्तर बैंक कारोबारका लागि सन् २०१९ मा कम्पनीले फोन पे पेमेन्ट सर्भिस प्रालि दर्ता गर्‍यो।

फोन पेले क्युआर कोड पेमेन्टमार्फत् पान पसलदेखि किराना पसलसम्म, मोमो पसलदेखि ठूला रेष्टुरेण्टसम्मलाई जोडिरहेको छ। यो कारोबारमा देशका करिब करिब सबै बैंक, विकास बैंक, फाइनान्स र सहकारी जोडिएका छन्।

+++

२५ लाख ग्राहक

कुनै समय नयाँ एकजना ग्राहक जोडिँदा पनि खुशी हुनुपर्दथ्यो। तर, अहिले ग्राहक सञ्जालका आधारमा इसेवासँग दुईवटा टेलिकम कम्पनीपछि देशभरमा सबैभन्दा धेरै अर्थात् २५ लाख ग्राहक छन्। त्यसमध्ये सात लाख एक्टिभ (जसले कम्तिमा तीन महिनामा एकपटक भए पनि कारोबार गर्छन्) ग्राहक छन्। इसेवाका ७५ हजार एजेण्ट छन् र ती देशका ७ सय ५३ वटै स्थानीय तहमा छरिएका छन्।

इसेवाबाट अहिले दैनिक १० करोड रूपैयाँभन्दा बढीको मर्चेन्ट पेमेन्ट हुन्छ भने दैनिक तीन लाखवटा कारोबार 'हिट' हुन्छ। टेलिकम, इन्टरनेट, डिटिएच सेवाको कारोबारमध्ये झण्डै २५ प्रतिशत टपअप इसेवाबाट हुन्छ भने विद्युत-खानेपानी जस्ता युटिलिटीको २० प्रतिशत भुक्तानी पनि इसेवाबाटै हुन थालेको छ।

इसेवामार्फत् अहिले १२ सयभन्दा बढी विद्यालयको शुल्क भुक्तानी गर्न सकिन्छ भने अनलाइन कारोबार गर्न मिल्ने करिब करिब सबै सेवाको भुक्तानी गर्न मिल्ने गरी सिस्टम डेभलप भएको छ। यी सबै सेवा ह्याण्डल गर्न मात्रै इसेवासँग चार सय जनाभन्दा बढीको जनशक्ति छ।

प्रत्येक वडामा १० एजेन्ट

विश्वास ढकाल, सुवास शर्मा, असगर अली र सुभाष सापकोटा लगायतका युवा टीमले दशकअघि इसेवाबाट सुरुवात गरेको अनलाइन कारोबार अहिले पेमेन्ट उद्योगका रूपमा विकसित भएको छ। र, यस उद्योगमा इसेवा र फोन पेसँग प्रतिष्पर्धा गर्नेगरी दर्जन ठूला कम्पनी सञ्चालनमा छन्।

'हामीलाई कुनै समय मोनोपोली गरेको आरोप लाग्थ्यो,' इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटा भन्छन्, 'तर हामीसँगै प्रतिस्पर्धा गर्नेगरी दर्जन कम्पनी सञ्चालनमा आउँदा पनि हाम्रो कारोबार प्रभावित भएको छैन।'

कारण के त? बजार मोनोपोली हुँदा पनि इथिकल बिजनेस गर्नु र ग्राहकलाई विश्वसनीय सेवा दिनुलाई उनी आधार मान्छन्।

उनी त्यसलाई पुष्टि गर्दै भन्छन्, 'सन् २००९ मा पनि हामी मोबाइलको बिल तिर्दा दुई प्रतिशत क्यास ब्याक दिन्थ्यौं, अहिले २०२० मा मोबाइल टप गर्दा पनि दुई प्रतिशत क्यास ब्याक दिएकै छौं।'

'प्रतिस्पर्धामा दर्जन कम्पनी भए पनि आजका दिनमा फेरि पनि हाम्रा लागि प्रतिस्पर्धा भनेको नगद कारोबारमा नै हो,' इसेवाको प्यारेन्ट कम्पनी एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, 'अहिले पनि नेपालको कूल कारोबारको ९५ प्रतिशत भुक्तानी नगदमा छ।'

प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट नेपालमा दैनिक जम्मा १४ करोड रूपैयाँको भुक्तानी हुन्छ। झण्डै त्यति नै बराबरको डिजिटल माध्यमबाट, बाँकी सबै भुक्तानी नगदमा हुन्छ। नगदलाई निरुत्साहित गरेर पाँच प्रतिशतमा रहेको डिजिटलाइज्ड भुक्तानीलाई सन् २०२० भित्र २० प्रतिशतसम्म पुर्‍याउन कम्पनीले डिजिटल ट्वान्टी-ट्वान्टीको अवधारणा अघि सारेको छ।

'लक्ष्य कठिन छ, तर इसेवाको व्यवस्थापनले तय गरेको त्यो लक्ष्यलाई भेट्ने गरी हामीले काम गरिरहेका छौं,' सिईओ सापकोटाले भने। त्यही योजना अन्तर्गत हरेक स्थानीय तहको प्रत्येक वडामा कम्तिमा १० जना एजेण्ट बनाउने महत्वाकांक्षी योजनामा अहिले इसेवाले काम गरिरहेको उनले बताए।

त्यही कारण कम्पनीले इसेवा वालेटसँगै फोन पेलाई पनि आक्रामक रूपमा अघि सारेको छ। वालेटमार्फत् मर्चेन्ट पेमेन्टमा जोड दिइएको छ भने फोन पेमार्फत् पेमेन्ट प्रोसेसिङमा जोड दिइएको छ।

बैंकका सहयोगी

यही विषय अहिले कतिपय बैंकका लागि 'भैंसी देख्दा जोगी तर्सने र जोगी देख्दा भैंसी तर्सने' जस्तो भएको छ। 'तर हामी बैंकका प्रतिस्पर्धी होइनौं, हामी उनीहरुका सहयोगी मात्रै हौं,' एफ वान सफ्टका सिइओ शर्माले भने। उनले त्यसका लागि चीनको उदाहरण दिँदै नेपाललाई तुलना समेत गरे।

चीनमा डिजिटल वालेट सेवा साँच्चिकै बैंकका प्रतिस्पर्धी हुन्, कारण एकपटक बैंकबाट पैसा वालेटमा सर्‍यो भने त्यो वालेट टु वालेटमा सर्कुलेशन हुन्छ, त्यो पैसा बैंकमा फर्कँदैन, कारण अलिपे र वीच्याट जस्ता सेवाले आफ्नो इकोसिस्टमलाई त्यसरी विकास गरेका छन्।

तर नेपालमा भने एकपटक वालेटमा पुगेर मर्चेन्ट पेमेन्ट भएपछि त्यो पैसा अर्को वालेटमा बैंकबाटै सार्न पर्छ। 'हामीले वालेटलाई मात्रै फोकस गरेको भए सायद् हामी बैंकका प्रतिस्पर्धी हुन सक्थ्यौं होला, तर हामीले फोन पेमार्फत् पेमेन्ट गेटवेलाई पनि प्रवर्द्धन गरिरहेका छौं। त्यसैले हामी उनीहरुका सहयोगी हौं,' सिइओ शर्माले त्यसको व्याख्या गरे।

उनले बरू बैंकहरूका तर्फबाट फोन पे इसेवाको प्रतिष्पर्धी भएको बताए।

'हाम्रो मुख्य ध्यान भनेको डिजिटल कारोबारलाई बढाउने हो,' उनले भने, 'डिजिटल कारोबारको जति ठूलो केक तयार हुन्छ, हामीले त्यही औशतमा ठूलो हिस्सा खान पाउँछौं। त्यसैले हामी आफैलाई आफैले प्रतिस्पर्धी थपेर काम गरिरहेका छौं।'

'इसेवा होस् वा फोन पे, ग्राहक सेवा खोज्दै आउने होइन, ग्राहकको हातमा सेवा पुग्नुपर्छ भन्ने मान्यतामा कम्पनीले आफूलाई अघि बढाएको छ,' कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, 'सायद हामीले बितेको १० वर्षमा कमाएको ख्याति पनि त्यही हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell