PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना भाइरसको शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहीन



विष्णु गौतम

कोरोना भाइरसको शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहीन
पोखराको अस्पताल। इन्सेटमा भने चीनमा सचेत भएर यात्रा गरिरहेको जोडी।

पोखरा : गत साता पोखरामा कोरोना भाइरस संक्रमणको अनुमान गरिएका दुई जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्। गत माघ ११ गते बेलुकी एक पुरुष र एक महिलामा सिजनल फ्लू देखिएको थियो।

फ्लूको लक्षण र उनीहरुको भनाइलाई आधार मान्दै पोखरा लेकसाइडमा रहेको स्वाकन इन्टरनेसनल हस्पिटलका मेडिकल अफिसर डाक्टर दिपेन्द्र थापाले बिरामीका चीनमा रहेका डक्टरसँगको परामर्शपछि उनीहरुलाई कोरोना भएको आशंकासहित मनिपाल शिक्षण अस्पतालमा तत्कालै रिफर गरेका थिए। तर, मनिपाल रिफर भएपछि अस्पतालले त्यसको बारेमा यकिन तथ्यांक नदिँदा उनीहरु कहाँ र कस्तो अवस्थामा  छन् भन्ने कुनै सूचना थिएन।

सोही विषयमा समाचार प्रकाशन गरेपछि यसबारे विश्व स्वास्थ्य संगठनले चासो दिएको थियो। 

समाचारलाई आधार मान्दै विश्व स्वास्थ्य संगठन गण्डकी प्रदेश प्रतिनिधि राजिव लालचनले यो विषयमा फलोअप गरे पनि उनीहरुको बारेमा केही जानकारी नभेटिएको पहिलोपोस्टलाई जानकारी दिए।

उनले भने, ‘समाचार आएपछि हामीले यस विषयमा खोजी गरेका हौं तर हाम्रो जानकारीमा सिजनल फ्लू मात्रै भएको भन्ने आयो अरु कुनै खबर छैन।’

पटकपटक ताकेता र फलो अप गर्दा पनि मनिपाल अस्पतालले यसको बारेमा कुनै जानकारी विश्व स्वास्थ्य संगठनका प्रनिधिलाई दिएन। अन्ततः स्वाकन इन्टरनेसनल हस्पिटल लेकसाईडमा रहेको तथ्यांकका आधारमा ती विदेशीको पासपोर्टको फोटोकपी विश्व स्वास्थ्य संगठनले लिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार मनिपालले पनि राम्ररी यसको बारेमा कुनै जानकारी नभएको भन्दै टारेको थियो।

अधिकृत आचार्यले भने, ‘हामीले समाचारको आधारमा फलो अप गरेका हौं तर मनिपालबाट पनि उनीहरुको बारेमा यकिन सूचना आएन।’

शंका गरिएका चिनियाँहरु अहिले कहाँ छन् भनेर प्रहरीले मोबाइल ट्र्याकिङ गरेको भए पनि पत्ता लगाउन नसकेको समेत अधिकृत आर्चायको भनाइ छ।

उनले भने, ‘हामीले एक दिन पूरै खोज्यौँ तर भेटिएन। देश बाहिर गए कि यहीँ छन् यस विषयमा इमिग्रेसनसँग पनि सहकार्य गरेर खोजी गर्छौँ।’
उनीहरुको उपचारमा संलग्न डाक्टर दिपेन्द्र थापाका अनुसार उनीहरुमा देखिएको सबै लक्षण हेर्दा पूर्ण रुपमा टिपिकल कोरोनाकै थियो। तर परीक्षणको रिर्पोटले प्रमाणित नगरेसम्म कोरोना भन्न नमिल्ने उनले बताए। उनका अनुसार माघको ११ गते आइतवार बेलुकी उनीहरु भर्ना हुने बित्तिकै कोरोना भएको अनुमान गर्दै उनीहरुलाई जानकारी गराएको र बिरामी चिनियाँ जोडीले पनि चीनमा उनीहरुको डाक्टरलाई फोन सम्पर्क गरेका थिए।

डाक्टर थापाले भनेका छन्, ‘चीनको डाक्टरसँग मैले भएको कुरा डिटेल भनेपछि कोरोना नै भएको हुन सक्ने अनुमान गर्दै चीनका डाक्टरले अलि ठूलो अस्पतालमा रिफर गरिदिनुस् भने पछि मैले मनिपाल रिफर गरेको हो।’

त्यो जोडी चीनको युयान प्रान्तबाट तीन हप्ता अगाडिमात्रै नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयको हिजोसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरसको शंका गरिएका ५ जनामध्ये एक जनामा मात्रै त्यसको लक्षण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell