PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संसदमा कोरोना भाइरसकै चर्चा, ‘चीनबाट आलु ल्याए जसरी मान्छे नल्याउँ’



पहिलोपोस्ट

संसदमा कोरोना भाइरसकै चर्चा, ‘चीनबाट आलु ल्याए जसरी मान्छे नल्याउँ’
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल (बायाँ) र सांसद गजेन्द्र बहादुर महत (दायाँ)।

काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला विश्वव्यापी चर्चामा छ। आजको प्रतिनिधि सभा बैठकमा पनि कोरोना भाइरसको संक्रमणबारे छलफल भएको छ। आजको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबारे संसदमा ब्रिफिङ गरे।

कानुनमन्त्री समेत रहेका ढकालले अहिलेसम्म १८० नेपाली विद्यार्थीले चीनबाट नेपाल आउनका लागि इच्छा राखेको बताए। उनीहरुलाई नेपालमा ल्याएर सुरक्षित साथ राख्नको लागि उचित स्थानको खोजी भइरहेको बताए। नेपालमा १३ जनाको परीक्षण गरेको र सबैको रिपोर्ट नेगेटिभ भएको उनले सुनाए।

‘ल्याएका व्यक्ति १४ दिनसम्म एक्लै बस्नुपर्ने हुन्छ। यहाँ आउनुभन्दा अगावै चीनले परिक्षण गर्ने कुरामा स्पष्ट हुन पनि आग्रह गर्दछु,’ उनले भने।

कोरोना भाइरसविरुद्ध चीनको योजनाको उनले प्रशंसा पनि गरे।

उनको ब्रिफिङपछि सांसद दिव्यमणी राज भण्डारीले सोधे, ‘यो आइसोलेसन क्याम्प क्वारेन्टाइन गर्न सरकारले निर्णय गर्न किन यत्रो समय लगायो। चीनमा १० दिनभित्र १ हजार बेडको हस्पिटल बन्यो। यहाँ छलफलमै बस्ने?’

उता सांसद मोहम्मद इस्तियाक राईले नेपालले अध्ययन र अनुसन्धान मात्रै गरिरहेको र नियन्त्रणको विषयमा थाहा नभएको बताए। उनले सांसदहरुले उठाएको प्रश्नको जवाफ पनि दिए।

दिलेन्द्र प्रसाद बडुले संक्रमण पहिचान भएको भए नेपाल ल्याउनु नहुने बताए। पुष्पा भुसाल गौतमले कोरोना भाइरसको विषयमा सरकार गम्भिर नभएको आरोप लगाइन्।

सांसद गजेन्द्र बहादुर महतले चीनबाट आलु ल्याए जसरी मान्छे ल्याउनु नहुने बताए। संक्रमित व्यक्ति ल्याउँदा ख्याल गर्न उनले सुझाए।

अधिकांश सांसदहरुले सरकारले चासो नदिएको बताए। प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चीनमा रहेका विद्यार्थी ल्याउने कुरामा सरकारले विलम्व नगर्ने आश्वासन दिए। मन्त्री ढकालले कोरोना भाइरस चीनमा उत्पन्न भएको र नेपालमा त्यसबारे छलफल गर्नुलाई अन्यथा लिनु नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell