PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अनिल सिंहको 'प्रेम पत्र' विवादमा, जीवन खतरामा रहेको अनिलको दाबी, वंशल भन्छन्,'उहाँको आरोप निराधार'



मन्दिरा खत्री

अनिल सिंहको 'प्रेम पत्र' विवादमा, जीवन खतरामा रहेको अनिलको दाबी, वंशल भन्छन्,'उहाँको आरोप निराधार'

'कोरेर मायाको दुई शब्द तिमीलाई मेरो यो प्रेम पत्र' ..

अनिल सिंहको प्रेम पत्र गीत सार्वजनिक भएपछि युवाहरुमाँझ सो गीत निकै चर्चित बन्यो। म्युजिक भिडियोको प्रचलन बढेको बेला प्रभा अमात्यको निर्देशनमा बनेको उक्त भिडियोले सिंहको चर्चा चुलियो। गीतको अडियोसँगै भिडियो पनि आयो जसलाई धेरैले रुचाए।

अनिल सिंहको नाम स्थापित बनाउनमा उनको यो गीतले निकै सहयोग गरेको थियो।   

गीत चल्न गाह्रो अवस्थामा उनको गीतहरु भने ब्याक टू ब्याक हिट भएका थिए। डुब्न देउ मलाई तिम्रो केसमा,' 'इन्जिन गाडीमा', 'आइ लभ यू', 'वील यू म्यारी मी', 'मैले जानी सकेँ', 'अर्काकी तिमी', 'प्रेमिका...' उनका गीतहरु लगालग हिट भए।

तर पछिल्लो समय सिंह संगीत क्षेत्रबाट एकाएक गुमनाम बने।

अहिले फेरि उनै सिंह आफ्नो चर्चित गीत 'प्रेम पत्र'कै कारण चर्चामा छन्।

**

'प्रेम पत्र र परी' गीतको म्यूजिक भिडियो अधिकार वर्षौंदेखि अरुले अनाधिकृत रुपमा प्रयोग गरेको आरोप लगाउँदै सिंहले आफ्नो ज्यान खतरामा रहेको उल्लेख गरेका छन्।

फेसबुकमा सिंहले लेखेका छन् 'माइ लाइफ इज इन डेन्जर।'

के कारणले अनिलको ज्यान खतरामा पर्‍यो ?

'प्रेम पत्र र परी' गीतको म्यूजिक भिडियोको बारे अधिकार अरुले लिएको र आफूलाई अन्धकारमा राखिएको दाबी अनिलको छ। पहिलोपोस्टसँग कुरा गर्दै अनिलले वास्तविक्ता थाहा पाएपछि असुरक्षति महसुस गरेको र त्यसपछि फेसबुकमार्फत कुरा सार्वजनिक गरेको बताएका छन्।  

'म अहिले आफूलाई असुरक्षित महसुस गरिरहेको छु। मेरो अनुमति बिना नै म्युजिक डट कमले मेरो गीतहरु बिक्री वितरण गर्दै आएको रहेछ। अहिले म्युजिक डट कमसँग मेरो विवाद चलिरहेको छ। यहि विषयमा म्युजिक डट कमका सञ्चालक राजेश वंशलसँगकुरा गर्ने क्रममा भनाभन हुँदा मैले धम्कीको महसुस गरें। त्यसैले फेसबुकमा स्टाटस लेख्यो भने चाहि सुरक्षित हुन्छु कि भन्ने हिसाबले यो स्टाटस लेखेको हो', उनले भने।

सन् २००४ देखि म्युजिक डट कमले आफ्नो गीत ब्रिक्री बितरण गर्दै आएको भएपनि आफू यस विषयमा अन्जान रहेको अनिलको दाबी छ।

'२००४ देखि म्युजिक डट कमले 'गायक' नामक एल्बममा समावेश प्रेम पत्र र परी गरी मेरो दुईवटा गीत बजारमा बिक्री वितरण गर्न थालेको रहेछ। तर, मलाई यस विषयमा उहाँहरुले केही पनि भन्नु भएको थिएन', उनले भने '२०१७ तिर जब हामीलाई यसको बारेमा थाहा भयो हामीले यसबारे छानविन शुरु गर्‍यौं। किनभने त्यो गीत त न म्युजिक डट कमको हो न म्युजिक नेपालको हो। त्यो त मेरो र नितान्त रुपमा इन्द्रेणी क्यासेट सेन्टरको थियो।पछि कुरा बुझदै जाँदा म्युजिक डट कमले चाहि राइट्स लिनु भएको रहेछ।'

अनिलले आफूलाई अडियो राइट्स दिएको देखाएर इमेज च्यानलसँग जाल झेल गरेर भिडियो निकालि बेचिएको आरोप समेत लगाएका छन्।

'म्युजिक नेपाल, म्युजिक डट कम, इमेज च्यानल र इन्द्रणी क्यासेट सेन्टरको मिलेमतोमा यो सबै भएको रहेछ', उनले भने।

तर, जालझेल गरेको आरोप लगाएका म्युजिक डट कमका सञ्चालक राजेश वंशालले भने सिंहले लगाएको आरोपको खण्डन गरेका छन्।

'हामीले नै गायक अनिल सिंहसँग नै उक्त गीतको राइट्स खरिद गरेका थियौं।' वंशालले भने 'धरै अगाडी हामीले उहाँसँग यो एल्बम खरिद गरेका थियौ।'

अनिललले भने सो गीतमा आफ्नो मात्र अधिकार रहेको दाबी गर्दै आएका छन्।

सम्झौता पत्र किन च्यातेको ?

अनिलले फेसबुकमा आफूले मेघाहर्ज एल्बमको सम्झौता पत्र भूलवस् च्यातेको दाबी समेत गरेका छन्। सम्झौता च्यातिएकोमा आफू दोषी भएकोले कानून बमोजिम कारवाही हुनुपर्ने सिंहको राय छ।

'एल्बमको सम्झौता पत्र च्यात्नु अपराध हो भने आफू कानुन बमोजिम सजाय भोग्न तयार छु। होइन भने पनि मेरो गीत गैर कानुनी ढंगले ब्रिकी बितरण गर्नेलाई कानुन बमोजिम सजाय दिनु पर्छ' उनले भने।  

अनिलका अनुसार ‌आइतबार उनी म्युजिक नेपालको कार्यालयमा यसै विषयलाई लिएर मिटिङमा थिए। त्यहीँ नै आक्रोशमा उनले सम्झौता पत्र च्यातेको दाबी गरेका छन्।

'मेरो हातमा सम्झौता पत्र थियो। मैले आवेशमा सम्झौता पत्र च्यातिदिए। मैले नक्काली सोचेर सो पत्र च्यातेको थिएँ। तर त्यो सम्झौता पत्र सक्कली रहेछ। मैले पत्र च्यातेर एउटा ठुलो अपराध गरेकै हुँ।'

प्रेम पत्र म्युजिक भिडियोबाट स्क्रिनसट

तर, म्युजिक डट कमका सञ्चालक वंशालले अनिलको दाबीमा सत्यता नभएको बताउँछन्।

'अनिलले स्टाटसमा सक्कली सम्झौता पत्र च्यातेको उल्लेख गरेका छन्। तर च्यातिएको सम्झौता पत्र सक्कली होइन त्यसको फोटो कपी मात्र थियो।'

वंशलले सिंहले फोटोकपीलाई सक्कली सम्झौता पत्र भनेर उल्लेख गरेकोमा आशर्चरय समेत व्यक्त गरेका छन्।

'हामीसँग नै छ सक्कली सम्झौता पत्र त।' उनले भने।

अनिलले सामाजिक संजाल र युटयुबमा भिडियो अपलोड गरेर भिडियो आफैले निर्माण गरेको दाबी समेत गरेका छन्।

तर, प्रेमपत्र म्युजिक भिडियो इमेज च्यानलले नै निर्माण गरेको राजेशको दाबी छ।

'सम्झौता पत्रमा हामीले कागज गरेको कुरा मात्र राखेका छौं। हामीले त्यस्तो कागजमा अधिकार नभएको कुरा सम्झौता पत्रमा केही राखेका छैनौं', उनले भने।

अब कसरी मिल्छ त यो विवाद ?

'मैले मेरो र राजेश सरको सम्पूर्ण सम्झौता पत्र रद्द गरिसकेको छु। अब दश पन्ध्र दिनपछि फाइनल हुन्छ',  अनिलको दाबी छ।

सिंह कानून अनुसार राजेशले आफूलाई मुद्दा हाल्न वा गलत गरेकाले सजायँ भोग्न तयार हुनु पर्ने बताउँछन्।  

'अहिले त म्युजिक नेपाललाई मैले चेतावनीमात्रै दिएको छु। अबको दिनमा चाहि म्युजिक नेपाल र म्युजिक डटकमले पहिलेको जस्तै गरेर मेरो गीतहरु गैर कानुनी ढंगले बिक्री वितरण गर्न पाँउदैन्।'

वंशलले भने दुवै पक्ष मिलेर यस विषय हल गर्ने बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell