PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा



रासस

आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा
फाइल फोटो।

काठमाडौं : आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधवारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।

राजधानीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो। आइसिसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताए। मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उनले उल्लेख गरे।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। उनले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गरे। मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उनको भनाइ थियो।

क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो। नेपालले बुधवार उद्घाटन खेल ओमानसित खेल्दैछ।

सिरिज जित्ने दाउमा तीन कप्तान

पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताए। उनीहरुले आफ्नो टोली बलियो रहेको दावी गरे। कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताइ।

घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उनको भनाइ थियो। पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उनी बताउँछन्। कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताए। यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गरे।

अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ विजयी

अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ विजयी भएको छ। नेपालले उक्त खेल ३७ रनले जितेको हो। मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ ले ब्याटिङ गर्दै १११ रन बनायो। ११२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो।

नेपालले पहिला ब्याटिङ गर्दै ३३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए। यस क्रममा उनले पाँच चौका हाने। त्यस्तै पवन सर्राफले १९ रन बनाए। बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले दुई दुई विकेट लिए।

यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाए। बलिङतर्फ नेपालका शेर मल्लले चार, सागर ढकालले तीन तथा पवन शर्राफले दुई विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell