PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रोडम्याप टु वर्ल्डकप : नेपाली क्रिकेटको ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ परीक्षा



मुकुन्द घिमिरे

रोडम्याप टु वर्ल्डकप : नेपाली क्रिकेटको ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ परीक्षा

बुधवारबाट आइसिसी वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज शुरु हुँदैछ। नेपालले एक दिवसीय क्रिकेट (ओडिआइ) मा अहिलेसम्मकै ठूलो इभेन्ट आयोजना गर्दैछ।

यसअघि नै लिग २ अन्तर्गतका खेलहरु खेलिसकेका ओमन र अमेरिकासँग घरेलु मैदानमा फाइदा लिने दाउमा छ नेपाल।

नेपालको लागि चुनौती र अवसर दुवै छ। ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ पनि।

विश्वकपको रोडम्यापका रुपमा लिइएको वर्ल्डकप लिग २ मा घरेलु मैदानबाट सिरिज खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो। त्यसमा पनि नेपाली क्रिकेट समर्थकले पहिलो पटक घरेलु मैदानमा नेपालको ओडिआइ खेल हेर्नेछन्। चुनौती यसअर्थमा छ कि घरेलु मैदानमा दुई बलिया टोलीको सामना गर्दैछ नेपालले। दुवै टिम स्तरीय छन्। र, जित्नुपर्ने चुनौती छ नेपाललाई।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल आफूहरु हाल दबाब लिने भन्दा पनि खेलका लागि उत्साहित रहेको बताउँछन्।

‘हाम्रो तयारी राम्रो छ। दबाब लिएका छैनौं बरु उत्साहित छौं। घरेलु मैदानमा यो हाम्रो पहिलो ओडिआइको अनुभव पनि त हो,’ मल्लले नेपालको सबल पक्षबारे भने, ‘हामीलाई घरेलु मैदान र समर्थकको पनि साथ रहनेछ।’

नेपालले आयोजना गर्न गइरहेको त्रिकोणात्मक सिरिजले मैदानमा मात्र नेपालको परीक्षा हुनेछैन। 'अफ दी फिल्ड' ,भर्खरै निलम्बनबाट सशर्त फुकुवा भएर आएको नेपाल क्रिकेट संघ क्यानको पनि परीक्षा गर्नेछ।

निलम्वन फुकुवा गरेर आइसिसीले आफ्ना क्रियाकलापमाथि नजर लगाइरहेको बुझेको छ क्यान नेतृत्वले। त्यसैले त्रिकोणात्मक सिरिज सफल बनाउन जोडबलका साथ लागेको छ क्यान।

क्यानका सचिव अशोकनाथ प्याकुरेल अन्तिम समयमा मात्रै प्रतियोगिता हुने निश्चित भएयता पनि क्यानले तयारीमा कुनै कसर बाँकी नराखेको दाबी गर्छन्। उनी निलम्वन फुकुवा भएको यति छोटो समयमै यस्तो ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु क्यानका लागि ठूलो अवसर भएको बताउँछन्।

‘पहिलो पटक ओडिआइ सिरिज आयोजना गर्ने मौका पाएका छौं। यो हामीले आफूलाई प्रमाणित गर्ने मौकासमेत हो,’ प्याकुरेलले भने ‘क्यान भर्खरै स्थापित भएको अवस्थामा फन्डिङ लगायतका क्षेत्रमा अझै सबैकुरा मिलिसकेको छैन। आइसिसीले यो प्रतियोगिता हामीलाई आयोजनाको मौका दिनु नै पनि ठूलो उपलब्धि हो।’

बुधबारबाट आयोजना हुन गइरहेको सिरिज नेपालले आयोजना गर्न नसकेको खण्डमा ‘अप्सनल प्लान’ बारे आइसिसीमा छलफल चले पनि यसलाई ‘अप्सनल’ ठाउँमा पुर्‍याउन नदिनु पनि ठूलो उपलब्धि भएको उनले बताए।

उनले प्रतियोगिताका सबै तयारी सकिसकेको बताउँदै खेलमैदानको पिचदेखि सबै पक्ष आइसिसीसँगको समन्वयमा भएको बताए।

प्रशिक्षकको राजीनामाले ल्याएको तरङ्ग

बुधबारबाट सिरिज शुरु हुँदैछ। सोमबार नेपालका मुख्य प्रशिक्षकले राजीनामा दिएको विषयले चर्चा पायो। आइसिसीबाट क्यान निलम्वन फुकुवा नहुँदै नियुक्त भएका मुख्य प्रशिक्षक उमेश पटवाल यो त्रिकोणात्मक सिरिज सकिएसँगै प्रशिक्षकबाट बाहिरिने निर्णय गरेको बताइएको छ।

यसबारेमा क्यान नेतृत्वले आफूहरु बेखबर रहेको बताउँदै आएको थियो। मंगलबार क्यान अध्यक्ष चतुरबहादुर चन्दले पहिला नै पटवालको राजीनामा बारे जानकार रहेको आशयमा खेलाडीहरुलाई यो प्रतियोगितामा त्यसको असर नपर्ने स्पस्ट पारे।

‘केही चर्चाहरु आए पनि हामी खेलाडीको मनोबलमा असर नपर्ने गरी काम गरिरहेका छौं।’ अध्यक्ष चन्दले भने।

क्यानका प्रवक्तासमेत रहेका प्याकुरेल भने यो विषयमा धेरै खुल्न चाहेनन्। पटवाललाई क्यानले भन्दा पनि आइसिसीले नियुक्त गरेकाले आइसिसीले यसमा जवाफ दिने भन्दै पन्छिए।

‘२ हप्ताअघि इमेल पाएका थियौं। उहाँले हामी निलम्वनमै रहेको बेला आइसिसीले नियुक्त गरेको हुनाले आइसिसीबाट नै यसको जवाफ उपयुक्त होला,’ प्याकुरेलले भने।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल पनि अहिले आफ्नो ध्यान प्रतियोगितामा भएको भन्दै पन्छिए। उनले भने, ‘उहाँले केही समय अघि टिमसँग केही कुरा त गर्नुभएको थियो। तर अहिले त्यसमा भन्दा पनि प्रतियोगितामा हाम्रो ध्यान छ।’ मल्लले भने।

सुरक्षाको कुरा

त्रिदेशीय खेल आयोजना हुँदै गर्दा सुरक्षा चासो त बढी हुन्छ नै। अझ खेलको क्रममा पनि सुरक्षा चुनौती बढेर जान्छ। यसअघि पनि अमेरिकाको नेपालमा खेल हुँदा दर्शकले अभद्र व्यवाहार गरेपछि खेल प्रभावित बनेको थियो। अझ आइसिसीले छानविन नै गर्नुपर्ने लज्जास्पद अवस्था आएको थियो।

सुरक्षाको मामिलामा यसपटक आफूहरु सचेत रहेको सचिव प्याकुरेल बताउँछन्।

‘सुरक्षा निकायहरुसँग समन्वय गरेका छौं। वहाँहरुले विदेशी खेलाडीहरु आएदेखि नफर्किउन्जेलका लागिसम्म प्लान बनाउनु भएकै छ,’ उनले भने। सुरक्षाकै लागि मैदान छेउमा नेपाल प्रहरी र प्राइभेट सेक्युरिटी तथा बाहिर सशस्त्र प्रहरी तैनाथ हुने प्याकुरेलले बताए।

विदेशी टिम

ओमन र अमेरिकाले पनि नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि राम्रो तयारी गरेको बताएका छन्। नेपाल आउनु अघि अमेरिकाले मुम्बईमा ३ वटा अभ्यास खेलहरु खेलेको थियो। ओमनका कप्तान जिसान मक्सुद पछिल्लो छ महिना यता लिग २ कै तयारीमा जुटेको बताउँछन्।

‘हामीले पछिल्लो समय राम्रो खेलेका थियौं। पछिल्लो ६ महिना यता लिग २ का लागि तयारी गरिरहेका छौं,’ उनले नेपालमा क्रिकेटबारे कुरा गर्दै भने, ‘सन्दीपले राम्रो गरिरहेका छन्। पारसको पनि राम्रो छ। यहाँको समर्थकको भीडबारे पनि हामीलाई थाहा छ। भीडले हामीलाई दबाब सिर्जना त गर्न सक्छ तर त्यसका लागि हामी तयार छौं,’उनले भने।

त्यस्तै अमेरिकी कप्तान सौरभ नेत्रभाल्कर प्रतिस्पर्धी दुवै टिम बलियो भएको बताउँछन्।

‘हामीले राम्रो तयारी गरेका छौं। हाम्रो भन्दा फरक अवस्था छ यहाँ। घरेलु मैदानमा नेपाल विरुद्ध खेल्न कठीन त हुनेछ नै। हामी हाम्रो बेस्ट दिेनेछौं’ उनले भने।

ओमन टोली

जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलीमुल्लाह,बिलाल खान

अमेरिकी टोली

सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजबंशी

वैकल्पिक खेलाडी: पवन सर्राफ, सुवास खकुरेल, सुन्दिप जोरा, किशोर महतो

अफिसियल:

म्यानेजर: ऋषिराम गौतम, कोच: जगत टमाटा, एसिस्टेन्ट कोच: बसन्त शाही, फिजियो: विक्रम न्यौपाने, एनालिस्ट: रमन शिवाकोटी

त्रिकोणात्मक सिरिजको खेल तालिका अनुसार माघ २२ गते नेपालले ओमनको सामना गर्नेछ भने माघ २३ गते ओमन र अमेरिकाबीच खेल हुनेछ। यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमनसँग प्रतिस्पर्धा गर्नेछ।

माघ २८ गते अमेरिका र ओमन र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ।

लिग २ विश्वकप पुग्ने रोडम्याप हो जसमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्। अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ।

लिग २ मा प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट शुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यो बीचमा १२६ वटा खेलहरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell