PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कोरोना भाइरसले फेरिएको दृश्य : क्यान्टिन र परीक्षा हल उस्तैउस्तै, 'आफ्नो भागमा हेर्नुस् नजिककोमा नहेर्नुस्।'



पहिलोपोस्ट

कोरोना भाइरसले फेरिएको दृश्य : क्यान्टिन र परीक्षा हल उस्तैउस्तै, 'आफ्नो भागमा हेर्नुस् नजिककोमा नहेर्नुस्।'

वसन्त पर्व (स्प्रिङ फेस्टिवल) सकेर चिनियाँहरु काममा फर्किन थालेका छन्। नोवल कोरोना भाइरसको महामारीका कारण यसपटकको वसन्त पर्व उत्साहपूर्ण रहेन्। धेरै चिनियाँहरु घरमै बन्द भए। कतिपय आफ्नो घर पनि पुग्न सकेनन्।

काममा साथीभाई जम्मा भएर क्यान्टिनमा खान भने अझै पनि त्रासको अवस्था छ। नोवेल कोरोना भाइरसविरुद्धको लडाईँका लागि एक पछि अर्का संस्थाहरुले नयाँ नयाँ नियम लगाउन थालेका छन्। यस्तोमा कम्पनीका क्यान्टिन पनि अछुता छैनन्। कम्पनीपिच्छे नियम फरक भए पनि एउटा साझा सिद्धान्त भने कायम राखिएको छ, 'एक अर्कादेखि अलग'।

चाइना डेलीका अनुसार क्यान्टिनमा खाना खाने कामदारहरु पनि अलगअलग बसेर खान थालेका छन्। क्यान्टिनका दृश्यहरु फेरिएका छन्। चिनियाँ सामाजिक सञ्जालहरुमा यस विषयमा चर्चासँगै तस्विरहरु सेयर हुन थालेका छन्। क्यान्टिनका दृश्यहरुमा एउटा टेबलमा एउटा मात्र मानिसले खाइरहेका छन्। एक अर्काको निकट सम्पर्कलाई रोक्न पनि एउटा टेबलबाट अर्को टेबल कम्तीमा दुईदेखि तीन मिटरको दूरीमा राखिएका छन्।

कतिपय कम्पनीमा एक अर्काको विपरीत मुख पारेरमात्र खान दिइएको छ। यस्ता दृश्यले मानिसहरुमा आफ्नो स्कुले जीवनको झल्को दिइरहेको छ। परीक्षाका बेला एउटा टेबलमा एक जनामात्र बसेर परीक्षा दिएका उनीहरु यतिबेला खाना खाने बेला त्यस्तै महसुस गरेका छन्। चिनियाँ सामाजिक सञ्जालहरुमा ह्यासट्याग नै चलेको छ, 'क्यान्टिनमा खानुस् परीक्षाको अनुभव गर्नुस् #eat in canteen, Feel like exam#'। चिनियाँ माइक्रो ब्लगिङ साइटमा मंगलबार अबेरसम्म २७० मिलियन पटक यसको प्रयोग भएको चाइना डेलीले जनाएको छ।

'आजको लागि विषय: खाने, 'मानिसहरुले ह्यासट्याग प्रयोग गर्दै सटिक क्याप्सनसहित तस्विर पोस्ट गरेका छन्, 'एउटा टेबलमा एक व्यक्ति मात्र। एक अर्कादेखि तीन मिटर पर। कुराकानी बन्द। सकिएपछि निस्किहाल्नुस्। कम्पनीको क्यान्टिन र परीक्षाको कक्षा कोठामा एउटामात्र भिन्नता भनेको पेपरमात्र।'

अर्को तस्विरमा लेखिएको छ, 'आफ्नो भागमा मात्र हेर्नुस् नजिककोमा नहेर्नुस्।'

आफ्नो खानामा रमाउनुस्। शान्त रहनुस्।

कुरा गर्नु चिट गर्नु हो र यसले तिम्रो अंक घटाउँछ

'आजको विषय खानु हो? म यसमा अब्बल छु र मैले १०० अंक प्राप्त गर्नेछु!'

यी र यस्तै क्याप्सनसहित तस्विरहरु पोस्ट भएका छन्।

झट्ट हेर्दा यो यी दृश्यहरु मजाक देखिन्छन्। तर पनि यसको अर्थ गहन छ। कोरोना भाइरसविरुद्धको लडाईँमा होमिएको चीनमा मानिसबीचको सम्पर्कले संक्रमणलाई सजिलै फैलाउन सक्छ।

'परीक्षा उत्तीर्ण हुनुस्। संक्रमण नफैलाउँनुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell