
पोखरा : चौँथो संस्करणको नेपाल भ्रमण वर्ष २०२० विशेष ‘हिमा-अस हस्पिटालिटी नेपाल कन्टेस्ट’को अडिसन शनिवार हुने भएको छ। अडिसन पोखरा चिप्लेढुङ्गास्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए।
देशव्यापी आवेदन आह्वान गरेको सो कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन्। विभिन्न चरणको अडिसनपछि फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने कार्यक्रम संयोजक संगम रेग्मीले बताए।
अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिने कार्यक्रम संयोजक रेग्मीको भनाइ छ।
प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यसैगरि ‘कन्टेस्ट’मा दोस्रो र तेस्रो हुनेले भ्रमण वर्ष २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन्।
‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वरिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्युनिकेसन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगायतका तालिमहरु दिइने आयोजकले बताएको छ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौँथो सिजनलाई भ्रमण वर्ष विशेषको रुपमा आयोजना गरिएको छ।