PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

शरदको अर्धशतक र सन्दीपको सानदार ब्याटिङले टारेन नेपालको हार



मुकुन्द घिमिरे

शरदको अर्धशतक र सन्दीपको सानदार ब्याटिङले टारेन नेपालको हार

काठमाडौं : आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शरद भेषवाकरको अर्धशतकको बावजुत नेपाल ओमनसँग पराजित भएको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको ओमन, नेपाल र अमेरिका बीचको त्रिकोणात्मक सिरिज अन्तर्गतको आज भएको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भयो।

त्रिकोणात्मक सिरिज हेर्न शुरुबाटै मैदान परिषरमा समर्थकहरुको उल्लेखनीय उपस्थिति थियो। खेल चलिरहँदा समर्थकहरु शंखधुनी बजाउनेदेखि ‘नेपाल! नेपाल!!’ भन्दै खेलाडीहरुलाई हौस्याइरहे।

टस जितेर ओमनलाई ब्याटिङको निम्ता दिएको नेपालले १९८ रनको चुनौती पायो। ओमनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो।

औषत लक्ष्य पछ्याएको नेपालको सुरुवात सुखद हुन सकेन। कप्तान ज्ञानेन्द्र मल्ललाई १ रन र पारस खड्कालाई ३ रनमा गुमाएको नेपालको पारी सरद भेषवाकरले सम्हाले। उनले दीपेन्द्र सिंह ऐरीसँग र विनोद भण्डरीसँग महत्वपूर्ण साझेदारी गर्दै नेपालको  पारी उकासे।

भेषवाकरले सर्वाधिक ५५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे। भेषवाकरले १ सय ८ बलमा पाँच चौका प्रहार गर्दै अर्धशतक बनाए।

दीपेन्द्र सिंह ऐरीले ५ चौका र १ छक्काको सहायतामा ३६ रन बनाउँदै गर्दा मोहम्मद नदिमले एलबिडब्लु आउट गराए। त्यस्तै विनोद भण्डरीको २६ रन पनि महत्वपूर्ण रह्यो।

बलिङमा ओमनविरुद्ध खासै जम्न नसकेका सन्दीप ब्याटिङमा भने जमेका थिए। उनले २६ बलमा २८ रन बनाएका थिए। सन्दीप आउट भएसँगै क्रिकेट हेर्न रंगशाला पुगेका दर्शकहरु निस्किएका थिए। 

नेपाली ब्याटिङलाई रोक्न जेसन मक्सुदले सर्वाधिक ३ विकेट लिए भने बिलाल खान र कलिमुल्लाहले २/२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए। त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाए।

यता ओमनका ब्याट्सम्यानका लागि करण केसी र शुसन भारी भारी बने। १० ओभर बलिङ गरेका करण केसीले ४ विकेट लिएर ४७ रन दिए। त्यस्तै शुसनले १० ओभर बलिङ गर्दै १४ रन दिँदै १ मेडन राखेर ३ विकेट लिए। उनले ओमनका कप्तान जेसन मक्सुद, सुरज कुमार र सन्दीप गौडलाई पभेलियन फर्काए। करणले जतिन्दर सिंह, खावर अली, नसिम खुशी र कलिमुल्लाहलाई आउट गरे।

त्यसबाहेक दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सन्दीप लामिछाने भने बलिङमा केही महँगा देखिए। उनले १० ओभरमा ४५ रन खर्चिँदै विकेटविहीन रहे।

भोली अमेरिका र ओमनबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell