PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौं छिर्ने गाडीलाई धुने ठाउँ खोज्दै यातायात व्यवस्था विभाग



रासस

काठमाडौं छिर्ने गाडीलाई धुने ठाउँ खोज्दै यातायात व्यवस्था विभाग
फाइल फोटो।

काठमाडौं : सरकारले काठमाडौं भित्रने सवारी साधनले धुलो र हिलो भित्र्याएको भन्दै सवारी साधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारी साधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारी साधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारी साधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ।

अहिले झण्डै पाँच/छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ। यसले गर्दा सवारी साधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ। उपत्यकाबाहिरदेखि आउने सवारी साधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारी साधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।

काठमाडौं उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन्। काठमाडौं महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन्। सवारी साधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell