PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता



सविन ढकाल

विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं : बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ।

आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराइएको हो।

पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको हो। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ। व्यवसायी मीनबहादुर गुरुङको नाम पनि यो सूचीमा रहेको छ।

मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई विरुद्ध भने मुद्दा नचलाउने तय भएको छ। त्यस्तै नेता लीलामणि पोखरेलविरुद्ध पनि मुद्दा नचलाइने भएको छ। सबै गरी १० जनाको मुद्दा भने नचलाइने भएको छ।

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलको नाम यो जग्गा प्रकरणमा जोडिएको भए पनि अख्तियारले तय गरेको १ सय ७५ जनाको सूचीभित्र परेको छैन।

१ सय १० जनाको जग्गा जफत सहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ।

सबैभन्दा धेरै मागदावी भाटभटेनी सुपरमार्केटमाथि गरिएको छ। सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ। त्यसपछि शशीकान्त ढकालमाथि ४९ करोड २७ लाख ६८ हजार रुपैयाँको मागदावीसहित मुद्दा दायर भएको छ। त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदावी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell