PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय नागरिक



रासस

परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय नागरिक

सुरुङ्गा : परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ। बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय भएको खुलेको हो।

शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औँठी, चप्पल, स्विटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। शेखकी श्रीमती सुष्मासहित सासू र ससुरालाई मंगलवार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ।

प्रहरीले शवको मुचुल्का उठाउन संघीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमवार राति १२ बजेदेखि आगो लागेको थियो। सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ।’

मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए। केही महिनाअघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए। उनका एक छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell