
काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन्।
आजको खेलमा अंक तालिकाको शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबले पुछारमा रहेका एपिएफ र सरस्वती युथ क्लबको सामना गर्नेछन्।
पहिलो खेलमा दोस्रो स्थानमा रहेको मछिन्द्रसँग रेलिगेशन जोनमा रहेको सरस्वती युथ क्लब भिड्ने छ। लिगमा फितलो प्रदर्शन गरिरहेको सरस्वतीले आजको खेलमा जित निकाल्न सके रेलिगेसनको भयबाट केही राहत मिल्नेछ। यद्यपि उपाधि होडमा रहेको मछिन्द्रलाई हराउनु त्यति सजिलो भने हुने छैन।
त्यस्तै, उपाधि होडमा रहेको मछिन्द्र क्लब सरस्वती युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मीसँगको प्रतिस्पर्धामा कायम रहन चाहन्छ। मछिन्द्रले १० खेलमा ७ जित र दुई बराबरी खेलेर २२ अंक बनाएको छ। ऊ शीर्षस्थानको आर्मी भन्दा एक अंकले मात्र पछि छ।
खेल सातदोबाटोस्थित एन्फा कम्लेक्समा १२ बजे शुरु हुने छ।
आजै हुने दोस्रो खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लब (टिएसी) र सशस्त्र प्रहरीको एपिएफ भिड्दै छन्। रेलिगेशनबाट एक स्थान मात्र माथि रहेको एपिएफ शुरक्षित स्थानमा उक्लन संघर्षरत छ। त्यस्तै, यो सिजन पछिल्ला चरणहरुमा लिग लिड गरिरहेको आर्मी निकट प्रतिद्वन्दी मछिन्द्र क्लबभन्दा १ अंकले अगाडि छ।
एपिएफले दशौं चरण सकिँदा एक खेल जित दुई बराबरी र ७ पराजय भोगेको छ।