
काठमाडौं : कलंकीमा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।
बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। प्रदेश नम्बर २ ०३००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले बताए।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। उपचारको क्रममा दुवै जनाको बिहीवार बिहान मृत्यु भएको हो। ठक्कर दिने टिपर भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।