
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ।
नयाँ बानेश्वरस्थित डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा नेता गिरी चोटपटक लागेर गम्भिर अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई तत्कालै बानेश्वरको सिभिल अस्पताल पुर्याइएको थियो। तर त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्युको कारण भने अझै खुल्न सकेको छैन।
'हामी अनुसन्धान गरिरहेका छौं। मृत्यु के कारणले भएको खुलेको छैन। शरीरमा चोट भने देखिएको छ', महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।
मंगलवार राति ९ बजेतिर नेता गिरी रेस्टुरेन्टमा पुगेका थिए। त्यसपछि खानेकुरा खाएर निस्किएको र केही समयमा ठूलो आवाज आएपछि हेर्न जाँदा भर्याङमा लडेको अवस्थामा फेला पारेको रेष्टुरेन्टका संचालक तथा कर्मचारीले प्रहरीमा बयान दिएका छन्।
'बिल तिरेर बाहिर निस्किएको र केही समयमा आवाज आएर हेर्न जाँदा लडेको बताएका छन्। थप कुरा हामी अनुसन्धान गर्दछौं', डिएसपी बोगटीले भने।
प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि रेष्टुरेन्टका संचालकदेखि कर्मचारी गरेर चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले रेस्टुरेन्टमा रहेको सिसि क्यामरा फुटेज हेर्न खोज्दा बिग्रिएको पाइएको थियो। संचालकले एक महिना अगाडी देखि बिग्रिएको बताएका छन्।
'सिसि क्यामरा भएपनि फुटेज स्टोर नभएको पाइयो। एक महिनादेखि बिग्रिएको संचालकले बताए', डिएसपी बोगटीले भने।
समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन गृह मन्त्रालयले 'सिसिटिभी क्यामरा जडान तथा सञ्चालन कार्यविधि २०७२' प्रयोगमा ल्याएको छ। चार वर्षअघि नै सुरक्षा निकाय र अन्य सरकारी निकायसँगको छलफलपछि तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले यो कार्यविधि लागू गरेका थिए।
कार्यविधिमा सिसिटिभीबाट खिचेका दृश्य कम्तिमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने उल्लेख छ।
मृतकका परिवारले घटना रहस्यमय भएको भन्दै छानबिन गर्न प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको छ।