
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट शुरु भएको १० औं चरणको खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रले ६-१ को फराकिलो जित निकालेको हो।
मछिन्द्रको जितमा दीपक राईले २ गोल गर्दा देवेन्द्र तामाङ, बिसाल राई, सोमिडे एडिलेजा र एन्ड्रेस नियाले १/१ गोल गरे। यता लिगतालिकाको पुछारमा रहेको सरस्वतीका लागि कजिम बुसारीले सान्त्वना गोल फर्काए।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा रन्जित धिमालले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल गर्दै ४० औं मिनेटमा देवेन्द्र तामाङले मछिन्द्रको अग्रता बनाएका थिए। पहिलो हाफमा मछिन्द्र १-० ले अगाडि रह्यो।
दोस्रो हाफमा भने सरस्वतीमाथि मछिन्द्र पूर्ण हावी देखियो। खेलको ५४ औं मिनेटमा विजय धिमालको पासमा दीपक राईले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको ५ मिनेट भित्रै बिसाल राईले अर्को गोल थपे।
खेलको ७७ औं मिनेटमा दीपक राईले ब्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र ४-० को सहज अवस्थामा पुगिसकेको थियो।
यता सरस्वतीका लागि खेलको ८७ औं मिनेटमा कजिम बुसारीले सान्त्वना गोल गरे पनि यसले सरस्वतीलाई खेलमा फर्काउन सकेन। उल्टो अतिरिक्त समयमा मछिन्द्रका एडिलेजा र निहाले गोल गर्दै मछिन्द्रको फराकिलो जित सुनिश्चित गरे। जितसँगै मछिन्द्र क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
आजको मछिन्द्रको जित जारी लिगकै फराकिलो जित हो। यसअघि न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबले सरस्वती क्लबलाई नै ४ गोलको अन्तरले हराएका थिए।
आजै हुने दोस्रो खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ। आर्मीले जित निकालेको खण्डमा मछिन्द्रलाई १ अंकले पछि पार्दै फेरि शीर्षस्थानमा उक्लने छ। सरस्वतीलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रको २५ अंक छ। दोस्रो स्थानको आर्मीको २३ अंक छ।