
काठमाडौं : नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीलाई सरकारले विभिन्न चार ठाउँमा राख्ने भएको छ।
उनीहरुलाई सूर्यविनायक, खरिपाटी, शिवपुरी र इचङ्गुनारायणमा राख्ने तय भएको हो। बिहीवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चार ठाउँमा उनीहरुलाई राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रिका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए।
सरकारले केही दिनअघि नै नेपाली सेनालाई चीनबाट फर्काइने नेपालीलाई राख्ने ठाँउ खोज्न निर्देशन दिएको थियो। नेपाली सेना, स्वास्थ्य मन्त्रालय लगायतका पदाधिकारीहरुको छलफलपछि नै नागार्जुनमा रहेको सुकुम्बासीको लागि बनाइएको अपार्टमेन्टमा राख्ने प्रारम्भीक तयारी गरेको थियो। तर, नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने स्थानमा नराख्न स्वास्थ्य मन्त्रालयलाई पत्रचार समेत गरेको छ। फर्काइने नेपालीलाई त्रिभुवन विमानस्थलबाट सोझै नागार्जुन नगरपालिका वडा नं १ सुकुम्बासीका लागि बनाएको अपार्टमेन्टमा लगिने नेपाली सेनाले प्रारम्भिक तयारी गरेको थियो।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्थानीयले समेत खरिपाटीमा नराख्न भन्दै बुधवार नगरपालिका कार्यकालयमा धर्ना दिएका छन्। सरकारले हुवेईबाट विमान चार्टरसमेत गर्ने तयारी गरेको छ।
पाँच वर्षअघि पनि नेपाली सेनाले पश्चिम अफ्रिकी मुलुकहरुमा इबोला भाइरसको संक्रमण फैलिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि खटिएका नेपाली सुरक्षाकर्मीहरु नेपाल फिर्ता ल्याइ क्वारेन्टाइनमा राखिएको थियो। २०७१ साल असोज २९ गते र कात्तिक १२ गते नेपाल भित्रिएका शान्ति सेनामा खटिएकाहरुलाई नेपाली सेनाले टोखामा राखेको थियो।
आजको बैंठकमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री लगायतको उपस्थिति थियो।