PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फागुन १ गतेदेखि वीरगंजमा दादुरा रुबेला खोपको शिविर सञ्चालन हुँदै



राधेश्याम पटेल

फागुन १ गतेदेखि वीरगंजमा दादुरा रुबेला खोपको शिविर सञ्चालन हुँदै

वीरगंज : वीरगंज महानगरपालिकाले महानगरका ३२ वटै वडामा आगामी फागुन १ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ। महानगरमा फागुन १ देखि १३ गतेसम्म २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाले आयोजना गरेको नगर खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालासँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराएको हो।

कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाका प्रमुख अरुण कुमार महतोले जन्मेको ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान संचालन गर्न लागेको बताए। महानगरपालिकाको १ देखि १६ नम्बर वडामा फागुन १ गतेदेखि ३ गतेसम्म र वडा नम्बर १७ देखी ३२ मा फागुन ४ गते देखि ११ गते सम्म खोप अभियान चलाइने महतोले जानकारी दिए।

महतोका अनुसार यो अभियान अन्तर्गत महानगरमा रहेका ९ महिनादेखि ५ वर्षसम्मका १ हजार ६ सय २० जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ। वीरगंज महानगरमा ३२ वटै वडामा गरी कुल १ सय ५४ खोप केन्द्र रहेको र अभियान अन्तर्गत ती सबै खोप केन्द्र मार्फत नै दादुरा रुवेला विरुद्धको खोप लगाइने जानकारी उनले दिए।

अन्तर्क्रिया कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले खोप अभियानलाई सफल पार्न महानगरका सबै वडा अध्यक्ष र नगरवासीलाई आग्रह गरे। बाल मृत्युदरको प्रमुख कारण दादुरा रुवेला नै देखिएकाले महानगरमा फागुन १ गतेदेखि शुरु हुने खोप अभियानमा आफ्नो वडामा रहेको खोप केन्द्रमा अनिवार्य रुपमा पुगेर आफना बालबालिकालाई खोप लगाउन उनले नगरवासीसँग आग्रह समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell