काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्धको अदालतको अपहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम) डीनमा प्राध्यापक डाक्टर शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसीले फैसलाको आलोचना गरेका थिए। त्यसैलाई लिएर उनीविरुद्ध मुद्दा परेको थियो।
न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको पूर्ण बृहत इजलाशले केसीविरुद्धको मुद्दा खारेज गरेको हो।
केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए। अदालतको आदेशविरुद्ध केसीले अनशन पनि गरेका थिए।
केसीको अनशनपछि सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलना मुद्दा चलाएको थियो। अपहेलना मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै पक्राउ गरेको थियो। पक्राउको सर्वत्र आलोचना भएको थियो।
पक्राउको तीन दिनपछि २०७४ पुस २६ गते सर्वोच्चले केसीलाई साधरण तारेखमा रिहा गरेको थियो। केसीको माग अनुसार अदालतलको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि अध्ययनका लागि भन्दै मगाएको थियो।
