PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेसको प्रश्न : कुनै मान्छे अपहरणको ४ वर्षपछि फिर्ता ल्याउँदा मुद्दा लगाइन्छ कि माला?



नेत्र तामाङ

कांग्रेसको प्रश्न : कुनै मान्छे अपहरणको ४ वर्षपछि फिर्ता ल्याउँदा मुद्दा लगाइन्छ कि माला?

काठमाडौं : नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि लगाइएको मुद्दामा आधिकारिक रुपमा मुख खोल्दै 'सबैलाई समान कानुन लागू' हुनुपर्ने अडान राखेको छ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति देउ भनेको होइन, कानुन सबैलाई समान लागोस्।'

उनले सैद्धान्तिक र व्यवहारिक दुवै कुरामा स्पष्ट हुनुपर्ने तर्क गर्दै 'कमजोर तथ्यको जग्गामा फेन्टासी ल्याएर मुद्दालाई क्रान्तिकारी पटाक्षेप गर्न खोजेको आरोप लगाए।

सरकारले आफ्नालाई जोगाउन लागेको गम्भीर आरोप पनि कांग्रेसले लगाएको छ। गच्छदारबारे प्रवक्ता शर्माले भने, 'उहाँ थारु समुदायको व्यक्ति। कहिल्यै चुनाव नहारेको, जेलनेल भोगेको। २०५९ सालको भ्रष्टाचार निवारण आयोग निर्माण हुँदा मन्त्रिपरिषदको सदस्यसमेत हो उहाँ।'

उनले पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाललाई उन्मुक्ति दिएको प्रसंग उठाउँदै त्यतिखेर विद्यादेवी भण्डारी पनि मन्त्रिपरिषद सदस्य रहेको स्मरण गराए।

'जग्गा फिर्ता गर्ने भएपछि मुद्दा नचल्ने नयाँ नियम प्रतिपादन भएको छ,' व्यङ्ग्यात्मक हिसाबले शर्माले भने, 'कुनै मान्छे अपहरणको ४ वर्षपछि फिर्ता ल्याउँदा मुद्दा लगाइन्छ कि माला?'

उनले मुल मुद्दालाई डाइभर्ट गर्ने काम भएको आक्षेपसमेत लगाए।

गच्छदार प्रकरणमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि पूर्व पदाधिकारी र हालका पदाधिकारी तथा कानुन व्यवसायीसँग छलफल भएको उनले जानकारी दिए।

वुहानमा रहेका नेपालीलाई तत्काल ल्याउनुपर्ने उनको भनाइ थियो। साथै कांग्रेसले भक्तपुरमा विरोध गरेको विषयको उनले खण्डन गरे। 'चीनबाट संक्रमित भएकाहरु ल्याउन लागिएको हैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell