PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पप्पु/समा कम्पनीले निर्माण गरेको पुल २ वर्षपछि आयो सञ्चालनमा



राधेश्याम पटेल

पप्पु/समा कम्पनीले निर्माण गरेको पुल २ वर्षपछि आयो सञ्चालनमा

वीरगंज : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वा-मुसैली सडकखण्डमा निर्माण भएको पक्की पुल दुई वर्षपछि सञ्चालनमा आउन लागेको छ। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदिप यादवको पहलमा उक्त पुल सञ्चालनमा आउन लागेको हो।

२०७२ साल कात्तिकदेखि पक्की पुलको निर्माण कार्य शुरु भई २०७४ सालमा पुलको काम सम्पन्न भएको थियो। तर पुललाई जोडने दुवै तर्फको छेउमा स्थानीयको निजी जग्गा पर्ने भएकोले स्थानीयको विरोधका कारण पुल सञ्चालनमा आउन सकेको थिएन। सांसद प्रदिप यादवले समस्या समाधानको लागि वीरगंजका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, सडक डिभिजन हेटौँडाका इन्जिनियर समुन योगेशलगायतको टोली लिएर पुल निर्माण स्थलमा गइ पुल सञ्चालनको लागि गाठो फुकाएका हुन्।

पुल निर्माणको समयमा प्राविधिको लापरबाहीले पुलको दुवैतिर स्थानीयको जग्गा परेको र पुल सञ्चालनमा नआउँदा दुवै गाउँका जनतालाई समस्या भइरहेकोले निजी जग्गा दान गरेर पनि पुल सञ्चालनमा ल्याउन अपिल गरेपछि स्थानीय पुल सञ्चालनको लागि तयार भएका हुन्।

वीरगंजका मेयर सरावगीले भेडहा खोलाको बाढी नियन्त्रणको बारेमा विशेष पहल भइरहेको र पुल सञ्चालनले सबैलाई फाइदा हुने भएकोले दुवै तर्फ स्थानीयलाई सडक निर्माणमा सहयोगको आग्रह गरे।

पप्पु/समा ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले लगभग ६ करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरेको थियो। पुलको दुवै तिरको बाटोलाई लिएर स्थानीयले पर्सा जिल्ला अदालत र पुनरावेदन अदालतमा मुद्दा लडिरहेको अवस्थामा स्थानीय स्तरबाटै समस्या समाधान भएपछि स्थानीय हर्षित भएका छन्। पुल सञ्चालनमा आएपछि महानगरपालिकाको दुर्गम वडाको रुपमा रहेको बेल्वा र मुसैलीका जनताको जनजीवन सहज हुने आशा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell