PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपाली मूलका ओमनी खेलाडी सुरज : भन्छन्,' नेपाली अंकलकै हौसलाले क्रिकेट सिकें, रमाइलो लागिरहेको छ'



मुकुन्द घिमिरे

नेपाली मूलका ओमनी खेलाडी सुरज : भन्छन्,' नेपाली अंकलकै हौसलाले क्रिकेट सिकें, रमाइलो लागिरहेको छ'

काठमाडौं : ओमन, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ। सुरुवाती दुई खेल सकिँदा ओमनले २ खेलमा जित हात पारिसकेको छ भने नेपाल र अमेरिकाले एकएक खेल हारेको छ। टिमको कुरा गर्दा ओमन र अमेरिकाको टिम ‘मिक्स’ देखिन्छ। यी टिमहरुमा भारत, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज मूलथलो भएका खेलाडीहरु छन्। अझ कतिपय खेलाडीहरु त राष्ट्रिय टिमको उमेर समूहमा सहभागिता जनाएर पनि फेरि अर्को देशबाट खेलेका पनि रहेका छन्।

यस्तै खेलाडीहरुको चर्चा गर्दा नेपाली मूलका पनि एक खेलाडी सामेल छन् ओमनको टिममा।

उनी हुन् सुरज कुमार।

सन् १९८८ मा भारतको पञ्जावस्थित जालन्धरमा जन्मिएका उनको पुर्ख्यौली घर चाहीँ नेपाल। भारतीय लवजमा नेपाली बोल्ने उनी अहिले नेपालमै आएर क्रिकेट खेलिरहेका छन्। तीन देश सम्मिलित विश्वकप लिग २ अन्तर्गतको खेलमा उनी ओमनबाट विकेट किपिङ गर्दैछन्।

सिरिजको पहिलो खेलमा नेपालविरुद्ध शून्य रनमै पभेलियन फर्किएका उनले बिहीबार भएको दोस्रो खेलमा अभिजित ३३ रन बनाउँदै अमेरिकामाथि ओमनको जीत दर्ता गराउन अहम भूमिका खेले।

उनले नेपालमा आफ्नो अनुभव सुनाउँदै आफू काठमाडौं पहिलो पटक आएको बताए। उनले ओमनको र नेपालको पिच कन्डिसन फरक भएको भन्दै नेपालमा क्रिकेट खेल्न केही गाह्रो भइरहेको प्रतिक्रिया दिए।

नेपालमा उनको पुर्ख्यौली घर बाग्लुङ हो। उनले द नेसनलसँगको कुराकानीमा आफ्नो मूल थलो नेपाल भएको र क्रिकेट खेल्न पनि एकजना ‘नेपाली अंकल’ सँगै सिकेको बताएका छन्। उनले भारतमा रहँदा त्यहीँको क्रिकेट कल्चरबाट प्रभावित भएर क्रिकेटमा लागेको बताएका छन्।

‘मैले भारतमा रहँदा काम खोजिरहेको थिएँ। तर, पाउन सकेको थिइन। एउटा साथीले ओमनमा कामको लागि सिफारिस गर्‍यो। मैले काम पनि पाएँ’ सुरजले भारतबाट ओमनको यात्राबारे भनेका छन्। उनले ओमनमा रहँदा क्रिकेटमा आफूलाई स्थापित गर्ने मौका पाए।

भर्खरै विवाह बन्धनमा बाँधिएका नेपाली अलराउन्डर सोमपालकामी सँग पनि उनको राम्रो परिचय छ। केही समयअघि सोमपालले ओमनको लागि आफ्नो साथीले खेलिरहेको भन्दै ट्वीटमा तस्बिर सहित हालेका थिए।

ओमन र नेपालबीच त्रिकोणात्मक सिरिजको पहिलो खेल हुँदा नेपाली समर्थकहरु चिच्याइचिच्याइ सुरजलाई पनि समर्थन गरिरहेका देखिन्थे। त्यतिमात्र होइन खेल ओमनले जितेपछि पनि नेपाली समर्थकसँग उनले सेल्फी खिचेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell