PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाली फिल्मको फ्लप सिजनमा 'साङ्लो'मार्फत् विराजको कमब्याक, 'नेपाली दर्शकले खोजे मलाई'



मन्दिरा खत्री

नेपाली फिल्मको फ्लप सिजनमा 'साङ्लो'मार्फत् विराजको कमब्याक, 'नेपाली दर्शकले खोजे मलाई'

फिल्म 'साङ्लो'बाट विराज भट्ट नेपाली रजतपटमा कमब्याक गर्दैछन्।

एकसमय एक्सन सुपरस्टारका रुपमा चिनिन्थे उनी। उनको नाम जोडिएका नेपाली फिल्म हेर्न हलमा दर्शकको घुँइचो लाग्थ्यो।

नेपाली फिल्म इन्डस्ट्रीमा चम्किए पनि एकाएक हराएका उनै विराज करिब तीन वर्षपछि आफ्नै निर्देशनमा फिल्म साङ्लो लिएर फर्किएका छन्।

'क्रेज उस्तै, दर्शकले खोजे'

तीन वर्षपछि फर्किँदा पनि आफ्नो क्रेज नघटेको दाबी गर्छन् विराज। 'क्रेज घटेको पाइनँ। जब नेपाली फिल्मबाट टाढिए, मेरो भोजपुरी फिल्महरुलाई डबिङ गरेर नेपालमा चलाइयो। तीसदेखि पैतिसवटा भोजपुरी फिल्मलाई नेपालीमा डबिङ गरेर नेपाली फिल्म भन्दै हलमा लगाएको समेत दाबी गर्छन् उनी। 'दर्शकलाई झुक्याएर फिल्म चलाएको थाहा पाएँ,' उनले भने।

यसैलाई आधार मान्दै उनी दर्शकले नेपाली फिल्ममा आफूलाई खोजेको बताउँछन्। भन्छन्, 'यसबाट दर्शकले मेरो फिल्म खोजेका छन् भन्ने पुष्टि हुन्छ। त्यसैले राम्रो सम्भावना अझै पनि देखिएको छ। त्यसैले त्यो बेलाको क्रेज र अहिलेको क्रेजमा मैले फरक पाइनँ।'

निर्देशनमा भने उनको डेब्यु फिल्म हो - साङ्लो। साङ्लो शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ।

तीन वर्ष भोजपुरीतिरै

तीन वर्षअघि उनी फिल्म 'जय पर्शुराम'मा देखिएका थिए। त्यसपछि नेपाली फिल्ममा देखिएनन् उनी। नेपाली फिल्म क्षेत्रबाट टाढा हुनुको कारण के हो त?

जय पर्शुरामपछि दुई तीनवटा फिल्महरु साइन गरेको बताउँछन् उनी। तर तीमध्ये कुनै पनि फिल्म बन्न सकेनन्। जसका कारण नेपाली फिल्म इन्डस्ट्रीमा उनको उपस्थिति शून्य देखियो।

डेढ वर्षदेखि यता भने साङ्लोकै निर्माणमा व्यस्त रहेको बताँउछन् विराज। उनी भन्छन्,'यो पटक आफैं फिल्म बनाउँ न त भनेर साङ्लो निर्माण गरें। डेढ वर्षदेखि यही फिल्मको प्रि प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनसम्म नै व्यस्त रहें।'

उनको क्रेज नेपालीमा मात्र नभएर भोजपुरी फिल्ममा पनि उतिकै छ। उनी भोजपुरी फिल्मका 'सुपरस्टार' नै हुन्। उनले ५० वटा भन्दा बढी भोजपुरी फिल्ममा अभिनय गरिसकेका छन्।

साङ्लोमा एक्सन लभ स्टोरी

एक्सन जनरामा देखिइ रहने विराजको पछिल्लो फिल्म भने एक्सन लभ स्टोरीमा आधारित छ। फिल्मबारे उनी भन्छन्, 'लभ स्टोरी फिल्म नै भनेर त अहिलेसम्म मैले काम गरेको छैन। तर साङ्लोमा पनि छुट्टै किसिमको लभ स्टोरी छ। अनमोल केसी, प्रदीप खड्काको जसरी भने मेरो लभस्टोरी फिल्म आँउदैन। हरेक फिल्ममा मेरो आफ्नो छुट्टै किसिमको लभ स्टोरी हुन्छ। कथा वस्तुको हिसाबले मैले बनाउनु पर्ने हुन्छ। तर, साङ्लोमा एक्सनसँगै लभ स्टोरी पनि दर्शकले देख्न पाउनु हुन्छ।'

साङ्लोमा उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग स्क्रिन सेयर गरेका छन्। निकिताले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्। निकितासँग काम गर्न निकै सहज भएको विराज बताँउछन्।

तर भोजपुरी फिल्ममा गएपछि नेपाली फिल्महरु कम भएको उनी स्वीकार्छन्। साङ्लोको छायाँकन सकेर हालै उनी मुम्बई पुगी एउटा भोजपुरी फिल्मको छायाँकन सकाइ सकेका छन्।

पैसाकै लागि भोजपुरी फिल्म उद्योगमा भासिएको भन्छन् नि? यस विषयमा उनी भन्छन्, 'तर नेपाली कलाकारहरु पनि बाहिरको फिल्ममा गएर काम गर्न सक्छन् भने त्यो त राम्रो कुरा हो नि। तर, पैसाकै पछि लागेर भोजपुरी फिल्म गर्‍यो भन्ने कुरा चाहि गलत हो।'

अरुको फिल्म फ्लप भयो भनेर आएको हैन

नेपालमा बनिरहेका अधिकांश फिल्महरु धमाधम सुस्ताई रहँदा विराज भने यही समयमा साङ्लोमार्फत दर्शकमाझ फर्किएका छन्। तर उनलाई आफ्नो लगानी डुब्ला भन्ने चिन्ता छैन। भन्छन्,'अरुको फिल्म चलेन भनेर मैले फिल्म नबनाउने होइन। मैले त विराज भट्ट चल्न सक्छ कि सक्दैन? मेरो कन्टेन्ट बिक्न सक्छ कि सक्दैन? म मेहनत गरेर राम्रो फिल्म दिन सक्छु कि सक्दिनँ? आफैलाई जाँच्न आएको।

अरुको फिल्म हेरेर मैले फिल्म बनाउने भए त यो समयमा फिल्महरु एकदमै नराम्रोसँग फ्लप भइरहेको छ। अरुको फिल्म चलेको देखेर पनि मैले फिल्म बनाउन मिल्दैन र अरुको फिल्म फ्लप भएको देखेर पनि मैले फिल्म बनाउने होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell