
भीमदत्तनगर : नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका ३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीवार बझाङ केदारस्यु गाउँपालिका ६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका २ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
त्यसैगरी बिहीवार साँझ मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बागफाँटाका ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। म २ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट वृद्धाको बागफाँटाकै धर्मभक्त टोलमा मृत्यु भएको थियो।
प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले मोटरसाइकल चालक रामदिन रानालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। रासस