PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जब भयो राधिका शाक्यको आँखामा आँशु टलपल ...



स्वेच्छा राउत

जब भयो राधिका शाक्यको आँखामा आँशु टलपल ...

भोजपुरकी रिङ्गमाया गुरुङले आर्थिक अभाव भोग्न परेन किनकि उनका बुबा लाहुरे। बेला मौकामा घर आउँथे बुबा। सँगै झोलाभरी रिङ्गमायालाई मन पर्ने लुगा, खेलौना र खानेकुरा पनि ल्याउँथे। आमाले माया गरेर ती खेलौना र खानेकुरा रिङ्गमाया र उनका भाइहरुलाई भाग लगाइदिन्थिन्।

भाइहरुसँग रिङ्गमायाले खेलौना मात्र होइन, पूरै बाल्यकाल पनि साटिन्। आमालाई सघाउन उनीहरुले काम विभाजन गरे, तीता मीठा क्षण पनि भागमा परे। उमेरले अहिले साठी लाग्नै लागिसकिन्।

तर, यो उमेरमा आइपुग्दा सानोमा सँगै खेलेका भाइहरुसँगको साथ काठमाडौंको व्यस्त सडकबीच कतै छुट्यो। रिङ्गमायासँगै छुट्यो उनको हृदयमा भाइहरु प्रतिको प्रेम, स्नेह, विश्वासको ठूलो अंश पनि।

एक दिन सडकबीचमा खास्टोमा गुजुल्टिएर बसेकी उनलाई केही मानिसले एक्कासी घेरे। टाउको उठाएर हेरिन् र सोधिन् - कान्छा आएको हो?

जब उनीसामु अपरिचित अनुहार देखिन्, डराइन्। उनको हातमा प्लास्टिकको सानो पोको थियो। त्यसलाई मुट्ठीमा दह्रो कसिन् अनि छातीमा टाँसिन्। भनिन् - मेरो भाइ आएन?

रिङ्गमायालाई भाइसम्म पुर्‍याउने आश्वासन दिँदै सडकबाट उद्दार गरियो र पुर्‍याइयो मानव सेवाको सामाखुशीस्थित आश्रम।

अचेल त्यहाँ पुग्ने हरेक नौलो मानिसलाई उनी आफ्नो भाइबारे सोध्छिन्। अनि सुनाउँछिन् आफू कतै छाडिएको कथा अस्पष्ट आवाजमा। 'आमाको मायाले बिहे गरिनँ। आमाले मेरै मायाले सम्पत्ति दुई भाइसरह भाग दिनुभयो,' उनको बोली मधुरो छ सँगै कामिरहेको पनि, 'त्यसपछि भाइहरु फेरि झगडा गर्न थाले।'

उनी बिस्तारै बिरामी भइन्। देब्रे हातमा समस्या आउन थाल्यो। 'उपचार गर्न लैजान्छु' भनेर हिँडेको भाइ कता छुट्यो पत्तै पाइनन्। छलिए या छलेर हिँडे? उनी असमञ्जस्यमा पर्छिन्।

त्यसैले हो, भाइ खोज्दै आउने आशा अझै मारेकी छैनन् उनले। हरेक दिन आश्रमको छतमा जान्छिन् र फलामे बार बाहिर एकोहोरिन्छिन्। अनि बर्बराइ रहन्छिन् - ‘मेरो भाइ यही बाटो भएर आउँछ।'

त्यही बाटो भएर हामी पुगेका थियौं, आश्रममा। अनि सुनेका थियौं रिङ्गमायाहरुको कथाहरु।

त्यसदिन पृष्ठभूमिमा ‘ॐ माने पेमे हु…’ को मधुर धुन गुञ्जिरहेको थियो। कोही भित्तामा अडेस लगाएर उँघिरहेका थिए। अनि कोही घाम परेको ठाउँमा मस्त निदाएका थिए।

झट्ट हेर्दा लाग्छ, सबै बेपर्वाह छन्।

२५ डिसेम्बर अर्थात् क्रिष्टमस डे। सामाखुशीस्थित आश्रमलाई पर्वले छोएको थिएन।

दिउँसोको खाना खाएर आराम गर्ने समय भएकाले होला सुनसान लाग्थ्यो। किनकि यो कोठामै सुत्ने वा कौसीमा घाम ताप्ने समय हो।

आश्रमको गेटभित्र पस्दा भुँई तलामा बसिरहेका केही मानिसहरु भने सलबलाए। तीमध्ये केही दुई हात जोडेर 'नमस्कार' भन्दै मुस्कुराए। अनि नजिक आए।

आश्रममा नौलो कोही देख्दा उनीहरु यस्तै गर्छन्। लाग्छ, उनीहरुलाई हरेकको पर्वाह छ, अन्जान मानिसको पनि।

नमस्कार गर्नेहरुको भीडमा फरक प्रस्तुत भए दोलखाका भवानीप्रसाद पाठक। आफ्नै सुरमा धुप बाट्दै थिए उनी। बोले - 'ह्याप्पी क्रिस्टमस।' र, फेरि आफ्नै काममा लागिरहे।

युवावस्थाको केही समय 'ल फर्म' अनि धेरै समय गाउँकै खेतबारीमा अन्न उब्जाएर बिताए भवानीप्रसादले। जब उमेर पाक्दै गयो शरीर कमजोर हुँदै गयो। काम गर्न सकेनन्। सुरु भयो छोरा बुहारीको खटन अनि श्रीमतीको बेवास्ता।

उनलाई घर रित्तो लाग्न थाल्यो। एउटै अँगेनामा पकाएको खानुको अर्थ आफ्नासँगै हुनु होइन रहेछ। आत्मीयता र प्रेम नै बाँकी नरहेपछि नुन मसला पुगेकै तरकारी पनि खल्लो लाग्न थाल्यो। जीवनदेखि विरक्तिए। त्यसपछि छाडे गाउँ। काठमाडौं आए जुन ठाउँ वर्षौअघि निकै बिरानो अनि स्वार्थी लागेपछि छाडेर गाउँ फर्केका थिए।

'कोही नहुनेको भगवान् हुन्छन् भन्ने सुनेको थिएँ। ठ्याक्कै त्यस्तै भयो। काठमाडौंमा बास दिने कोही भएनन्। अन्तिममा पशुपति गएँ। त्यहाँ आसपास बस्न न कसैले रोक्ने न कसैले छेक्ने,' भवानीले सुनाए।

करिव एक वर्षअघि हो पशुपति क्षेत्रका सडकमा बस्नेहरुको उद्धार गर्न गएको थियो मानव सेवाको रेस्क्यू टोली। त्यहाँबाट उठाइएका घरहविहीनहरुको भीडमा मिसिएका रहेछन्, भवानीप्रसाद।

'चिसोबाट न्यानोमा आएँ। पेटभरि खाना अनि मनभरि माया पाएँ। आफ्नोपन महसुस गर्न आफ्‍नै रगत हुनुपर्दैन रहेछ,' उनलाई धुप बाट्न सघाइरहेकी स्वयम्सेविकालाई देखाउँदै भन्छन्, 'नत्र यी नानीहरुलाई किन आवश्यक थियो र म बुढोले खायो खाएन, सुत्यो सुतेन, सञ्चो छ छैन?'

कुरा सुनिरहेकी स्वयम्सेविका मुस्कुराइन्।

धुप बाट्दै गरेका भवानी प्रश्नको सटिक जवाफ दिन्छन्। लामो कुरा गर्दैनन्। धुपमा कपुरको धुलो मिसाउन औंला चलाउँदै भन्छन्, 'उमेरले तीन बीसा र सोह्र कटेपछि बल्ल स्वर्गजस्तो जीवन पाएको छु। आफूले भन्दा बढी दु:ख भोगेकाहरुको जीवन देखेको छु। बेक्कार पुराना कुरा सम्झेर किन दु:ख मनाउ गर्नु?'

उनी हरेक साँझ आफैंले बाटेको धुप बाल्छन्। भगवान् पुज्छन्। कामना गर्छन् - 'कोही पनि घरविहीन नहोउन्। कसैलाई पनि आफ्नै जिन्दगी बोझ नलागोस् अनि सेवा गर्नेहरुलाई कहिले पनि अभाव नहोस्।'

आश्रमले थुप्रै भवानीप्रसादहरुलाई आश्रय दियो। सट्टामा आश्रमले पाएको कामना न हो। त्यसभन्दा बढी अपेक्षा राख्दैनन् सेवकहरु। किनकि उनीहरुको खुशी 'दिनु'मा छ। अनि दिएर रमाउनेहरुकै सहयोगका कारण चलेको छ आश्रम। दिनेहरुकै कारण थुप्रै भवानीप्रसादहरुले आश्रय पाइरहेका छन्।

आश्रममा जन्मदिनको कामनाहरु गुञ्जन्छन्, विवाह वर्षगाँठको खुशीमा गीतहरु घन्कन्छन्। न्वारन, पास्नीदेखि पितृ पूजासम्म हुन्छ। यस्तै उत्सव अनि अवसर मनाउनहरु आश्रितका लागि खानेकुरा, लत्ता कपडा आदि लिएर बाहिरबाट धेरै मानिस आउँछन्। आर्थिक सहयोग गर्छन्। शारीरिक, मानसिक रुपमा कमजोर आमाबुबाहरुसँग नाँच्छन्, गाउँछन्, रमाउँछन्। भरोसा दिन्छन्।

यसरी आश्रममा उत्सव मनाइँदा रामजी अधिकारीहरु त्यही वनभोज सम्झन्छन् जहाँबाट हरेक पर्व अनि उत्सवहरु सडकविहीनका लागि खुशी बोकेर आउन थाल्यो। अनि अभियान्ताहरुको लागि उर्जा बोकेर।

पढ्नुस् : एउटा अद्भुत अभियानका यी तीन पात्र, जसलाई जोडिरह्यो त्यो झरीले...

यस्तै उर्जाको आडले उनीहरुलाई एक महत्वकांक्षी उद्देश्य लिएर उभिन प्रेरित गर्‍यो। उद्देश्य- २०८२ सम्ममा नेपाललाई 'सडक आश्रित मानवमुक्त' बनाउने, त्यो पनि संस्थाले कायम गरेको नियममा बाँधिएर। उनीहरु सुरुवातदेखि प्रतिवद्ध छन् - स्वेच्छिक सहयोग लिने, शर्तसहितको सहयोग नलिने। कुनै दातृ निकायसामु प्रस्ताव लेखेर सहयोग नमाग्ने।

चाहेको पुग्छ भन्छन्। उनीहरुलाई पनि पुगेकै छ। अनि उनीहरु धेरैको आँखामा परेका पनि छन्।

काठमाडौंमा २०७४ देखि सुरु भएको अभियानमा ठीक दुई वर्षपछिदेखि काठमाडौं महानगरपालिकाले आंशिक सहयोग गर्न थाल्यो। मानव सेवा आश्रमसँगको सहकार्यमा ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा पनि बन्यो। महानगरपालिकाको 'इज्जत' जोगाउन आश्रम सहयोगी सावित भयो। अभियानमा प्रहरीले साथ नदिने कुरै भएन। जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि सहयोगी बने।

'उद्धार र संरक्षणका लागि केही सहज बन्यो। काठमाडौंका सामाखुशी र बुढानीलकण्ठ आश्रमको भाडा नगरपालिकाले व्योहोर्न थालेपछि केही राहत भयो,' रामजी अधिकारीले भने, 'अझ महत्वपूर्ण त के भने अन्य नगरपालिकाहरुमा पनि सेवाबारे संदेश प्रवाह भयो। उहाँहरुले पनि सडक आश्रित मानव व्यवस्थापनका लागि चासो देखाउनु भएको छ।‘

सुरुवाती दिनमा सहयोग जुटाउँदै हिँड्दा रामजीहरुलाई अपमान गर्नेहरुले नै सम्मान गर्न थाले। गाली गर्नेहरु स्वयम् सेवामा जुट्न थाले। केही नगरपालिकाले घर भाडाको जिम्मेवारी लिइरहेका छन्। सहयोग वा सेवा गर्न आउने पनि बढ्दै छन्।

त्यसै सिलसिलामा भेटिइन्, एक महिला।

२०७५ साल चैतको अन्तिमतिर हो। सामाखुशी आश्रममा साँझको खाना खाने बेला भएको थियो। खाना पर्खिएर बसेका सबै गोलवद्ध थिए। सेवामा खटिएका सुमन बर्तौला पनि त्यहीँ मिसिएका थिए। एक्कासी एकजना स्वयंसेवक उनी नजिकै आएर सोधे - 'दाइ तपाईंलाई थाहा छ आज आश्रममा को आएको थियो?'

त्यसदिन दिउँसो एक महिला सरासर आश्रममा पसेकी थिइन्। आश्रितहरुलाई भेट्न आएको बताइन् उनले। अनि आश्रमको तलदेखि माथिसम्म कोठा कोठा नियालिन्। चुपचाप आफ्नै सुरमा आश्रमको अवलोकन गरेकी उनको आँखा भने टल्पलाइरहेको थियो। कसैसँग खास केही कुरा गरिनन् उनले। निस्कनुअघि कार्यालयमा छिरिन् अनि भनिन् - 'म पच्चिस हजार सहयोग गर्न चाहन्छु।'

सुरक्षाकर्मीसहित आएकी ती महिला को हुन्? स्वयंसेवकहरुलाई ठम्याउन मुस्किल भइरहेको थियो।

जब रसिदमा नाम लेख्नुपर्‍यो तबमात्र उनले आफ्नो नाम भनिन् - राधिका शाक्य।

उनले यति बोलिसक्दा पनि सबै स्वयंसेवक उनको मुहारमा एकटक हेर्दै थिए। त्यसपछि अन्यौलता चिर्दै उनी आफैं बोलिन्- 'म प्रधानमन्त्रीकी श्रीमती हुँ। आश्रमको बारेमा सुनेको थिएँ। आज भेट्न आएको।'

दिउँसोको घटनाबारे सुनिसकेपछि सुमन चुप बस्न सकेनन्। उनी सोझै कार्यालयतर्फ हान्निए। रसिद बुक पल्टाए। फेला पारे राधिका शाक्यको सहयोग रसिद, जसमा उनको फोन नम्बर थियो। त्यो नम्बर मोबाइलमा सेभ गर्दै सुमनले आफैंसँग भने- 'सायद उहाँले चाहिँ हामीलाई प्रधानमन्त्रीसँग पक्कै भेटाउन सक्नुहुन्छ।'

मानव सेवा आश्रमका सदस्यहरुले प्रधानमन्त्रीलाई भेट्न खोजेको निकै लामो समय भइसकेको थियो। उनीहरु चाहन्थे- अभियानमा सरकारको पनि केही भूमिका रहोस्।

फेरि केही व्यक्तिको इच्छाशक्ति र केहीको व्यक्तिगत सहयोगको भरमा संस्था चलिरहने निश्चित छैन। दीर्घकालीन समाधान नपहिल्याएसम्म यता सडक आश्रितहरुलाई संरक्षण दिइरहने अनि अर्कोतिर सडकमा मानिस आइरहने डर पनि उस्तै।

‘यो प्रक्रिया रोक्न नै देशलाई सडकमानव मुक्त बनाउने अभियान थालेका हौं। जसमा सरकारको सहयोग अति आवश्यक थियो। यही कुरा प्रधानमन्त्रीसमक्ष पुर्‍याउन चाहन्थ्यौं तर सम्भव भइरहेको थिएन,' सुमनले सुनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाउने आश्वासन धेरैले दिलाए तर व्यवहारमा उतारेका थिएनन्।

त्यसैबीच राधिका शाक्य आश्रममा आइन्। उनीहरुका लागि ढुङ्गा खोज्दा देवता मिलेझैं भयो।

उनीमार्फत् पठाएको पहिलो आग्रहमै सुमनहरुलाई बालुवाटारबाट बोलावट भयो। भेटमा प्रधानमन्त्रीले आश्रमका बारेमा सोधे, भइरहेका कामबारे बुझे, भावी योजनाबारे प्रष्ट बनाउन भने। ओलीले ती सबैकुरा कापीमा आफैंले टिपोट पनि गरे।

त्यसपछि सुमनले प्रधानमन्त्रीलाई नै देखाउन ६ महिना अघिदेखि तयार पारेर राखेको भिडियो प्रसारणको अनुमति मागे।

भिडियो हेर्दै गर्दा प्रधानमन्त्रीका आँखा टल्पलाइरहेका थिए। जब भिडियो बन्द भयो तब प्रधानमन्त्री ओलीले एउटै प्रश्न सोधे - 'सडकमा अझै यस्ता मानिस छन्?'

सडक मानवहरुको अवस्थाबारे सुनेपछि ओली चुप बसेनन्। एक दुईपटकको भेट लगत्तै क्याबिनेट बैठकमा निर्णय भयो- मानव सेवाआश्रममा आश्रितहरुको संङ्ख्याका आधारमा मासिक तीन हजार दिइने।

त्यस्तै ओलीले सरकारको तर्फबाट आश्रमको अक्षय कोषमा रहनेगरी एक करोड रुपैयाँ सहयोगसमेत घोषणा गरे।

यसरी केन्द्र, प्रदेश अनि स्थानीय सरकारको साथ र सहयोगकै कारण सम्भव भयो- गोरखा नगरपालिका, हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला, बाग्लुङ कालिका मन्दिर परिसर, भरतपुर महानगपालिका सडक मानवमुक्त घोषणा हुन। त्यस्तै आश्रमकै पहलमा पशुपति क्षेत्र परिसर पनि माग्नेरहित क्षेत्र घोषित भइसकेको छ।

यी त सीमित क्षेत्र भए।

सडकमा काम गर्ने, कमाउने, सडकमै खाने अनि सडकमै बास बस्नेको सङ्ख्या उत्तिकै छ। कमाउँदा कमाउँदै पनि सडकमा सुत्ने, कोठा भाडा बचाउनेको झुण्ड बेग्लै भएको दाबी गर्छन् सुमन बर्तौला। भन्छन्, 'ती मानिस कुनै पनि हालतमा सडकमा नआइ छाड्दैनन्।'

सडक जीवन धेरैका लागि पेशा बनेको छ। कोही विभिन्न जिल्लाबाट सिफारिस ल्याएरै माग्‍न हिँड्छन् अनि काठमाडौंका सत्तलहरुमा जीवनयापन गर्छन्। कोही श्रम वा शरीर बेचेर सडकमै खान्छन्, सडकमै सुत्छन्।

कतिलाई नशाले बिगारेर सडकसम्म घिसारेको छ अनि कतिलाई नियति र वाध्यताले।

त्यस्तै वाध्यताले सडकमा उभ्याएको थियो, लालबन्दीकी दिलमाया मगरलाई। उनका श्रीमान् त उमेरैमा बितिगए। पीडा सहन नसकेर मानसिक अस्थिरता अनि छट्पटाहटको शिकार भइन् त्यसैका कारण। त्यसपछि त आफ्नै छोरा बुहारीले पनि सहेनन्। घरबाट निकालिदिए।

आफ्नो गाउँभन्दा पर कुनै ठाउँ नदेखेकी उनी सडक पच्छ्याउँदै पच्छ्याउँदै काठमाडौं आइन्। उनको पाइतालाको लागि पनि बिरानो थियो यो शहर। आखिरमा उनी पनि यही आश्रममा पुर्‍याइन्।

सडकबाट आश्रमसम्म आइपुगेका दिलमायाहरुको न वर्तमानको टुङ्गो थियो न भविष्यको। समाज उनीहरुसँग तर्सन्थ्यो अनि उनीहरु समाजसँग। यो क्रम अझै पनि जारी छ। त्यसैले त कति दिलमायाहरु घरमा कुकुर बाँध्ने साङ्लोमा बाँधिएर बस्न बाध्य छन् अनि कति कुकुरको भुकाइ र मान्छेको लात सहेर सडकमै गल्न।

चाहे दिलमायाहरु हुन् वा सडकमा आश्रित वाध्यकारी अनि पेशावर माग्ने, आवश्यकलाई संरक्षण र बाँकीलाई व्यवस्थापनका लागि खटेका छन् सेवकहरु। आश्रमले उनीहरुको मनोरोगको उपचार र नियमित औषधि सेवन गराउँछ। केहीलाई परामर्श दिन्छ। पुनर्मिलन सम्भव भए गज्जब! नभए मानव सेवा आश्रम नै उनीहरुको घर अनि परिवार। सक्ने आश्रमकै सेवामा खट्छन्। लुगा धुने भाडा माझ्ने गर्छन्। नसक्नेहरु एकअर्कासँग समय साट्छन्। आँशु अनि हाँसो साट्छन्।

जसका लागि पुल बनेका छन् ती हात अनि साथहरु जो भविष्य थाती राखेर, रीस-घीन-पीडा र अभाव बिर्सिएर हर पहर सेवामा खटिएका छन्। ती हृदयहरु पनि सुनिनुपर्छ, जोसँग अथाह प्रेम छ। ती स्पर्शका कथा पनि भनिनुपर्छ, जोसँग संसार अट्ने अङ्गालो छ। ती कथा अर्को अंकमा। प्रतीक्षा गर्नुहोस्।

सम्बन्धित सामग्री :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell